शेयर बजार घट्यो

73
  •  
  •  
  •  

काठमाडौं । मंंगलबार र बुधबार उच्च अंकले उकालो लागेको शेयर बजार बिहीबार भने ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर कारोबार बन्द भएको छ ।

बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात १७ दशमलव ९९ अंकले घटेर २ सय ६९ दशमलव ०३ अंकमा बन्द भएको छ । आज १ सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद विक्री भएको छ ।

बजार खुलेको ३ मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यस पछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रोपटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरी ५ प्रतिशतले नेप्से घटेपछि दोस्रोपटक पुनः सर्किट ब्रेक लागेको थियो ।

फेरि १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको हो ।

बजारमा कारोबारमा आएका समूह मध्ये म्यूचुअल फण्ड बाहेकका सबै समूहका सूचकहरु घटेका थिए । बैंकिङ समूह ७ दशमलव ४३ प्रतिशतले घटेको छ । जीवन बीमा ७ दशमलव ६७ प्रतिशत घटेको छ । होटल समूहमा भने सबैभन्दा धेरै ८ दशमलव ६९ प्रतिशतले गिरावट आएको छ ।

सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यि दुवै कम्पनीको ६ करोड रुपैयाँ भन्दा धेरैको शेयर कारोबार भएको छ । बजार घटेपनि स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले कमाएका छन् ।

स्वाबलम्बन लघुवित्तका शेयरधनीले आज ८ प्रतिशतले कमाएका छन् । सोल्टी होटल, प्रभु बैंक, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंक लगायतका कम्पनीका शेयरधनीले ९ प्रतिशत माथि गुमाएका छन् ।


  •  
  •  
  •