काठमाडौं २ असार (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न झोले विद्यालय सन्चालन गर्ने विरुद्ध कारवाही सुरु गरेको छ । अनधिकृत रुपमा रकम दिएको आरोपमा सिरहाका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ ।
सिराहाका तत्कालीन जिल्ला शिक्षा अधिकारी दिलीपकुमार ठाकुर र खडानन्द पराजुली, कार्यक्रम अधिकृत शम्भुप्रसाद भट्टराई, स्रोत व्यक्ति मुनेन्द्र यादव, जनभावना प्राथमिक विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार यादव र विद्यालय व्यवस्थापन समितिका सदस्य योगेन्द्र मरिक यादवसमेत ६ जनाविरुद्ध आरोपपत्र दर्ता गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताउनुभयो ।
उनीहरूले आर्थिक वर्ष २०६८÷६९ देखि २०७०÷७१ सम्म पाठ्यपुस्तक, छात्रवृत्ति वितरण, विद्यालय सुधार, मसलन्द, पिसिएफ अनुदान लगायतका शीर्षकमा सरकारी रकम निकासा गरी झुटो विवरण पेस गरी सरकारी रकम निकासा दिनेलिने कार्यमा बदनियत गरेको देखिएको आयोगको आरोपपत्रमा उल्लेख छ । उनीहरुले १५ लाख भन्दा बढी भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।