छोरीसँगै स्कुल पढ्दै आमा

90
  •  
  •  
  •  

उमेरले झन्डै ३० वर्ष पुग्नै लागिन््, बेलच्पुरा कठायत । सानो छँदा भेडाबाख्राको गोठालो र बुझ्ने हुँदा घरको चुलोचौकोमै उमेर बिताएकी बर्दिया नेउलापुर–५ की बेलच्पुराको दैनिकी हिजोआज भने फेरिएको छ । पहिले एकाबिहानै गाई–भंैसीको सोत्तर स्याहार्न गोठमा जाने गरेकी उनी हिजोआज भने बिहानै कापीकलम बोकेर छोरीहरूलाई डोहो¥याउँदै स्कुल पुग्छिन् ।

तिन सन्तानकी आमा बेलच्पुरा अहिले स्थानीय त्रिभुवन उच्च मावि भुरीगाउँमा कक्षा–४ मा भर्ना भएकी छन् । पढ्ने इच्छा भए उमेरले छेक्दैन भन्ने कुरालाई प्रमाणित गर्दै उनी अध्ययन गरिरहेकी छन् । उनका तिन छोरीमध्ये दुई छोरी त्यही विद्यालयमा पढ्छन् । जेठीलाई भने बोर्डिङ स्कुलमा भर्ना गरेकी छन् । तिन वर्षअघि उनी गाउँकै एक प्राथमिक विद्यालयमा जेठी छोरीसँगै कक्षा–१ मा भर्ना भएकी थिइन् । सामान्यतया प्राथमिक तह अध्ययन गर्ने उमेर १० वर्षसम्म हो । तर, उमेर तिन दशक पुग्दा पनि स्कुलमै गएर प्राथमिक तह पूरा गर्ने उनको यो अठोटलाई सबैले स्याबासी दिएका छन् ।

‘तिन वर्षअघि जेठी छोरीसँगै गाउँको स्कुलमा कक्षा–१ मा भर्ना भएकी थिएँ । आमाछोरी सँगै स्कुल जान्थ्यौं,’ स्कुल भर्ना हुँदाको सम्झना गर्दै बेलच्पुराले भनिन्,

‘अहिले जेठी छोरीले बोर्डिङमा पढ्ने इच्छा गरेपछि उतै भर्ना गरिदिएँ । म, माइली र कान्छी छोरी भने सरकारीमा पढ्छांै ।’

उनको माइती कालीकोट हो । सानो छँदा बाआमाले पढाइबाट वञ्चित गरे पनि आफ्नो पढ्ने इच्छा पूरा गर्न यो उमेरमा भए पनि स्कुल जाने गरेको उनले बताइन् । ‘पढ्न पाइएन भनेर पछुतो गरेर बस्नुभन्दा बरु स्कुल गएकै बेस भन्ने लागेर छोरीसँगै पढाइ सुरु गरेकी हँु,’ उनले भनिन् । आमा पनि आफूसँगै स्कुल जाने भएपछि छोरीहरू पनि निकै खुसी छन् । छोरीहरूसँगै उनी पनि स्कुलमा दिइएको गृहकार्य गर्छिन् ।

बेलच्पुरालाई स्कुल पठाउन उनका श्रीमान् रज कठायतले पनि निकै हिम्मत दिएका छन् । सामान्य साक्षर उनका श्रीमान् गाउँघरमा सामान्य ठेकेदारीको काम गर्छन् । आफूले नपढे पनि ज्ञान लिन कुनै उमेरले छेक्दैन भन्ने उपदेश सुनाउने श्रीमान्कै प्रेरणाले आफूलाई यो उमेरमा पनि पढ्ने इच्छा जागेको बेलच्पुराले सुनाइन् । धेरै नसके पनि एसएलसी पास गर्ने उनको अठोट छ । उनले पढेर व्यवसायमा लाग्ने इच्छा सुनाइन् । पढेर केही गर्न नसके पनि व्यापार गर्ने र छोरीहरूलाई राम्रोसँग पढाउने उनको इच्छा छ ।

छोरीसँगै पढ्दाका केही तितो अनुभव पनि उनमा छ । ‘समाजका केहीले यो उमेरमा छोरीसँगै पढेर के नाटक गरेकी हो भन्नेहरू पनि थिए । सुरुसुरुमा त आफूलाई पनि अप्ठ्यारो लाग्यो,’ उनले पढाइ सुरु गर्दाको तितो अनुभव सुनाउँदै भनिन्, ‘धेरैले अनेकथरी सुनाए । तर, मन दह्रो बनाएँ । उहाँ (श्रीमान्)ले पनि साथ दिनुभयो । स्कुल गएरै छाडें । अब त केही अप्ठ्यारो लाग्दैन ।’

यो उमेरमा छोरीसँगै पढ्दा सरहरूसँग केही अप्ठ्यारो लागे पनि सरहरूको सहयोगले झनै सजिलो भएको उनको भनाइ छ । घरधन्दाले केही अप्ठ्यारो भए पनि सकेसम्म नियमित विद्यालय जाने कोसिस गर्ने गरेको उनले सुनाइन् ।

समाजमा सुरुमा के गर्न खोजेकी हो भनेर कुरा काट्नेहरूका लागि उनी अहिले चर्चाकी पात्र भएकी छन् । पढ्ने इच्छा भए उमेरले छेक्दो रहेनछ भन्ने कुरालाई उनले सावित गरिदिएको बेलच्पुरा पढ्ने विद्यालयका प्रधानाध्यापक सालिकराम पन्थीले बताए । उनी नियमित स्कुल आउने गरेको शिक्षकहरू बताउँछन् । राजधानी


  •  
  •  
  •