निजी स्कुलमा चर्को शुल्क वृद्धि

132
  •  
  •  
  •  

काठमाडौं ३० चैत । देशभरका निजी विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि चर्को शुल्क वृद्धि हुँदैछ । निजी विद्यालयमा ११ लाख विद्यार्थी अध्ययनरत छन् ।

सबैभन्दा बढी निजी विद्यालय रहेको काठमाडौंमा जिल्ला शिक्षा कार्यालयले शैक्षिक सत्र २०७२ बाट लागू हुने गरी २२ प्रतिशत बढाउने निर्णय गरेको छ । काठमाडौंसमेत गरी ५ जिल्लाका निजी विद्यालयको औपचारिक रूपमा शुल्क बढाइएको हो । रूपन्देही, कैलाली, नवलपरासी र मोरङमा जिल्ला शिक्षा कार्यालयले यसअघि नै बढाइसकेका छन् ।

निजी विद्यालयहरूको प्रस्तावमा काठमाडौं शिक्षा कार्यालयले आइतबार शुल्क वृद्धिको निर्णय गरेको हो । बाँकी शिक्षा कार्यालयले सोमबार आ-आफ्ना जिल्लाका निजी विद्यालयको शुल्क २२ प्रतिशतको हाराहारीमा बढाउँदै छन् । शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले अधिकांश जिल्लामा चैत मसान्तभित्रै आवश्यकताअनुसार शुल्क निर्धारण भइसक्ने बताए ।

निजी विद्यालयले मनोमानी शुल्क बढाएपछि सर्वोच्च अदालतले तीन वर्षअघि नबढाउन निर्देश गरेको थियो । २०६८ सालपछि औपचारिक रूपमा शुल्क बढाइएको हो ।

निर्णयअनुसार काठमाडौंका ‘क’ श्रेणीका निजी विद्यालयले प्राथमिक तहमा १ हजार ६ सय ५० बाट बढाएर २ हजार १३ रुपैयाँ, निमावि तहमा १ हजार ८ सय ७५ बाट २ हजार २ सय ८७ र माविमा २ हजार ५ सय ५० बाट बढाएर ३ हजार १ सय ११ रुपैयाँ लिन पाउने भएका छन् ।

त्यस्तै ‘ख’ श्रेणीकाले प्राविमा १ हजार ३ सय ७५ बाट १ हजार ६ सय ७५ रुपैयाँ, निमाविमा १ हजार ५ सय ६३ बाट १ हजार ९ सय ७ र माविमा २ हजार १ सय २५ बाट २ हजार ५ सय ९२ रुपैयाँ लिने पाउने भएको छ ।

‘ग’ श्रेणीका निजी विद्यालयले यसअघि प्राथमिक तहमा १ हजार १ सय रुपैयाँ न्यूनतम शुल्क असुल्दै आएकामा यही वैशाखबाट १ हजार ३ सय ४२ रुपैयाँ लिन पाउने बनाइएको छ । त्यसैगरी निमावि तहमा १ हजार २ सय ५० बाट बढेर १ हजार ५ सय २५ रुपैयाँ र माविमा १ हजार ७ सयबाट बढाएर २ हजार ७४ रुपैयाँ पुर्‍याइएको छ । देशभरिमा करिब ८ हजार निजी

विद्यालय छन् ।

शिक्षा ऐन र नियमावलीअनुसार नयाँ शैक्षिक सत्र सुरु हुनु तीन महिनाअघि शुल्क निर्धारण हुनुपर्छ । तर, निजी विद्यालयले मनोमानी ढंगले शुल्क असुल्ने गरेको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । ‘अझै सत्तरी जिल्लामा शुल्क निर्धारण भएको छैन,’ स्वीकृतिबिना शुल्क बढाएको उल्लेख गर्दै उनले भने, ‘अधिकांश विद्यालयले मनोमानी बढाएर अभिभावकलाई अन्योल र शोषण गर्दैछन् ।’

अहिले बढाइएको शुल्क मापदण्डको वैज्ञानिकताबारे केन्द्रीय र क्षेत्रीय अनुगमन समितिले अनुगमन गर्ने निर्देशक नेपालले

जनाए । ‘जुनसुकै जिल्लाले शुल्क बढाएको या पुनः निर्धारण गरेको भए पनि त्यसको अनुगमन हुनेछ,’ उनले भने । कान्तिपुरबाट

    तह         “क” वर्ग    “ख” वर्ग    “ग” वर्ग

प्रा.वि.    पहिले    १६५०    १३७५    ११०० रुपैयाँ

    अहिले    २०१३    १६७५    १३४२ रुपैयाँ

नि.मा.वि.    पहिले    १८७५    १५६३    १२५० रुपैयाँ

    अहिले    २२८७    १९०७    १५२५ रुपैयाँ

मा.वि.    पहिले    २५५०    २१२५    १७०० रुपैयाँ

    अहिले    ३१११    २५९२    २०७४ रुपैयाँ


  •  
  •  
  •