विद्यालय केन्द्रित सरसफाईले आमाछोरी सचेत

340
  •  
  •  
  •  

सिरहा, २७ फागुन(ओएनएस) : सिरहा जिल्लामा विद्यालय केन्द्रित सरसफाई कार्यक्रमले छात्रा मात्र नभई उनका अभिभावक समेत सचेत भएका छन् । महिनावारी भएको बेला छात्रालाई प्याडको व्यवस्था मिलाउन एक जना महिला शिक्षकलाई विद्यालयमा जिम्मेवारी दिइएको छ । छात्रामा चेतना फैलाउन किशोरी प्रशिक्षण, विभिन्न कार्यक्रमहरु विद्यालयमा आयोजना गर्ने गरिन्छ । धनगढीस्थित महावीर उच्च माध्यमिक विद्यालयकी फोकल शिक्षिका संगीता घिसिङ्गले प्याडको व्यवस्था भएपनि छात्रामैत्री शौचालयको अभाव रहेको बताइन् ।

लहान नगरपालिका १६ मा समावेश भएको गोविन्दपुर झिरहरी तथा गोलबजार नगरपालिकामा पर्ने जनता उच्च माध्यमिक विद्यालय चन्द्रलालपुरमा छात्रामैत्री शौचालयको व्यवस्था छ । विद्यालयमा महिनावारी भएको बेला औषधि पसलबाट किनिएको प्याडकै व्यवस्था हुने गर्दछ । तर, सर्वसाधारण ग्रामिण महिलाले भने अझै सुती कपडा नै प्रयोग गर्ने गरेका छन् । धनगढी–६ की हिरामणी देवीले महिनावारीको बेला प्रयोग गरिने कपडाको सफाईबारे राम्ररी थाहा पाएको बताए । उनले भनिन, ‘गाउँघरमा अहिले पनि समस्या छ, यो कुरा सबैले बुझेमा राम्रो हुन्छ ।’

‘आब दिमागमे घुसलै’ अर्थात अब दिमागमा कुरा पसिसकको छ । महिलालाई सरसफाईमा रहनका लागि पुरुषको पनि भूमिका हुन्छ ।’, धनगढी–६ कै देवकुमार महराले भने, ‘सरसफाई सम्बन्धि कार्यक्रम समुदाय केन्द्रित पनि हुनुपर्छ ।’

यस क्षेत्रका विद्यालयहरुले सरसफाई कोषका लागि प्रत्येक महिना प्रति विद्यार्थी एक तथा प्रति शिक्षक पाँच रुपैया शुल्क उठाउने गरेको निम्न माध्यमिक विद्यालय गोविन्दपुर तरेगनाका प्रधानाध्यापक परशुराम दाहालले बताए । माध्यमिक र उच्च माध्यमिक विद्यालयमा समेत यस्तै तरीकाले सरसफाई कोष खडा गरिएको छ । यो कोषमा शिक्षक र विद्यार्थीले स्वेच्छिक रुपमा पैसा दिने गर्दछन् ।

कोषको रकमबाट प्याड किन्ने तथा सरसफाई कामदार तथा यसैसँग सम्बन्धित अन्य क्रियाकलापमा खर्च गर्ने गरिएको छ । प्याड वितरण गर्ने लगायतका अन्य कार्यक्रमले छात्राको विद्यालय अनियमितता कम भएपनि विपन्नमा समस्या यथावत छ । घरेलु कामको व्यस्तता र आर्थिक कमजोर अबस्थाले समान्य सरसफाई समेत गर्न नसकिने अबस्था रहेको वरिष्ठ स्वास्थ्य सहजकर्ता कंचन चौधरीले बताइन् ।

विद्यालयमा सरसफाई सम्बन्धि कार्यक्रम संचालन भएपछि त्यसको प्रत्यक्ष प्रभाव समुदायमा परेको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले ३८ गाउँ विकास समितिको ४८ ठाउँमा विद्यालय सरसफाई कार्यक्रम तथा छात्रामैत्री शौचालयका लागि वकालतको काम गर्दै आएको छ । नेवाले समेत १५ ठाउँमा विद्यालयस्तरीय खानेपानी सरसफाई तथा महिनावारी व्यवस्थापन, वालक्लव तथा किशोरी शिक्षा सम्बन्धि कार्यक्रम गर्दै आएको छ ।

माध्यमिक विद्यालय गोविन्दपुर झिरहरीका शिक्षक ललित कुमार यादवका अनुसार लहान नगरपालिकाले वर्षमा एक दुई पटक नभई समुदायमा महिनापिच्छे कार्यक्रम गर्नुपर्छ । वकालतकै कारण गतबर्ष ३६ मध्ये २६ तथा यसबर्ष १० मध्ये चार विद्यालयमा शिक्षा कार्यालयले छात्रामैत्री शौचालयको व्यवस्था गराएको सरसफाई तथा खानेपानी उपभोक्ता महासंघका सिरहा जिल्ला कार्यक्रम सहायक अरविन्द कुमार चौधरीले दाबी गरे ।

‘पहिला पहिला परिचय दिन नै अप्ठ्यारो मान्नेले महिनावारीको विषयमा कुरा गर्न नमान्ने हुन्थे’, वरिष्ठ स्वास्थ्य सहजकर्ता कंचन चौधरीले भनिन्, ‘छात्रा मात्र नभई आमाहरुको पनि सरसफाई र स्वास्थ्यप्रति चाँसो बढेको छ ।’ सन् २०१७ सम्ममा ५० छात्रामा कम्तिमा एउटा पुर्याउन १२७४ शौचालयको निर्माण गरिनुपर्ने शिक्षा मन्त्रालयको तथ्याङ्कले देखाएको छ । छात्राको शौचालय तथा सरसफाईमा रहेको पहुँचको अवस्था हेर्दा ७५ मध्ये सिरहा जिल्ला ६० औं स्थानमा छ ।


  •  
  •  
  •