आमासँग रिस फेर्न छात्रा ‘निष्कासित’

170
  •  
  •  
  •  

काठमाडौं १० साउन (ओएनएस) : साँगास्थित नेपाल प्रहरी आवासीय उच्चमाध्यमिक विद्यालयका प्रिन्सिपलले अभिभावकसँगको रिसइवीका कारण एक छात्रालाई परीक्षाबाट वञ्चित गराएका छन्।
कक्षा १२ मा अध्ययनरत स्वेच्छा लुइँटेलकी आमा धेनुका सोही स्कुलमा नौ वर्षदेखि पुस्तकालय सहायकको रुपमा कार्यरत छिन्। धेनुका र स्कुल प्रशासनबीच चलेको अदालती लडाइँका कारण स्कुलले स्वेच्छालाई ‘निष्कासन’ गरेको पीडितको आरोप छ। प्रिन्सिपल डा. नवरथ बानियाँले आमाको अदालती लडाइँलाई कारण देखाउँदै साउन ८ गतेदेखि आफूलाई स्कुलबाट निष्कासन गरिएको स्वेच्छाले गुनासो गरिन्।
‘साउन ७ गतेदेखि मेरो कक्षागत परीक्षा चलिरहेको छ तर प्रिन्सिपलले परीक्षाबाट समेत बञ्चित गराउनुभयो,’ स्वेच्छाले रुँदै भनिन्, ‘मलाई प्रिन्सिपलले तिम्रो ममीका कारण एक्सन लिएको भन्दै स्कुल आए कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ। आखिर मेरो के गल्ती छ?’
न्यायका लागि अदालत र मानवअधिकार आयोग धाइरहेकी स्वेच्छाले भनिन्, ‘साथीलाई समेत आमाको बारेमा नराम्रा कुरा सुनाएर प्रिन्सिपलले बेइज्जत गर्नुभएको छ।’ सोही विद्यालयमा कार्यरत आफ्नी आमालाई जबर्जस्ती निष्कासन गर्न लागिएपछि पुनरावदेन अदालतमा निवेदन दिएको उनले बताइन्।
उनले थपिन्, ‘अदालतले अन्तरिम आदेश जारी गरी हाजिर गराउनु भन्ने आदेश कार्यान्वयन नभएपछि अदालतको अपहेलनासम्बन्धी अर्को मुद्दा दर्ता भएको छ। दोस्रो मुद्दा दर्ता भएको थाहा पाएपछि उहाँहरुले रिस फेर्न मलाई निष्कासन गरिदिनुभएको हो।’
उनले आफूलाई विद्यालयका प्राचार्य डा. नवरथ बानियाँ र समादेशक डिएसपी राजुबाबु श्रेष्ठले साउन ७ गते बुधबार कार्यकक्षमा लगेर अनावश्यक तनाव दिँदै परीक्षाबाट वञ्चित गराएको बताइन्। साउन ८ देखि नै उनलाई प्रशासनले स्कुल प्रवेसमा रोक लगाएको उनको आरोप छ।
लुइँटेलले आफ्नो अधिकार खोज्न ममीले अदालतको साहारा लिँदा मेरो अधिकारमाथि विद्यालयले खेलबाड गरेको भन्दै शिक्षा लिन पाउने अधिकारबाट वञ्चित गर्ने सबैलाई कारबाही गर्न प्रधानमन्त्री र गृहमन्त्रीसँग आग्रह गरेकी छन्।
पीडितकी आमा धेनुकाले आफ्नो रिसले छोरीलाई प्रहार गरेको भन्दै पढ्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्न अदालत र मानवअधिकार आयोग पुगेको बताइन्। ०६२ सालमा कारारमा पुस्तकालय सहायक पदमा कार्यरत उनले ०६४ सालमा स्थायी नियुक्ति पाएकी थिइन्।
‘स्कुलले मलाई ९ वर्षदेखि पुस्तकालय सहायकको परिचयपत्र दिई हाजिर गराउँदै आएको छ,’ धेनुकाले भनिन्, ‘०६५ सालदेखि पुस्तकालय सहायककै रुपमा पोसाक पनि दिइएको छ।’ उनले थपिन्, ‘तर ०७० फागुन२८ गतेदेखि स्कुलले मसँग एक्कासि पुस्तकालयको साँचो खोसेर स्कुल प्रवेशमै रोक लगायो। त्यसपछि म न्यायको खोजीमा चैत ७ गते लिखित निवेदन लिएर प्रहरी प्रधान कार्यालय गएको थिएँ। त्यहाँबाट कुनै जवाफ नआएपछि चैत १२ गते पुनरावेदन अदालत पाटन पुगेकी हुँ।’ उनले विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रसिंह भण्डारीलाई समस्याबारे जानकारी गराउँदा उनले डिएसपि राजुबाबु श्रेष्ठलाई नै देखाएको सुनाइन्।
अदालतले साविककै पदमा हाजिर तथा काम गराउनु भन्ने आदेश दिएपछि स्कुलले उनलाई हाजिर गर्न दिएको थियो। तर, ०७१ असार ८ गतेदेखि पुनः विद्यालय प्रशासनले प्रवेश रोक लगाउँदै हाजिर गर्न नदिएको उनको आरोप छ।
अदालतमा विद्यालय र उनीबीच मुद्दा चलिरहेको रिसमा विद्यालयले छोरीमाथि ज्यादति गर्नु नाजायज भएको उनले सुनाइन्। उनले न्यायका लागि प्रहरी महानिरीक्षकसमक्ष जाँदा पनि कुनै सुनुवाई नभएको गुनासो गरिन्। असुरक्षाको महसुुस गरी कक्षा ९ मा छात्राबासमा पढ्ने छोरालाई स्कुलबाट आफैंले निकालेको उनले बताइन्।
विद्यालयका समादेशक राजुबाबु श्रेष्ठले विद्यालयकी कर्मचारी धेनुकाले आफ्नो जिम्मेवारीविपरीत स्कुल र स्कुलका पदाधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेर अनुशासनहीन कार्य गरेको प्रतिक्रिया दिए। उनले स्वेच्छा स्कुलको असल र जेहेनदार छात्रा रहेको स्वीकारे। तर, उनी अभिभावको लहैलहैमा लागेर स्कुलविरुद्ध उत्रिएको श्रेष्ठको आरोप छ। स्वेच्छाले कक्षा ११ मा सबै विधामा उत्कृष्ट भएबापत विशाल स्मृति प्रतिभा पुरस्कार पाएकी थिइन्।
श्रेष्ठले स्वेच्छालाई स्कुलले निष्कासन नगरेको दाबी गरे। उनका अनुसार स्वेच्छा आफैं स्कुल नआएकी हुन्। स्वेच्छा स्कुल आउन चाहे कुनै रोकटोक नगर्ने उनले बताए। डिएसपी श्रेष्ठले धेनुकाले विद्यालयमा दर्जाअनुसार काम नगरेको र नियमित नआएकाले उनीसँग विद्यालय प्रशासनले पुस्तकालयको साँचो मागेको स्पष्ट पारे।
– See more at: http://www.nagariknews.com/main-story/story/21853.html#sthash.QjSmvG8F.dpuf
नागरिकबाट


  •  
  •  
  •