दाहाखानी र कविलासमा खानेपानी हाहाकार, सरुवा रोग फैलने त्रास

158
  •  
  •  
  •  

चितवन, १९ साउन(ओएनएस) : अविरल वर्षातसँगै आएको बाढीले बगाएको इन्ट्याक र पाईप हप्ता दिन बित्दा पनि मर्मत हुन नसक्दा दाहाखानी र कविलासमा खानेपानीको हाहाकार भएको छ ।

शक्तिखोर, काउले र चण्डिभञ्ज्याङको सिमानामा पर्ने गोगनपानी घट्टटेखोला मुहानमा बनाईएको इन्ट्याक र पाईप बाढीले बगाएपछि खानेपानीको हाहाकार भएको हो ।

तत्काल मर्मतका लागि मुहानमा जोखिम भएको र आयोजानको कोषमा पर्याप्त रकम नभएकाले मर्मत कार्य ढिलाई भएको दाहाखानी कविलास खानेपानी आयोजनाका अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । उनका अनुसार मर्मत सम्भारका लागि चाहिने आवश्यक बजेट लागि भरतपुर खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई प्रस्तावना सहितको डेलिगेसन गईसकेको छ ।

यस खानेपानी आयोजना अन्तरगत दाहाखानी गाविसका वडा १,२,४ र ५ तथा कविलास गाविसका ७ र ९ वडा गरि ६ सय परिवारले उक्त खानेपानी उपभोग गर्दै आएका थिए ।

अहिले कविलास र दाहाखानीका बासिन्दाहरू वर्षातसँगै तालपोखरी खोल्सामा उब्जिएको पानी उपभोग गर्न बाध्य भएका छन् । यसरी तालपोखरी र खोल्साको पानी उपभोग गर्नु पर्दा झाडापखाला आउँ हैजा जस्ता सरूवा रोगको माहामारी फैलिने डरले स्थानीयहरू चिन्तित भएको लेक खोरिया कबुलियती वन समूह “क” का अध्यक्ष धन बहादुर गुरुङले बताए ।


  •  
  •  
  •