बलिउडका विवादित तस्बिर

142
  •  
  •  
  •  

चर्चामा छाइरहन पब्लिसिटी स्टन्टले प्रमुख भूमिका खेल्ने भए पनि कतिपय अवस्थामा भने विवादमा समेत पारिदिन्छ । जसले गर्दा बन्दै गरेको मात्र नभई बनिसकेको करिअर पनि धर्मराउन पुग्छ । बलिउडका अधिकांश फिल्म स्टार चर्चामा आउन जस्तोसुकै हर्कत गर्नसमेत पछि पर्दैनन् । अधिक चर्चाको मोहले गर्दा विवादित भई करिअर नै सखाप भएकाहरू पनि बग्रेल्ती छन् । बलिउडको इतिहासमै सर्वाधिक विवादित सेलेब्रिटीका तस्बिर यस्ता छन् :

पूजा भट्ट र महेश भट्टको कभर फोटो
बलिउडकी पुरानी नायिका तथा निर्देशक पूजा भट्ट सधैँ विवादित बनिरहिन् । हलिउडकी अभिनेत्री डेमी मुरले आफ्नो बडीमा न्युड पेन्ट गरेको देखासिकी गर्दै पूजाले पनि एउटा म्यागजिनका लागि मुरको झैं पोज दिइन् । मुर र पूजामा मात्र यति फरक थियो कि, पूजा गर्भवती थिइन् । पूजाले यसलाई निकै सामान्य फोटो मानेकी थिइन् । तर, निकै विवादमा पर्‍यो ।

पूजाले आफ्ना बाबु निर्देशक महेश भट्टसँग खिचाएको चुम्बन फोटो पनि निकै विवादमा पर्‍यो । बाबुछोरीले गलत शैलीमा फोटो खिचाएकोमा र म्यागजिनको कभरमा छापिएकाले भारतीय समाजले उनीहरूको निकै आलोचना गर्‍यो । फोटोमा बाबुछोरी प्रेमीप्रेमिकाजस्तो चुम्बनरत देखिन्छन् । जताततै तीव्र आलोचना भएपछि महेश र पूजाले सो फोटो नक्कली भएको दाबी गर्नुपर्‍यो । तर, वास्तविकता के थियो, त्यो भने उनीहरूले बताउन सकेनन् । त्यसपछि पूजाको करिअरमा त निकै असर पर्‍यो नै बाबु महेशलाई पनि केही वर्ष गाह्रो भयो ।

मिलिन्द सोमन र मधु सप्रेको एड
अभिनेता तथा मोडल मिलिन्द सोमन र मधु सप्रेले गरेको टफ सुजको विज्ञापन पनि निकै विवादमा परेको थियो । सो विज्ञापनमा उनीहरू निर्वस्त्र देखिन्छन् । त्यतिवेला भारतमा पनि यस्तो गतिछाडा विज्ञापन बन्न थाल्यो भनेर निकै हल्लिखल्ली मच्चिएको थियो । सन् १९९५ मा बनेको सो विज्ञापनमा खेल्नेताका मिलिन्द र मधुको सम्बन्ध पनि आत्मिय थियो । जब, उनीहरूको हर्कतको विरोध हुन थाल्यो, शिव सेना नेपालले कडा आलोचना गर्‍यो । त्यसपछि भने उनीहरूबीचको सम्बन्धमा पनि दरार उत्पन्न भयो । त्यो एड पनि प्रतिबन्धित भयो । पछि, उनीहरूले गल्ती महसुस गरे ।

भित्री वस्त्रविहीन समिता
चर्चित हिरोइन सिल्पा सेट्टीकी बहिनी समिता बलिउडमा जम्न त सकिनन्, तर चर्चामा भने सधैँ आउने गरेकी छिन् । आफ्नो नाम चलाइराख्न अनेक उपाय जानेकी छिन् उनले । केही समयअघि एउटा कार्यक्रममा उनी लाजले पानीपानी हुनुपरेको थियो । समिता कार्यक्रममा कम्मरमुनिको भित्री वस्त्र नलगाएरै पुगेकी थिइन् । मिडियाकर्मीले समिताको उक्त फोटो खिच्न भ्याइहाले । त्यसपछि त के चाहियो ? जताततै समिताकै दुर्नाम ।

ममता कुलकर्णी र स्टारडस्टको कभर
सन् ९० को दशककी चर्चित नायिका ममता कुलकर्णीले नामभन्दा बढी दुर्नाम कमाएकी छिन् । त्यसको कारण हो, १९९३ मा स्टारडस्टको कभरमा छापिएको उनको नग्न फोटो । विनासंकोच नग्न फोटोसेसन गरी म्यागजिनमा छपाएकी ममता निकै आलोचित भइन् । स्टारडस्टको सो अंक निकै बिक्यो, तर ममताको करिअर भने ओरोलो लाग्दै गयो । जसले गर्दा उनले कानुनी झन्झटसमेत सामना गर्नुपर्‍यो । ममताको सो कभरलाई बलिउडमा अहिलेसम्मै सन्सनी फोटोका रूपमा हेरिने गरिएको छ ।

टपलेस ऐश्वर्या
पूर्वविश्व सुन्दरी तथा बिग बी अमिताभ बच्चनकी बुहारी ऐश्वर्या राय पनि विवादमुक्त छैनन् । बिहेअघि ऐश्वर्याले चोखर बाली फिल्ममा टपलेस सिन दिएकी थिइन् । सोही सिनका कारण उनी आलोचित भएकी थिइन् । यद्यपि उक्त फिल्ममा ऐश्वर्याले निकै राम्रो अभिनय गरेकाले टपलेस दृश्यप्रति धेरै हल्लाखल्ला मच्चिएन । यसले वेस्ट बंगाली फिचर फिल्मको राष्ट्रिय अवार्ड जितेको थियो ।

नीतु चन्द्राको लेस्बियन पोज
अभिनेत्री नीतु चन्द्राले पनि चर्चा कमाउन लेस्बियन हर्कत अपनाइन् । उनले एउटा म्यागजिनका लागि मोडल कृषिका गुप्तासँग लेस्बियनझैं पोजमा फोटोसेसन गराइन् । भारतका लागि निकै हंगामेबाज कुरा भएकाले राज ठाकरेको महाराष्ट्र नवनिर्माण पार्टीले उनीहरूको निकै विरोध गरेको थियो ।

काजल र एफएचएम कभर
अजय देवगणसँग सिंघम फिल्ममा अभिनय गरेपछि चर्चामा छाएकी साउथ इन्डियन स्टार काजल अग्रवालले एफएचएम म्यागजिन कभर विवादमा पर्‍यो । सो कभरमा उनी सेमी–न्युड पोजमा छिन् । सर्वत्र गाली आउन थालेपछि काजोलले सो फोटो नक्कली भएको भन्दै एफएचएमविरुद्ध मुद्दासमेत दायर गरेकी थिइन् । कारबाही भएको भने खबर आएन ।

बिना मलिक र न्युड पोज
बलिउडमा एफएचएम म्याजिन चर्चित छ । सो म्यागजिनको कभरमा छाउन सेलेब्रिटीहरू लालयित हुने गर्छन् । एफएचएमको एउटा अंकमा पाकिस्तानी स्टार बिना मलिकको नग्न फोटो छापियो । निकै विवादित भएको सो कभर फोटोमा बिनाले आफ्नो हातमा आइएसआईको ट्याटु खोपाएकी थिइन् । जसले गर्दा उनी पाकिस्तान र भारत, दुवै देशमा चर्चाको कारक बनेकी थिइन् ।
नयाँपत्रिकाबाट– एजेन्सी


  •  
  •  
  •