‘ईश्वर, हाम्री छोरी बचाइदेऊ!’

102
  •  
  •  
  •  

काठमाडौं १५ फागुन ।
कान्ति बाल अस्पतालको ‘पिआइसियु’ (पेडिनेटनल आइसियु) बाट जबजब सेतो कोट लगाएका डाक्टर र नर्स निस्कन्छन्, बाराका एक दम्पतीका आँखामा त्रास र आस दौडिन थाल्छ।
भेन्टिलेटरमा कृत्रिम श्वासप्रश्वासले बाँचिरहेकी ६ वर्षीया छोरीको स्वास्थ्य स्थिति सुन्न कान ठाडा हुन्छन् उनीहरूका। जब कुनै पनि उपचारले छोरीलाई नछोएको खबर पाउँछन्, उनीहरूको धैर्यको बाँध टुट्छ।

बारा, कलैयामा गत शुक्रबार साँझ बेपत्ता पारिएकी ती बालिका शनिबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्। वीरगन्जस्थित नारायणी अस्पतालले उतिखेरै बलात्कार भएको पुष्टि गरेको थियो। आइतबार अचेत अवस्थामै उनलाई हेलिकप्टरमा कान्ति बाल अस्पताल ल्याइयो। त्यसयता ती बालिकाको स्वास्थ्यमा एकरत्ति प्रगति भएको छैन, उल्टो खस्कँदै गएको छ।
उपचारमा संलग्न वरिष्ठ बालरोग विशेषज्ञ डा.चन्देश्वर महासेठका अनुसार बालिकाको स्वास्थ्यमा सुधारको सम्भावना कम छ। ‘चमत्कारै भयो भने पनि होसमा फर्किने अवस्था रहन्न,’ उनले बिहीबार नागरिकसँग भने।

students protest protest acid attacks on to school girls  01
भेन्टिलेटरको सहायतामा सास र मुटु चले पनि मस्तिष्कले प्रतिक्रिया दिन छाडेको उनले बताए। ‘सबै भर भेन्टिलेटरको छ, भेन्टिलेटर बन्द गरे सास र मुटु एकसाथ चल्न छाड्छ,’ महासेठले भने, ‘हामीले उनका सबै अंगको रेस्पोन्स बढाउन सम्भव भएसम्मका विकल्प प्रयोग गरिसक्यौं।’
बालिकाका बाबुले पनि स्थिति नाजुक रहेको स्विकारिसकेका छन्। जतिजति दिन घर्किंदैछ, उनको त्रास उति बढ्दैछ, आशाको दियो उति धिपधिप हुँदै गएको छ। 
‘आज डाक्टरसा’बले उपचारखर्च कहाँबाट ल्याएका छौ भनेर सोध्नुभयो,’ साथीभाइ र आफन्तसँग सहयोग जुटाएर खर्च गरिरहेका उनले भने, ‘मैले छोरीको जीवनका लागि जहाँबाट भए पनि ल्याउँछु भनेँ।’
आमाबाबुले दिनको एकचोटि छोरीलाई हेर्ने अनुमति पाएका छन्। आमा प्रायः छिर्दिनन्, छिर्नै सक्दिनन्। बाबु जान्छन्। एकटकले छोरीको मुहार हेरिरहन्छन्। पखेटा चुँडिएको पन्छीजस्तो अस्पताल शऒ्ढयामा निस्तेज लडिरहेकी छोरीको मुहार हेर्दा बाबुसामुन्ने तिनटा दृश्य फन्फन्ती नाच्छ– सानी छोरीको छुनुमुनु, हाँसो र अबोध बालापान।
उनी छटपटाउँछन्। छोरीमाथि भएको यो बर्बर अपराधले उनका दाँत किटकिटाउँछन्। अनि एकछिन कोठाभित्र नबसी फुत्त बाहिर निस्किहाल्छन्। 
‘बाहिरको कोलाहल पनि शून्य लाग्छ, सधैं छुकछुक गर्ने छोरी जो साथमा छैनन्!’ उनले भने, ‘मेरी छोरीको ज्यान अब ईश्वरको हातमा छ, उसलाई यो स्थितिमा पुर्या उनेलाई ईश्वरले कहिल्यै माफ गर्नेछैनन्, त्यसले कडाभन्दा कडा सजाय पाउनुपर्छ।’

students protest protest acid attacks on to school girls  03
शुक्रबारको त्यो साँझ उनी सडकपेटीमै रहेको आफ्नो शृंगार सामग्री पसलमै थिए। नजिकै ६ वर्षीया कान्छी छोरी, १० वर्षकी जेठी छोरी र सानो छोरा बजारका अरू केटाकेटीसँग खेल्दै थिए।
स्कुलबाट फर्किनेबित्तिकै यसैगरी सडकपेटीमै उफ्रिनु उनीहरूको दिनहुँको काम थियो। साँझ ५ बजेसम्म बाबु पनि पसलवरिपरि नै थिए, कान्छी छोरीसँगै।
६ बजेतिर अचानक छोरी अलप भइन्।
बाबुको मुटु भित्रैसम्म चिसो भयो। उनले वरिपरि बजारमा धुइँपत्ताल खोजे। फेला परिनन्। हजुरआमासँगै गएकी होलिन् भन्दै उनी आफ्नो त्रस्त मन थुम्थुम्याएर घर फर्किए।
छोरी घरमा पनि थिइनन्। 
त्यसपछि त उनलाई पृथ्वी नै भास्सिएझैं भयो। भौंतारिँदै कलैयाबजार पुगे। आफन्त र छरछिमेकको साथमा छोरीको खोजीमा जुटे।
छोरी कतै फेला परिनन्।
केही समययता बारा जिल्लाभर बालिका हराएका घटना प्रशस्त भइरहेका छन्। प्रहरी तथ्यांकअनुसार बारामा साढे दुई वर्षयता २५ यौनहिंसाका घटना भए। त्यसमा १२ वटा त बालयौनहिंसाकै छन्। कलैयामै एक वर्षयता पाँच बालिका बलात्कृत भएको प्रहरी तथ्यांक छ।
शान्ति सुरक्षामा जिल्लाको यस्तो दुरवस्थाबीच ६ वर्षीया बालिका हराउँदा कुन आमाबाबुको मन नकाँपोस्!
उनीहरू दौडँदै जिल्ला प्रहरी कार्यालय पुगे। प्रहरीले ‘भोलि बिहान फोटो लिएर आउनू’ भनेर फर्कायो।
बाबु छरछिमेक र आफन्तसाथ राति १२ बजेसम्म गल्लीगल्ली दौडिरहे, छोरीको खोजीमा। हरेस खाएर घर फर्कंदा पत्नीको बेहाल थियो। उनलाई आफैं पनि कसरी चित्त बुझाऊँ भइरहेका बेला पत्नीलाई सम्हाल्न ‘महाभारत’ भयो। 
जसोतसो रात कट्यो। बिहानै छोरीको फोटो लिएर प्रहरी कार्यालय पुगे। प्रहरीले फोटो देख्नेबित्तिकै ‘त्यस्तै हुलियाकी बच्ची भेटेर नारायणी अस्पताल पुर्याोएको’ जानकारी दियो।
उनीहरू हाँपदाँप गर्दै अस्पताल पुगे।
छोरी नै हो रहेछ।
गाउँलेले दिएको खबरका आधारमा शनिबार बिहानै कलैया–८ मदरसाटोलको चन्द्र उमावि पछाडि फोहरको थुप्रोमा अचेत अवस्थामा बालिका फेला परेकी रहिछन्। 
‘हामीले रातभरि कलैयाबजारको पूर्वतिर खोज्यौं, पापीले पश्चिमतिर लगेको रहेछ,’ बाबुले भने, ‘हामीले खबर गर्न जानेबित्तिकै प्रहरी सतर्क भएर खोजीमा जुटेको भए आज यो स्थिति हुने थिएन कि!’
नारायणी उपक्षेत्रीय अस्पताल पुग्दा छोरीको कम्मरमुनिको भाग रगतमा लत्पतिएको थियो। उनी गुलेलीको निसाना बनेको पन्छीजस्तो चल्मलाइरहेकी थिइन्। आँखाचाहिँ खुलै थियो। 
‘अस्पतालले त्यत्तिकै राखेको रहेछ, दुई घन्टा त्यसै नष्ट भयो,’ बाबुले टिल्पिलाएका आँखा पुछ्दै भने, ‘मैले छोरी भनेर बोलाएँ, उसले आँखा तन्काएर हेरी। त्यतिबेलासम्म छटपटी बाँकी थियो।’

चिकित्सकहरूबाटै उनले थाहा पाए, छोरीमाथि कसैले बलात्कार गरेछ। ‘उसलाई धेरै गाह्रो भइरहेको छ, यहाँ सकिन्न, मेडिकल कलेज पुर्यालऊ,’ चिकित्सकको भनाइ उद्धृत गर्दै बाबुले भने।
यति सुन्नेबित्तिकै उनले शनिबारै वीरगन्जको युनिभर्सल मेडिकल कलेज पुर्‍याए। एक रात त्यहीँ राखियो। आइतबार मध्याह्न १२ बजे चिकित्सकले बोलाएर भने, ‘यहाँ पनि उपचार सम्भव छैन, भेन्टिलेटरमा तुरुन्त काठमाडौं लैजाऊ।’ 
उनले कलैया क्षेत्रकै प्रहरी गुहारे। ‘केही गर्न सकिन्न’ भन्ने जवाफ आयो। बल्लतल्ल वीरगन्ज प्रशासनले नै हेलिकप्टरको बन्दोबस्त गरिदियो।

दिउँसो ३ बजे काठमाडौं ल्याइपुर्याकए। बेहोस अवस्थामै काठमाडौं ल्याइएकी बालिका अझै अचेत छिन्।
बारा प्रहरीले बालिकाको बलात्कार तथा हत्या प्रयास आरोपमा सोमबारै २८ वर्षे कह्नैया गुप्तालाई पक्राउ गरिसकेको छ। कलैया नगरपालिका–४ स्थित घरबाटै समातिएका गुप्ताले अपराध कबुलिसकेको प्रहरीले जनाएको छ।
बाबुका अनुसार पक्राउ परेका गुप्ताले त्यसअघि उनकी ठूली छोरीलाई पनि प्रलोभनमा पार्ने कोसिस गरिसकेको थियो। ‘तेरो बुबाले घरमा अंगुर, केरा राखेको छ, लिन जाउँ्क भन्दै छोरीलाई फकाउँदोरहेछ,’ उनले भक्कानिँदै भने, ‘ठूली छोरीले मेरो बुबा त पसल बन्द गर्दै हुनुहुन्छ, जान्नँ भनेपछि सानीलाई फसाएछ।’
‘अब मेरी छोरीको ज्यान ईश्वरकै हातमा छ,’ बाबु घरीघरी यही कुरा दोहोर्याएउँछन्।
र, भन्छन्, ‘उसलाई यो स्थितिमा पुर्याघउनेलाई कडाभन्दा कडा सजाय दिनुपर्छ, ता कि कसैले पनि छोरीबेटीमाथि नराम्रो नजर लगाउन नसकोस्।’
नागरिकबाट


  •  
  •  
  •