काठमाडौं २६ कात्तिक (ओएनएस) : जुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद ललितजङ शाहीलाई हिजोआज त्यति हतारो हुन्न । आरामले बिहान उठ्छन अनि फुर्सदमा घरबाट बाहिरिन्छन् । ‘संसद स्थगित भइसकेको संविधानसभा बस्न नसकेका र अरु समितिमा पनि जानै पर्ने वाध्यता छैन आजकाल मलाई फुर्सद नै फुर्सद छ’ सभासद शाहीले आरामले टेलिफोनमा वेलि विस्तार लगाए । संसद स्थगित र संविधानसभाको बैठक बस्ने टुङ्गो नलागेपछि सभासदहरु काम विहीन बनेका छन् । संसदीय समितिका रहेका सभासदहरुका लागि हप्तामा दुईपटक बैठक जुरेपनि अरु बेला फुर्सदीला हुन्छन् ।
दलहरुको अन्यौताले संसद बैठक स्थगित भएको भोलि पल्टै काम माग्दै केही सभासद संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा पुगेका थिए । संबिधानसभाको संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रक्रिया अघि बढ्न नसक्दा अधिकांश समितिका बैठकहरु बस्न सकेका छैनन् भने संबिधानसभाको बैठक पनि अनिश्चित कालको लागि स्थगित छ । मुल गाँठो संवाद समितिमा परेपछि शीर्ष दलका नेता तथा केही सभासदहरु धौडधुपमा छन ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेका सभासद शेरबहादुर तामाङ भन्छन् ‘संवाद समितिमा सहमति हुन नसक्दा म रहेको मस्यौदा समितिले काम अघि बढाउन पाएको छैन ।’ उनले थपे ‘ ब्यवस्थापीका संसदको बैठक पनि सोमबार सकियो, अहिले भेटघाटमै ब्यस्त हुने गरेको छु ।’ कार्यतालिका अनुसार तामाङको समितिले मस्यौदा तयार पर्दै सुझावको लागि जनता समक्ष पठाइसक्नु पथ्र्याे । तर काँग्रेस–एमालेले संवाद समितिमा गरेको साझा प्रस्तावले उनको समितिले कुनै काम पाएको छैन ।
क्षमता अभिबृद्धि तथा स्रोत व्यवस्थापन समितिका सदस्य जुम्लाका सभासद शाही पनि संवाद समितिको पर्खाइमा छन् । उनले भने ‘हामीले पाएका जिम्मेवारी पुरा गरिसकेका छौ तर संवाद समितिबाट प्रक्रिया अघि नबढेसम्म अन्य समितिको काम छैन ।म पनि काम विहीन भएको छु ’ काठमाडौंमा एकीकृत माओवादीबाट सभासद बनेकी रुपा महर्जन पनि संविधान लेखनमा प्रत्यक्ष सहभागि छैनन् । फुर्सदको समय धेरै भएकाले कार्यकर्ता आफन्तमा भेटघाटमा समय वित्ने गरेको उनले सुनाइन । संविधानसभा अध्यक्षले गाउँ नजान निर्देशन दिएपनि कामै नभएपछि केही सभासद गाउँ गइसकेका छन् ।
दलहरुको छलफल प्रक्रिया अनिर्णित हुँदा सभासद काम विहीन भएको संविधानसभा अध्यक्षले पनि स्वीकार गरे । ‘सम्वाद समितिमा प्रक्रिया अड्कीदा सभासदहरु फुर्सदीला बनेका छन्. नेम्वाङले भने, ‘म कहाँ काम माग्न आइरहेका छन् मैले तपार्यहरका शीर्ष नेतालाई भन्नु पर्या भनेको छु । ’
एक वर्ष भित्र संबिधान जारी गर्ने बाचा सहित निर्वाचित भएका सभासदहरुले जनतालाईं संबिधान लेखन प्रक्रियाको बारेमा स्पष्ट जवाफ दिन सकेका छैनन् । संविधान जारी गर्ने अन्तिम मिति नजिकिदै गरेपनि धेरै प्रक्रिया पुरा गर्न बाँकी छ । संविधानसभा अन्तरगतको संविधान मस्यौदा समितिले संवाद समितिको सहमतिको प्रतिवेदन पर्खिरहेको छ भने नागरिक सम्बन्ध समिति संविधानको पहिलो मस्यौदा कहिले आउला र नागरिककोमा लैजाउला भन्ने प्रतिक्षामा छ ।
संविधानसभाको पछिल्लो बैठक कात्तिक ४ गते बसेको थियो । त्यस यता संवाद समितिमा काँग्रेस एमालले ल्याएको साझा प्रस्तावमा एकीकृत माओवादीसहितका विपक्षी दलले बिरोध गर्दा संबिधान लेखन प्रक्रिया ठप्प प्राय छ । संबिधान लेखन प्रक्रिया अघि बढ्नुको सट्टो दलहरुबिच विवाद बढ्दै जादा झन् जटिलता तिर धकेलिएको छ ।