‘संविधान कहिले आउँछ, सभासदज्यू?’

293
  •  
  •  
  •  

काठमाडौं १६ पुस ।
संविधान कहिले आउँछ, सभासदज्यू? जनता (पसले) ले माघ ८ मा आएन भने त तपाईंहरूलाई दूध पनि दिन्नौं भन्न थालिसके,’ कांग्रेस सभासद अर्जुनप्रसाद जोशीले सोमबार संविधानसभा बैठकमा जनदबाबबाट आफूहरू हैरान हुन थालेको सुनाए।
‘चिया खान जाँदा चियापसलमा, हिँड्दा बाटोमा जहाँतहीँ संविधान कहिले आउँछ भनेर सोध्छन्,’ जोशीले जनस्तरबाट संविधानका लागि बढिरहेको दबाब संविधानसभामा राख्दै भने, ‘अस्ति पोखराबाट आउँदा पेट्रोल भर्न रोकिएको ठाउँमा समेत यही प्रश्न सोधेर हैरान पारे।’

जोशी मात्र होइन, माघ ८ नजिकिँदै गर्दा प्रायः सबै सभासद जनताका यस्तै प्रश्नबाट हैरान छन्। सभासदलाई देख्यो कि जोसुकैले सोधिहाल्छन्, ‘माघ ८ मा संविधान आउँछ? आउँदैन भने कहिले आउँछ सभासदज्यू?’ सर्वसाधारणदेखि विभिन्न पेसा, व्यवसायका मानिसले यस्तै प्रश्न गरेर सभासदलाई संविधान निर्माणमा दबाब दिइरहेका छन्।

यति मात्र कहाँ, उनीहरूका मोबाइलमा समेत दिनहुँ संविधानकै मिति सोधेर एसएमएस आउन थालेका छन्। एनजिओ, आइएनजिओका अभियन्तादेखि पार्टी कार्यकर्तासम्मले अभियानकै रूपमा दिनहुँ एसएमएस गरेर सभासदलाई झक्झकाइरहेका छन्।
एमाले सभासद रवीन्द्र अधिकारीले सभासदहरू जनताको घेराबन्दीमा पर्न मात्र बाँकी रहेको बताए।

‘जनताले आफ्ना प्रतिनिधिलाई घेरै हालिसकेका त छैनन्, तर विभिन्न स्वरुपका दबाब बढाइरहेका छन्,’ सबैको चासो संविधान आउँछ कि आउँदैन भन्नेमै रहेको सुनाउँदै अधिकारीले नागरिकसँग भने, ‘हामीले नै एक वर्षमा संविधान दिने प्रतिबद्धता व्यक्त गरेकाले जनदबाब स्वाभाविक नै हो।’

उनका अनुभवमा दलहरू आफैंले गरेको प्रतिबद्धता र अहिलेको जनचासो हेर्दा माघ ८ मा संविधान जारी गर्नुको विकल्प छैन। ‘हामीसँग माघ ८ मा संविधान जारी गर्ने गरी नै अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘जनतालाई हामीले त्यही बाचा गरेका हौं।’
कांग्रेस सभासद रामहरि खतिवडालाई संविधानको मिति सोध्दै दिनहुँ १५ वटाभन्दा बढी एसएमएस आउँछ। आफूले त्यसको जवाफ तत्कालै दिने गरेको उनले सुनाए।

‘सभासदज्यू, संविधान कहिले आउँछ? काम कति भयो? जस्ता दैनिक १५ वटा जति सन्देश आइरहेका हुन्छन्,’ खतिवडाले भने, ‘सबै म्यासेजको मैले तत्कालै जवाफ दिने गरेको छु।’
कांग्रेस सभासद अम्बिका बस्नेत भने जनताले हरेक दिन सोध्ने प्रश्नको जवाफ दिनै गाह्रो परेको बताउँछिन्। ‘सभासदज्यू, तपाईंहरू के गर्दै हुनुहुन्छ? संविधान निर्माणको काम कहाँ पुग्यो? भनेर प्रत्येक दिन एसएमएस आउँछन्। हामीले के भनेर जवाफ दिने?’ बस्नेतले हैरानी व्यक्त गरिन्।
संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनले संविधानसभालाई बन्धक बनाएको उनको आरोप छ।

एमाले भ्रातृसंगठन अनेरास्ववियुले पनि सभासदमाथि एसएमएस दबाब अभियान चलाएको थियो। मंसिर अन्त्यतिर तीन दिन बिहान, दिउँसो र बेलुका अनेरास्ववियुले ‘संविधान निर्माणका लागि के–कति काम गर्नुभयो? तपार्इंहरूको प्रतिबद्धताबमोजिम माघ ८ गते संविधान आउँछ कि आउँदैन? तपाईंहरूको भूमिका शीर्षनेताहरूले गरेको सहमतिमा ताली बजाउने, संविधानसभाको बैठकमा उपस्थित हुने र हस्ताक्षर गर्नेबाहेक अरू छ कि छैन?’ जस्ता एसएमएस पठाएर दबाब दिइएको अनेरास्ववियु अध्यक्ष किशोरविक्रम मल्लले जानकारी दिए।

उनका अनुसार संविधानसभामा प्रतिनिधित्व गर्ने सबै सभासदलाई आफ्नो भूमिका र दायित्वबोध गराएर समयमा संविधान निर्माणका लागि दबाब दिन अभियान अघि बढाइएको हो। केही सभासदले जवाफसमेत फर्काउने गरेको मल्लले जानकारी दिए।

‘हामी हाम्रो भूमिका र प्रतिबद्धताअनुसार अघि बढेका छौं,’ सभासदले फर्काएको जवाफबारे मल्लले भने, ‘कतिपय सभासदले विभिन्न मिडियामार्फत हामीले सोधेको प्रश्नको जवाफ दिनुभएको छ।’नागरिकबाट


  •  
  •  
  •