काठमाडौं, ४ माघ (ओएनएस) : संविधानका विवादित विषयमा प्रश्नावली निर्माण गर्न आज छुट्टै समिति बनाइने भएको छ । संविधानसभाको बैठक चलिरहेका बेला सहमति जुटाउन छुट्टै शीर्ष बैठक पनि सुरु भएको छ । संविधानसभाको बैठकसँगै सम्मेलन केन्द्रभित्रै मुख्य दलका नेताहरुको शीर्ष बैठक पनि बसेको छ।
संविधानसभाको बैठक बिहान ९ बजे नै सुरु भइसकेको छ । बैठककै क्रममा सभाध्यक्ष नेम्वाङले छुट्टै बैठक गरी प्रक्रियामा प्रवेश गराउने संसद सचिवालयले जनाएको छ ।
प्रश्नावली समिति नबनाई छलफल गर्दा विषय दोहोरिने भन्दै समिति बनाएर प्रक्रियाको चरणमा प्रवेश गराउने संसद सचिवालयको तयारी छ । संविधानसभाको बैठक सकिए लगत्तै प्रश्नावलस् समिति बनाउने विषयमा छलफल सुरु हुनेछ ।
सहमति नभए प्रश्नावली समिति बनाउने विषयमा नेम्वाङले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग पनि छुट्टै छलफल गरेका थिए । सत्तारुढ दल कांग्रेस र एमालेका नेताहरु ९ बुँदे अवधारणा संशोधनसहित सिधै मस्यौदा समितिमा पठाउनुपर्ने पक्षमाछन् भने विपक्षी त्यसलाई रोक्ने रणनीतिमा छन् ।
बीचबाट समाधान निकाल्न सभाध्यक्ष नेम्वाङले प्रश्नावली समितिमै जोड दिएका हुन ्। प्रश्न तयार नहुञ्जेल सहमतिका लागि पनि समय रहने हुनाले दुवैतर्फ मनाएर प्रश्नावली समिति बनाउने तयारीमा नेम्वाङ जुटेका हुन।