आज साउने सक्रान्ति पर्व

1249
  •  
  •  
  •  

काठमाडौं । साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व आज हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् ।

मानो खाई मुरी उव्जाउने कथन अनुसार असार महिनाभर धान रोपाईको काम सकिएपछि साउने सक्रान्ति पर्व मनाउने प्रचलन रहि आएको छ ।

आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्क निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दो आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।
साउन महिनालाई विशेषरूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए ।

साउन महीनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भन्ने प्रचलन पनि छ ।

महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्छ ।


  •  
  •  
  •