यस्ता काममा साउदी जाने नेपाली अदक्ष कामदारको बढ्यो न्यूनतम पारिश्रमिक

75
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौँ (ओएनएस) : सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष कामदारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरेर बढाउँने निर्णय गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले साउदीमा काम गर्ने अदक्ष नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेर बढाउँने निर्णय गरेको हो।

६ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक पाउन सकेका थिएनन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरबमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने प्रस्ताव तयार पारी मन्त्रिपरिषद्को बैठकमा पेश गरेको थियो । श्रममन्त्री गोकर्ण विष्टको विशेष सक्रियतामा मन्त्रालयले उक्त प्रस्ताव तयार पारेको हो ।

पुनरवलोकन गरिएको पारिश्रमिकअनुसार साउदी अरबमा काम गर्न जाने नेपालीले अब न्यूनतम एक हजारदेखि अधिकतम ११ हजार साउदी रियालसम्म पाउनेछन् । साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन् । सरकारले लेबर, क्लिनर, हेल्पर, स्विपर, अफिस ब्वाय र वाचमेनमा काम गर्न जाने व्यक्तिलाई अदक्ष कामदारका रुपमा वर्गीकरण गरेको छ ।

ती कामका लागि साउदी जाने अदक्ष नेपाली कामदारले अब न्यूनतम पारिश्रमिक साउदी रियाल एक हजार (करिब नेपाली ३० हजार) पाउनेछन् । यसअघि साउदीमा काम गर्न जाने अदक्ष कामदारको परिश्रमिक साउदी रियाल ८०० (नेपाली करीब २२ हजार) निर्धारण गरिएको थियो । ती कामदारले खाना भत्ताबापत साउदी रियाल ३०० ९नेपाली करीब नौ हजार० प्राप्त गर्नेछन् । यसअघि खाना भत्ताबापत कामदारले साउदी रियाल २०० ९नेपाली करीब छ हजार० पाउँदै आएका थिए ।

सरकारले अदक्ष कामदारका लागि औषधोपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात सुविधा कम्पनी वा रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने व्यवस्थासमेत गरेको छ ।

न्यूनतम पारिश्रमिक र अन्य सुविधा वृद्धि भएसँगै एक अदक्ष नेपाली कामदारले आवास सुविधासहित कम्तिमा मासिक साउदी रियाल एक हजार ३०० (नेपाली करीब ४० हजार) पारिश्रमिक पाउने छन् ।


  •  
  •  
  •