काठमाडौं २६ चैत (ओएनएस) : २० महिनाअघि आत्महत्या गरेकी एक घरेलु कामदार महिलाको शव सद्गद भइसक्दै उनी नेपालमा ज्यूँदै रहेको पाइएको छ । नेपाली दूतावासले आत्महत्या गरेको भनिएकी महिलाको शव नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नातेदार खोजी गर्दा राहदानीमा उल्लिखित ठेगानाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उनी जीवितै रहेको जानकारी प्राप्त भएको हो ।
यसले नेपाली राहदानीको दुरुपयोग भएको खुलासा गरेको छ ।
कागजपत्रअनुसार नेपाली राहदानी नम्बर ४०००५६०५ का लमजुङ जिल्ला प्याराजुंग गाविस ८ निवासी ४२ वर्षकी दुर्गाकुमारी गुरुङ घरेलु कामदारका रुपमा सन् २०११ डिसेम्बर ७ मा साउदी अरब आएकी थिइन् ।
त्यसको आठ महिना १३ दिनपछि २०१२ अगस्ट २० मा उनले आत्महत्या गरिन् । लमजुङ जिल्ला प्रशासन कार्यालयबाटै प्रदान गरिएको राहदानी र नागरिकता मृतकको साथमै फेला परेका थिए । त्यसमा उनकै तस्वीर रहेको छ ।
उनको नागरिकता लमजुङ जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी जेपी अर्यालको हस्ताक्षरमा जारी गरिएको उल्लेख छ । नागरिकता नम्बर ४५२६३र४८७ भएको र जन्ममिति २०२६ कात्तिक २८ गते उल्लेख गरिएको नागरिकता प्रमाणपत्रमा बाबुको नाम हेमराज गुरुङ उल्लेख गरिएको छ ।
राहदानी र नागरिकतामा भएको विवरणका आधारमा दूतावासले सोधखोज गर्दा जिल्ला प्रशासन कार्यालय लमजुङले दुर्गाकुमारी गुरुङ विदेश नगएको र हालसम्म गाउँमै बसोबास गरिरहेको पत्र पठाएको थियो ।
उनी भारतीय हुनसक्ने दूतावासको अनुमान छ ।
मृतक नेपाली नागरिक नभएको दूतावासले पुष्टि गरेपछि उनको शव अहिले बेवारिसे बनेको छ ।नागरिकबाट