काठमाडौं । साउदी अरबले आवासीय, श्रम र सीमा कानुन उल्लंघन गर्ने १० हजार आप्रवासी कामदारलाई देशबाट निकाला (डिपोर्ट) गरेको छ । डिपोर्ट हुनेमा नेपाली कामदारको संख्या भने खुलाइएको छैन । सबैभन्दा बढी यमनी र इथोपियन नागरिक छन् ।
साउदीले अवैध (अलेखबद्ध) रुपमा बस्ने आप्रवासी धरपकड गरी देशनिकाला गर्ने कामलाई तीब्रता दिएको हो । पछिल्लो एक साता मात्रै १९ हजार जनालाई पक्राउ गरेको हो । जसमा ११ हजार ४ सय २७ जनाले आवासीय कानून उल्लंघन गरेको छ । चार हजार ६ सय ९७ जनाले सीमा सुरक्षा कानुन र तीन हजार एकसय ९७ जनाले श्रम कानून उल्लंघन गरेका छन् ।
साउदी अरबको आन्तरिक मन्त्रालयद्वारा जारी सुचना अनुसार जनवरीसम्म ५५ हजार ७ सय ५६ जनालाई पक्राउ गरिसकेको छ । ४३ हजार जनालाई निष्कासन गर्नको लागि सम्बन्धीत देशको दूतावासलाई ट्राभल डकुमेन्ट जारी गर्न पत्रचार गरिएको जनाएको छ ।