साउदी ड्रोन आक्रमण : अमेरिकाले सार्वजनिक गर्‍याे भूउपग्रहबाट खिचिएका तस्बिर

125
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाले साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणमा इरान संलग्न भएको भन्दै प्रमाणस्वरूप भूउपग्रहबाट खिचिएका तस्बिर सार्वजनिक गरेको छ ।

आफ्नो गुप्तचर निकायको भनाइ उद्धृत गर्दै अमेरिकाले तस्बिर सार्वजनिक गरेको हो ।  तर इरानले भने शनिवार साउदी अरबमा भएका हवाई आक्रमणमा आफ्नो संलग्नता भएको बताउँदै आएको छ ।

बीबीसीका अनुसार यमनमा सक्रिय विद्रोही हूथी समूहले आफूले ती आक्रमणहरू गरेको दाबी गरेको छ । हूथीहरूलाई इरानको समर्थन छ ।

अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय समाचारसंस्थासँग कुरा गर्दै नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीहरूले जुन दिशाबाट र जुन क्षमतामा आक्रमणहरू भए त्यसबाट हूथीहरू संलग्न भएको पत्याउन नसकिने आशय व्यक्त गरेका छन् ।

आक्रमणपछि साउदी अरबले तेल तथा ग्यास उत्पादनमा कटौती गरेको छ । फलस्वरूप तेलको आपूर्ति पाँच प्रतिशतले घटेको छ । यस्तै तेलको मूल्यपनि चार महिनायताकै उच्च भएको छ ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले साउदी अरबमा भएको घटना इरानले गराएको आरोप लगाएका छन् ।
तर तेहरानले उक्त आरोपको खण्डन गर्दै त्यसलाई अमेरिकाको “जालझेल“ भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोझै इरानलाई दोषारोपण गरेका त छैनन् तर आइतवार ट्वीट गर्दै उनले दोषीमाथि सम्भावित सैन्य कारबाही गर्ने संकेत दिएका छन् ।

न्यूयोर्क टाइम्स, एबीसी तथा रोएटर्सले नाम उल्लेख नगरीकन अमेरिकी अधिकारीलाई उद्धृत गरेका छन् ।

एक अधिकारीले यमनबाट नभएर पश्चिम तथा पश्चिमोत्तर दिशाबाट आक्रमण भएको बताएका छन् । तर यमन साउदी अरबको दक्षिणमा अवस्थित छ ।

त्यसैले उत्तरी खाडी, इरान वा इराकतिरबाट आक्रमण भएको हुन सक्ने उनीहरूको भनाइ छ । न्यूयोर्क टाइम्सका अनुसार आक्रमणमा ड्रोन र क्रूज क्षेप्यास्त्र प्रयोग भएको हुन सक्ने अमेरकी अधिकारीहरूले बताएका छन् । तर ती सबै अब्काइकस्थित प्रशोधन केन्द्र र खुरैसस्थित तेल खानीसम्म पुगेनन् ।

एबीसीले नाम उल्लेख नगरिएका एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा इरान संलग्न भएकोबारे ट्रम्पलाई थाहा भएको जनाएको छ ।


  •  
  •  
  •