सप्तरी र जुम्लामा कफ्र्यु हट्यो, तनाव उस्तै

59
  •  
  •  
  •  

काठमाडौं २ भदौ (ओएनएस) : सप्तरी र जुम्लामा लगाइएको कफ्र्यु हटेको छ । कर्फ्यु हटेपनि अवस्थामा सामान्य भइसकेको छैन । सप्तरीको भारदहमा मंगलबार साँझदेखि लगाएको कर्फ्यु स्थानीय बिहान बिहान ५ बजेबाट हटाइएको हो ।

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव शान्त गर्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

कर्फ्यु हटाएसँगै बिहानैदेखि आन्दोलनकारी चोक चोकमा निस्किएर प्रदर्शन शुरु गरेका छन् । आन्दोलनकारीले ६ बुँदे मागसहित प्रदर्शन शुरु गरेका हुन् । मृतकलाई शहीद घोषणा र २० लाख क्षतिपूर्ति, घटनाका दोषी प्रहरीको निलम्बन, गोलीकाण्डको छानविन गर्न समिति गठन गर्नुपर्ने लगायतको माग राखेर स्थानीयले प्रदर्शन शुरु गरेका हुन् ।

जुुम्लामा पनि हट्यो
जुम्ला सदरमुकाम खलंगामा पनि स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाएको छ । आइतबार साँझदेखि लगातार लगाईंदै आएको कर्फ्यु गएरातीबाट प्रशासनले हटाएको हो ।

बडिमालिका मेला र नागपञ्चमीलाई मध्यनजर गर्दै कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भइरहेको प्रदर्शनले उग्र रुप लिएसँगै कर्फ्यु लगाइएको थियो । बिहानैदेखि प्रदर्शन भने सुरु भइसकसकेको छ।


  •  
  •  
  •