सासू-बुहारीको झगडाः को सही, को गलत ?

2082
  •  
  •  
  •  

भित्तामा रहेको घडीतिर हेरि लामो सुस्केरा हाल्दै, उफ ! बल्ल ६ बजेछ । अब त आउँनुपर्ने यसकी आमा पनि । भुईंमा खेलिरहेको एक वर्षे नातिलाई काखमा लिँदै तीन बिस पुग्न लागेकी सासू गन्गनाउँन थाल्छिन्,‘यो बुढेसकालमा पनि कहिल्यै र्फुसद नपाउने भएँ मैले ।’

लक्ष्मी रेग्मी

‘अफिसबाट फर्केर घरभित्र पस्न पाउनु छैन, हतार–हतार बच्चा जिम्मालगाई हाल्नुहुन्छ । एकछिन आराम पनि गर्न पाउनु छैन । आखिर नाति त उहाँको पनि हो नि । म पनि अफिसमा दिनभर काम गरेरै आएकी हुन्छु ।’ बुहारीको उता बेग्लै गुनासो छ ।

एउटी जागिरे बुहारी र साट्ठी वर्ष पुग्न लागेकी एक अधवैंशे सासुबीचको सम्बन्ध चिस्सिनुमा यहाँ को दोषी छ त ? वास्तवमा भन्ने हो भने गल्ती दुबैको छैन यहाँ । आ–आफ्नो पक्षबाट हेर्दा दुबैको गुनासो जायज हो ।

एकछिनको लागि यो कुरालाई यही थाँति राखेर तलका दुई संवाद पनि हेरौं । ‘धन्न मेरी आमा (सासू) हुनुहुन्छ र त मैले निर्धक्कसाथ आफ्नो बच्चा उहाँको जिम्मामा छोडेर जागिर खान जाने अवसर पाएकी छु । तलब दिएर राखेका मान्छेको भरमा छोड्नुपरेको भए न मेरो मन जागिरमा हुन्थ्यो न त राखेको मान्छेको पुरै भरोसा नै गर्न सकिन्थ्यो । दुध दिने गाईको लात्ति पनि सहनुपर्छ ।’

जागिरबाट फर्कँदै गरेकी बुहारी मनमा कुरा खेलाउँदै घर आइ पुग्छिन् । ‘आमा के खाजा खानुभयो हजुरले ? आज मैले हजुरको मनपर्ने तरकारी लिएर आएकी छु ।’ ‘दिनभरी अफिसमा काम गरेर थकाई लाग्यो होला,एकछिन आराम गर । कस्तो रह्यो आजको तिम्रो दिन ? के खाजा खायौ ? भोकायौ होला, के खान्छ्यौ ? म बनाइदिन्छु ।’

यस्ता आदर्श सोच भएका सासू बुहारी हरेक परिवारको चाहाना हो । माथिको संवाद र तलको संवादमा परिस्थिति एउटै भए पनि एक अर्कालाई हेर्ने र बुझ्ने तौर तरिका फरक छ । दुबै पक्षले थोरै मात्रामा समझदारी देखाउने बित्तिकै यस्ता समस्याहरु झिनामसिना लाग्न थाल्छन् । मैले उसको लागि यति गरेको छु, उसले पनि त्यति नै गर्नपर्छ भन्ने सोच राख्न थाल्यो भने कुरा बिग्रन थाल्छ । यस्तो व्यवहार माया नभएर व्यापार हुन थाल्छ जहाँ लेनदेनको हिसाबकिताब राखिन्छ ।

यो त एउटा उदाहरण मात्र हो । हाम्रो समाजमा सासू-बुहारीबीचको अन्र्तद्वन्द्व शताब्दीऔंदेखि चलिआएको हो । यो कुनै नौँलो घटना होइन् । यो एउटा प्राकृतिक घटना हो जो दुई भिन्न व्यक्ति तथा भिन्न भिन्न संस्कार र परिवेशबाट पालन पोषण भएका व्यक्तिहरुबीचको बैचारिक भिन्नताका कारण उत्पन्न हुनेगर्दछ ।

सासू-बुहारीको सम्बन्ध निर्धारणमा निम्न लिखित विषयहरु महत्वपूर्ण रहेको पाइन्छ । यस सम्बन्धलाई हाउगुजी ठान्ने सोच किन र कसरी उत्पन्न हुने गर्दछ र त्यसलाई के कसरी समाधान गर्न सकिन्छ भन्ने विषयलाई देहाय बमोजिम हुन सक्ने आँकलन गर्न सकिन्छ ।

सोचाइ-बुझाइमा भिन्नता (Communication Gap): नेपालीमा एउटा भनाई छ,‘आफ्नो आङको जुम्रा नदेख्नेले अरुको आङमा भैंसी देख्छ ।’ आफूलाईू गलत साबित हुन कसैलाई पनि रहर हुँदैन ।

गल्ती कहाँ भइरहेको छ ? यस्तो अवस्था के कति कारणले निम्तियो ? यस्तो अवस्था सिर्जना हुनुमा म कहाँनिर चुकेँ जस्ता जरो कुरा पत्ता लगाउन जरुरी हून्छ । त्यसैले अरुलाई परिवर्तन गर्न चाहनेले परिवर्तनको थालनी आफैंबाट गर्नुपर्छ ।

त्यसको लागि एक आपसमा खुलस्त र इमान्दारीतापूर्वक आफ्ना भ्रमहरु पन्साउँदै लैजानुपर्ने हुन्छ । आफ्नो समस्याहरुको समाधान घर भित्रै खोज्ने हो । घर बाहिरकाले त समाधान होइन बरु भित्रभित्रै रमाउँदै आगोमा घ्यू थप्ने काम मात्र गर्छन् ।

एकअर्का सामू आफ्ना असन्तुष्टीहरु खुलस्त राख्ने बानीले पछाडि कुरा काट्ने, एक अर्कासँग तुलना गर्ने जस्ता खराब आदतको न्यूनिकरण हुँदै जान्छन् । बिहे नगरुञ्जेल मेरो छोरोले मलाई माया गथ्र्यो तर बिहे गरेपछि फेरियो भन्ने सासू अनि मेरो बुढो त आमाको मात्र कुरा सुन्छन् ।आमाभक्त नै हुन् भन्ने बुहारी धेरै छन् हाम्रो समाजमा ।

वास्तवमा आमाले छोरालाई माया गर्छिन् र छोराले आमालाई माया,आदर गर्छ भने यो भन्दा खुशीको कुरा अरु के हुन सक्ला ? आफ्ना भाउजू-बुहारीले आफ्ना बाबुआमालाई माया गर्दा खुशी लाग्छ भने आफ्नो श्रीमानले उनकी आमालाई माया-आदर गर्दा रिसाउनुको साटो खुशी हुनु राम्रो होइन र ? समय सधैं एउटै रहन्न । हामीले गरेका हरेक व्यवहारहरुबाट हाम्रा केटाकेटीहरुले पाठ सिकिरहेका हुन्छन् । हाम्रा बालबच्चाको लागि हामी रोल मोडल बन्न सक्छौं ।

बुहारीले यति बुझिदिने हो भने समाजमा मेरो छोरो बिहे गरेपछि झन् सुध्रियो भन्ने आमा बढि भेटिनेछन् ।

त्यसैगरी सासूको हकमा पनि, यो नयाँ सदस्य हो यसलाई सबै कुरा सुनाउन जरुरी छैन या आमाले भनेको मात्र ठिक हो भन्ने जस्ता व्यवहारले सम्बन्धमा चिसोपना आउँन थाल्छ । राम्रो कुरालाई प्रोत्साहान र खराब भए सुझाव दिनाले समस्या कम हुन सक्छ ।

पुस्तान्तरणको खाडल-Generation Gap): जब दुई भिन्न पुस्ताहरुको चासोको विषय ,सोच्ने र बुझ्ने तौर तरिकामा पृथकता देखिन्छ तब पुस्तान्तरणको खाडल सिर्जना हुन्छ ।

आफ्ना जमानाका कुरा गरेर आफू बुहारी हुँदा आफूले खेपेको दुःख वेदनाहरु सम्झेर आफ्ना बुहारीहरुले पाएको सुख सुविधाको ईष्या गर्नु भन्दा आफूले जेजति दुःख भोगेको भएपनि आफ्ना बुहारीहरुले त्यस्तो कहिल्यै खेप्नु नपरोस् भन्ने सोचको विकास सासूहरुमा तथा बुहारीहरुमा पनि सासूहरुले गरेका त्यागहरुलाई सुनिदिने र बुझिदिने धैर्यता हुन त्यत्तिकै जरुरी छ ।

हाउभाउ(Body Language): एक अर्काको कुरा चित्त बुझेको छैन भने रिसाउनुको सट्टा मौन बसिदिनाले आधा समस्याको हल त्यहीबाट निस्कन्छ । तर कतिपय अवस्थामा केटाकेटीलाई गाली गरेर, पिटेर, ढोका बजारेर, भाँडा ढटाएर केही नबोले पनि आफ्ना शारिरिक हाउभावले उनीहरु एकअर्का प्रति असन्तुष्टीहरु व्यक्त गरिरहेका हुन्छन् जुन गलत हो । आफ्ना कुराहरु अभिव्यक्त गर्न होस् या चित्त नबुझेको कुरालाई पन्छाउनमात्र एउटा मुस्कान काफी छ ।

सत्त्ताको लागि लुछातानी : आफ्नो सत्ता कब्जा हुन लाग्दा त्यसको प्रतिरक्षाको लागि आइलाग्ने माथि जाइ लाग्नु मानवको स्वभाव नै हो । सासू बुहारीको झगडालाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । मौरीको घारमा पनि एउटा मात्र रानो बस्छ । सासूको खटन पटनमा चलिरहेको घर व्यवहारमा अब बुहारीले पनि आफ्नो हक खोज्ने भई । आर्थिक कारणले उत्पन्न हुने कलहसँगै सासू बुहारीबीचको शितयुद्धको प्रारम्भ त्यहीबाटै हुन थाल्छ ।

यो सानो कुरा लागे पनि यसको नतिजा भयानक हुनसक्छ । सानो शिलशिलाबाट शुरु भएका यस्ता कलहले पूरै पारिवारिक संरचना नै तहसनहस पार्न सक्छ । यस्ता झगडाले मानसिक रोग, बाल मस्तिष्कमा असर, श्रीमान् श्रीमतीबीचको सम्बन्धमा तिक्तता जस्ता विवाद हुँदै सम्वन्ध विच्छेद सम्मलाई निम्ता दिइरहेको हुन्छ ।

शिक्षाको कमी : शिक्षित हुनु भनेको कागजी सर्टिफिकेटमा मात्र सिमित हुनु होइन । सुसंस्कृत हुनु नै वास्तवमा शिक्षित हुनुको परिभाषा हो । आफ्नो कर्तव्य, मान मर्यादाभित्र रहेर एकअर्काको भावनालाई कदर गर्नु नै सही अर्थमा शिक्षित हुनु हो ।

नेपाली परिपेक्ष्यमा हेर्ने हो भने । बच्चा अवस्थामै बुहारी भएर घर भित्रिएका हिजोका बुहारीहरु माइतिको संस्कारमा भन्दा घरको संस्कारमा अभ्यस्त भएका हुन्थे ।सासू–ससुरा, नन्द आमाजू लगायतका परिवारले लाए खटाए बमोजिम जोतिनु बुहारीको परमधर्म-र्कतब्य मानिन्थ्यो । परिवारको नियम, कानूनको अवहेलना गर्नेले सौता पुरस्कार पाउने सम्भावना बढी हुन्थ्यो । परिवारभित्र हुने महत्वपूर्ण निर्णयहरुमा उनीहरुको भूमिका गौण हुन्थ्यो ।

खेतालाको रुपमा उनीहरुलाई प्रयोग गरिन्थ्यो । घरमा काम गर्ने मान्छेको कमी महशुस हुने बित्तिकै महिलामाथि सौता हालिन्थ्यो । बाल्यकालमा नै विवाह भएको र शिक्षाको अवसर नहुनाको कारण आफ्नो हक, अधिकार खोज्ने भन्दा कर्मलाई दोष दिने,जति दुःख पिडा भएपनि माइतिको इज्जत धान्न सहेर बस्ने संस्कार-सोचको कारण महिला हिंसा नेपाली समाजमा व्याप्त थियो ।

बुहारीहरु आफूले भोगेका दुःख पिडालाई वर्षमा एकपटक तिजमा माइत आएर गीतमार्फत व्यक्त गर्ने, तीजमा भाइ लिने जाने, सासूले नपठाउने जस्ता गीतहरुको प्रचलन अझै छदैछ ।

त्यसैले त परम्परागत संस्कारबाट र्हुकिएका अर्थात संयुक्त परिवारमा पलेबढेकाअहिलेका सासूहरु– जसले एउटै परिवारमा सासु–ससुरा, बुढी सासू–बुढा ससुरा, देवर–देवरानी, जेठाजू–जेठानी, भतिजा–भतिजी, नन्द–आमाजू सबैलाई एउटै चुल्होमा खाना पकाएर चुल्हो चौकोबाट कहिल्यै माथि उठ्न नपाएकाअर्थात आफ्नो समयमा असह्य बुर्हातन व्यहोरेका कारण बुहारीलाई कजाउन अर्थात् आफ्नो आदेश–खटनपटन अनुसार चलाउन-नियन्त्रण गर्न खोज्छन् ।

नयाँ बुहारीले आजैबाट आफ्नो घर पूरै धानिदियोस्, उसका आमा बाबालाई जस्तै हामीलाई पनि माया गरिदियोस्,आफ्ना छोराछोरीहरुलाई पनि उसकै भाइबहिनीलाई झैं माया गरिदियोस् भन्ने अपेक्षा राखिन्छ ।

आफूले कल्पना गरे अनुरुप बुहारीको व्यवहार नपाउँदा मन खिन्न हुनु स्वभाविक पनि हो तर वास्तवमा भन्ने हो भने यस्ता खालका अपेक्षा राख्नु भनेको कसैको टाउकोमा बन्दुक राखेर ,’लु ! अब हाँस’ भन्नु जस्तै हो ।

आदर, सम्मान गर्ने भन्ने कुरा मनभित्रैबाट जाग्नु पर्छ । कसैको करकापमा परेर गरेको सम्मान देखावटी मात्र हुन्छ । त्यसकारण सही परिणामको लागि समय र ठाउँ(स्पेस) दिन जरुरी छ । यस्तो अवस्थामा उनलाई त्यस नयाँ परिवेशमा घुलमिल हुन केही समय लाग्नसक्छ । त्यसमा परिवारका हरेक सदस्यको साथ र सहयोगको आवश्यकता पर्दछ ।

समयले कोल्टो फेरिसकेको छ अब । पञ्चायती व्यवस्थाको अन्त्यसँगै २०४६ सालपछि नेपाली समाज फरक ढंगले रुपान्तरित हुँदै गइरहेको छ । माओवादी जनयुद्धले समाजका सामन्तवादीको नाममा धेरैको शिर काटियो । पिछडिएका-हेपिएका वर्गहरु अगाडि आउन थाले ।

विभिन्न खाले आन्दोलनहरुले महिलाहरुको आरक्षण, हक अधिकारका विषयलाई प्रश्रय दिए लगत्तै महिलाहरु घरको चुल्हो चौकोमा मात्र सिमित नरहेर बाहिर निस्कन थाले । राजनिति, शिक्षा,स्वास्थ्य सञ्चार लगायत विभिन्न क्षेत्रहरुमा उनीहरुले पनि योगदान दिन थाले ।

स्वस्थानीमा पढेको शिव शर्मा ब्राम्हण जस्तो बृद्धसँग विवाह गरेर बाल्यकालमा नै आफ्नो श्रीमान् गुमाएकाहरु जिन्दगीभर विधवा बस्ने सोच र संस्कार परिर्वतन हुँदै गएको छ । विधवाले जिवनभर विधवा रुप लिएर बस्नुपर्दैन, रातो कपडा लगाउन पाउनु पर्छ भनेर आन्दोलनहरु चलेका छन् उनीहरुका पक्षमा आवाजहरु उठेका छन् जसले महिलाहरु अझ बढी सबल र सशक्त बन्दै गइरहेका छन् ।

यसरी समाज बिस्तारै परिवर्तन हुँदै गइरहेको छ । महिलाहरुको विवाह गर्ने औसत उमेर नै २० देखि ३० वर्ष पुगेको छ । यसरी आफ्नो जीवनकालको आधाभन्दा बढी उमेर माइतमा बिताएका महिलाहरुको झुकाव घरमा भन्दा बढी माइतीतर्फ हुने गर्दछ । हिजोको संयुक्त परिवार प्रणाली जहाँ तिन चार पुस्ता एकै ठाउँमा बसोबास गर्थे अब एकल परिवार प्रणालीमा रुपान्तरित हुँदै गएको छ ।

एकल परिवारमा हुर्किएका उनीहरु पुरुषसरह समान सोचद्धारा दिक्षित हुन्छन् । विभिन्न विषयमा आफ्ना क्षमताको विकास गरेर आफ्नो पहिचान स्थापित भइसके पछिमात्र विवाह गर्ने, छोरा होस् या छोरी दुबैलाई बराबर अवसर प्रदान गर्ने र उसैलाई आफ्नो सर्वस्व मान्ने संस्कारको विकास भएको छ । विद्यालयहरुमा छोरा र छोरीको भर्ना प्रतिशत समान हुन थालेको छ जसले गर्दा समाजको परम्परागत संरचनामा फरक आएको छ ।

यद्यपी जरो गाडेर बसेको हाम्रो रुढीवादी सोच र संस्कार भएका सासूहरु र पीडित बुहारीहरु हाम्रो समाजमा अझै प्रशस्तै छन् । सासूको मर्का बुहारीले र बुहारीको बाध्यता सासूले बुझिदिने हो भने मलाई लाग्छ सासू-बुहारीको नाता आमाछोरीको नाताभन्दा निकटको नातामा स्थापित हुने थियो र अंग्रेजीमा Daughter-in -law(Dil) / Mother-in-law(Mil) दिल मिले जस्तै नेपालीमा पनि सासू-बुहारीको मन मिल्ने थियो।


  •  
  •  
  •