संस्थाको जग्गा नियम विपरित बिक्री गरेको आरोप, कारबाहीको माग

752
  •  
  •  
  •  

भक्तपुर । नेपाल लगायत विश्वभर रहेका थुलुङ्ग (राई) हरुको हकहित, भाषा, संस्कार, संस्कृतिको सम्बृद्धि र विकास गर्ने उदेश्यले स्थापना भएको थुलुङ्ग (राई) सामा नेपालको नाममा रहेको जग्गा संस्थाका अध्यक्षसहितले बिक्री गरि करोडौं रकम हिनामिना गरेको आरोप लागेको छ ।

विद्यान अनुसार अवैधानिक भइसकेका संस्थाका अध्यक्ष पूर्णसिंह थुलुङ्ग, उपाध्यक्ष राम थुलुङ्गसहितको मिलेमतोमा संस्थाको जग्गा बिक्री गरि रकम हिनामिना गरेको भन्दै सरोकारवालाले जग्गा फिर्ता गर्न माग गरेका छन् ।

संस्थाको कार्यसमिति सदस्य एवं पदाधिकारीलाई समेत जानकारी नगराई, कुनै भेला समेत नगरी सिमित व्यक्ति बसेर विधान विपरित जग्गा बिक्री गरी रकम अपचलन गरेको संस्थाका पदाधिकारीले सोमबार एक विज्ञप्ति मार्फत जनाएका छन् ।

विगत १९ वर्ष अगाडि कमल राईको अध्यक्षतामा रहेको समितिले सूर्यविनायक नगरपालिका नंखेलमा नंखेल १ (ख) कित्ता नं. ९०४, ९०५ र ९०७ को चार रोपनी २ आना ३ पैसा ४ दाम जग्गा संस्थाको नाममा खरिद गरिएको थुलुङ्ग (राई) जग्गा सरोकार समितिका संयोजक जनीकुमार राईले बताए ।

थुलुङ्ग (राई) सामा नेपालको २०७२ जेठ ३ गते कार्यभार सम्हालेका समाजका अध्यक्ष पूर्णसिंह थुलुङ्ग सहितको कार्यकाल विधान सम्बत रुपमा २०७५ जेठमा सकिए पनि संस्थाको साधारणसभा समेत आव्हान नगरी उक्त समितिले विधान विपरित २०७४ साउन २३ गते जग्गा बिक्री गरेको पाईएको उनले जानकारी दिए ।

जग्गा बिक्री गरि रकम अपचलन गरिसक्दा पनि संस्थाका सदस्यहरुलाई जानकारी नदिई लुकाएको अबस्थामा गत मंसिरमा जानकारी आएपछि संस्थाको जग्गा जोगाउन थुलुङ्ग (राई) जग्गा सरोकार समिति गठन गरिएको राईले बताए ।

समितिले संस्थाको जग्गा बिक्री गरेको कारण र रकमबारे पटक पटक जानकारी लिन र संस्थाको जग्गा फिर्ता गराउन छलफल गर्दा उल्टै धम्क्याउने गरेको र प्रहरीमा समेत उजुरी दिएर प्रहरी मार्फत समेत धम्क्याएको समितिका सचिव धनबल राईले जानकारी दिए ।

संस्थाका अध्यक्ष पूर्णसिंह थुलुङ्गको नेतृत्वमा जग्गा बिक्री भएको र अब कुनै हालतमा संस्थाको जग्गा फिर्ता हुदैन, जे गर्न सक्छौँ गर भनेर उपाध्यक्ष राम थुलुङ्ग मार्फत सरोकार समितिलाई खबर पठाएको सचिव धनबल राईले बताए ।
सरोकार समितिका पदाधिकारीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा अध्यक्ष पूर्णसिंह राईको नेतृत्वले मानहानीमा उजुरी दिई आइतबार प्रहरी मार्फत ३५ जनाको समूहलाई अपशब्द बोल्दै मानसिक यातना र धम्की समेत दिएको सरोकार समितिका सदस्य मुकुन्द राईले जानकारी दिए ।

महाराजगञ्ज वृत्तका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले संचारकर्मी मदन राईसमेत समितिका संयोजक जनीकुमार, रोमश मणि, मुकुन्द र मदन राईलाई एकवर्षसम्म थुनिदिन्छु भन्दै राती ८ बजेसम्म मानसिक यातना समेत दिएको उनीहरुले गुनासो छ ।

मुस्कान सहितको सेवाको अभियान चालिरहेको प्रहरीले उल्टै पीडितलाई धम्क्याउने र मानसिक यातना दिएको गुनासो गर्दै उहाँले संस्थाको जग्गा जोगाउन कानूनी उपचारमा लाग्ने सरोकार समितिले जानकारी दिएको छ ।
यता थुलुङ्ग (राई) सामा समितिका पदाधिकारीहरुले समेत प्रेस बिज्ञप्ती जारी गर्दै उक्त जग्गा रु. २ करोड २ लाख ७२ हजारमा बिक्री गरि समितिलाई रु. १ करोड ८५ लाखमा बिक्री गरेको भन्दै झुक्याएर रकम अपचलन गरेको जनाएका छन् ।

समितिका महासचिव सुवास कुमार राई, सह कोषाध्यक्ष मनकुमारी राई समेत ९ जना सदस्यले हस्ताक्षर गरि विज्ञप्ती जारी गर्दै जग्गा बिक्री प्रति असहमति जनाएका छन् ।

दुबै समितिले निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ । सरोकार समितिले भने संस्थाको जग्गा फिर्ता गर्न माग गरेको छ । फिर्ता हुनै नसक्ने अबस्थामा भए जग्गाको चलनचल्तीको मूल्य अनुसारको रकम बिक्रेताहरुबाट असुल उपर गरि कारबाही गर्न समेत माग गरेको छ ।


  •  
  •  
  •