सभासद भए विद्यालयका अध्यक्ष !

63
  •  
  •  
  •  

काठमाडौं ७ असोज ।
विधान निर्माणमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बेला बाजुराबाट प्रतिनिधित्व गरेका एक जना संविधानसभा सदस्य भने राजधानीबाट आफ्नो गाविसमा आएर उच्च माध्यमिक विद्यालय ब्यवस्थापन समितिमा अध्यक्ष चयन भएका छन् ।

एमाओवादीबाट समानुपातिक सभासद कर्णबहादुर बिक भदौ अन्तिम साता काठमाण्डौंबाट आफ्नै गोत्री गाविसमा रहेको कैलाश उच्च मावि व्यवस्थापन समितिको अध्यक्ष चयन भएका हुन् । हालै मात्र उच्च मावि सञ्चालनको अनुमति पाएपछि आयोजित घोषणा कार्यक्रममा प्रमुख अतिथिमा निम्त्याईएका सभासद् बिकलाई नेकपा माओवादी बाजुराका सचिव मनलाल खत्रीले अध्यक्षमा प्रस्ताव गरेका थिए । ‘अध्यक्षका आकांक्षी २८ जना भएपनि मेरो प्रस्तावमा सभासद् बिकलाई अध्यक्षमा सबैले स्विकार गरेका हुन्’ सचिव खत्रीले भने ।

सभासद् बिकले भने भेलामा उपस्थित सबैको चाहनाले आफु अध्यक्ष भएको बताए । ‘मेरो चाहना भन्दापनि स्थानीय अभिभावकहरुको इच्छाले मैले जिम्मेवारी लिनु परेको हो’ बिकले भने । विद्यालयका प्रधानाध्यापक सम्राट बिष्टले समेत उनको इच्छा भन्दा पनि सभासद्लाई अध्यक्ष बनाए सांसद विकास कोषको रकम विद्यालयमा प्राप्त हुने अपेक्षाले स्थानीयले समर्थन गरेको बताए । जिल्लाका धेरैले भने यस विषयलाई सभास,दको नैतिकताको सवाल भनेका छन् । एमाओवादी अध्यक्ष सहदेव बोगटीले यसबारे आफुलाई विस्तृत जानकारी नभएको बताउँदै भने ‘विद्यालयमा सहयोग पुग्छ कि भनरे सभासदलाई अध्यक्ष बनाइएको होला ।’

जिल्ला शिक्षा कार्यालयका अधिकृतहरुले भने सभासद् विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएको विषयमा कुनै टिप्पणी गर्न चाहेनन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुनका लागि निश्चित योग्यताहरु पुग्नुपर्ने प्रावधान छ । ‘नेपाल सरकारको कुनैपनि निकायबाट पारिश्रमिक नबुझ्ने ब्यक्ति विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान छ’ शिक्षा कार्यालयका विद्यालय निरीक्षक धर्मराज जोशीले कान्तिपुरसँग भने ‘हामीले सबै विद्यालयमा यस सम्वन्धि उच्च माध्यमिक परिषद शिक्षा विभागबाट प्राप्त निर्देशन सबै विद्यालयमा पठाएका छौं ।’कान्तिपुरबाट


  •  
  •  
  •