करोडौंको मुटुमा ढुकढुकी बनेर अस्ताए सरोजगोपाल

109
  •  
  •  
  •  

पोखरा, २९ साउन (ओएनएस) : पचासको दशकमा नेपाली संगीतमा एउटा भनाई प्रचलित थियो, ‘गायक नारायण गोपाल पोखरामा टिक्न सकेनन् किनकी त्यहा अर्का गायक सरोज गोपाल थिए ।’ चलचित्र एवम् संगितकर्मी प्रकाश सायमीले सरोज गोपाललाई सम्झिदै भने, ‘त्यो समयमा नारायण गोपाल लोकप्रिय थिए, तर विवाह लगत्तै उनी पोखरामा बसाई सर्दा त्यहाँ सरोज गोपालको सक्रियता र लोकप्रियता देखेर काठमाडौं फर्किएको अड्कल लगाइएको थियो ।’

नेपाली लोकलयमा आधुनिक गीतको सुरुवात गर्ने गायक सरोज गोपाल ब्रजचार्य ६५ बर्षको उमेरमा आज अस्ताए । ‘आज सरोज जीसँगै पश्चिमी लोक लय अस्ताएको आभाश भएको छ,’ गायक दिप श्रेष्ठ उनलाई सम्झिदै भन्छन्, ‘धेरै कार्यक्रममा सँगै गाउने मौका मिल्यो । यति सरल र सहज व्यक्तित्व सायद कमै हुन्छन् ।’

रेडियो नेपालबाट सांगितीक यात्रा सुरु गरेका गायकको सांगीतिक सक्रियता पोखरा केन्द्रित हुन पुगेको थियो । ‘२०५७ सालमा पोखरामा पहिलो पटक सरोजसँग भेट भयो । म पनि संगीतकार तथा गीतकार उँहा पनि राम्रो गीत गाउने मात्र नभएर एउटा राम्रो संगीतकार पनि हुनुहुन्थ्यो । पोखरामा हामी फरक—फरक एफएममा काम गर्थ्याै‌ ।’

‘व्यबसायिक हिसावले हामीमा ‘शिलयुद्ध’ चलेको थियो तर मेरा लागि उहाँ आदरणिय हुनुहुन्थ्यो । मैले धेरै पटक मेरो गीत गाउन समेत अनुरोध गरे, ‘ भन्ने सायमीले सरोज गोपाललाई सबैभन्दा नजिकबाट नियाल्ने मौका पाए । ‘एउटा राम्रो संगीतकार मात्र होइन उहाँमा अपार दया र माया थियो ।’ गोपालकै सहगोयमा अरुण थापा गायक बने । ‘अरुणको आवाजमा सम्भावना देखेपछि आफै पैसा संकलन गरेर उनलाई गीत रेकर्ड गर्न काठमाडौ पठाए । अनी तयार भयो, ‘करोडौ मुटुहरुको एउटै ढुकढुकी ।’ आफु गायक भएर पनि आफ्नै प्रतिस्पर्धी गायक बनाए अरुणलाई ।’

जीवनको सुरुवातमा निकै राम्रा गीत गाएपनि पछिल्लो समय उनको सक्रियता घटेको थियो । संगीतकार मात्र नभएर संचारकर्मीका रुपमा समेत सक्रिय यी गायकलाई आफ्नो भाईले आत्महत्या गरेपछि गाउने रहर हराएको बताउछन् सायमी । ‘भाईले आत्महत्या गरेपछि उँहामा सक्रियता घट्यो र आफै रोगी बन्दै जानुभयो ।’

‘नक्कलीलाई भगाई लग्यो झिल्केले’, ‘देउराली उकाली चढरे’, ‘बिजयपुर खोला तरेर’ जस्ता चर्चित गीत गाएका सरोजको पछिल्लो सांङ्गीतीक प्रस्तुतीका रुपमा ‘पानको पात टिपेर खाम’ गीत गायका थिए ।


  •  
  •  
  •