सहुलियतमा खाना पकाउने ग्याँस उपलब्ध गराउन सरकारलाई अल्टिमेटम

718
  •  
  •  
  •  

काठमाडौं, २२ वैशाख(ओएनएस) : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीहरुलाई सहुलियत दरका खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।

विद्यार्थी संगठनले सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने विगतमा पटक–पटक गरिएका सहमति कार्यान्वयन गर्न एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई बुझाएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको जानकारए गराए ।

उनले एक हप्ताभित्र पनि आफूहरुको सो माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी पनि दिए ।
ध्यानाकर्षण पत्रमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि निगमको गम्भिर ध्यानाकर्षण गराइएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने तत्काल विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने अवस्था नरहेको बताएका थिए ।

उनले विगतमा गरिएका सहमति हेर्ने र विद्यार्थीहरुको सोसम्बन्धि माग सम्बोधनका लागि आवश्यक छलफल गर्ने आश्वासन पनि दुवै विद्यार्थी संगठनका नेताहरुलाई दिएका थिए ।

नेपाल आयल निगमले गत बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १ रुपैँयाका दरले मूल्य वृद्धि गरेको थियो ।


  •  
  •  
  •