सरकारी वकिल सामू ६५ प्रतिशत बढि मुद्दाको बोझ थपियो : महान्यायाधिवक्ता खरेल

128
  •  
  •  
  •  

काठमाडौं ३१ वैशाख(ओएनएस) : महान्यायाधिवक्ताको कार्यालयले १ सय २७ जना सरकारी वकिलसहित २ सय ४५ जनाको दरबन्दी थप गर्न सरकारसँग माग गरेको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयताको कार्यान्वयनसँगै सरकारी वकिलहरुको कार्यबोझमा बृद्धि भएको भन्दै दरबन्दी थप गर्न सरकारसँग माग गरेका हुन् ।

विगत ५ वर्षयता सरकारी वकिल सामू ६५ प्रतिशत बढि मुद्दाको बोझ थपिएको समेत उनले बताए ।
महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयमा हाल सरकारी वकिल ४ सय ४० सहित १ हजार ५०४ जनाको दरबन्दी रहेको छ ।

अन्य जनशक्ति नथप्दा सरकारी वकीलहरुले आफ्नो कार्य सम्पादन गर्न नसक्ने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले हिरासत र कारगारको क्षमता विस्तार र स्तरोन्नतिको काम गर्न पनि सरकारलाई सुझाव दिएको छ । महान्यायाधिवक्ता खरेलले चालू आर्थिक वर्षमा २४ जिल्लाको ३७ वटा हिरासत कक्ष र १९ वटा कारागार तथा १ बाल सुधार गृहको अनुगमन गरिएको बताए ।

कारागार र हिरासत तत्काल सुधारका लागि सरकारका सम्बन्धित निकायलाई जानकारी गराइएको समेत पत्रकार सम्मेलनमा जानकारी गराए ।

महान्यायाधिवक्ताको कार्यालयले कार्यालय परिसरभित्रै शिशु स्याहार केन्द्र पनि सञ्चालनमा ल्याएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार कार्यालयका कर्मचारीका शिशुहरुको स्याहारका लागि संचालनमा ल्याइएको शिशु स्याहार केन्द्रको उद्घाटन गरेका छन् ।


  •  
  •  
  •