सरकारी चिकित्सकका आन्दोलनका कारण आकस्मीक बाहेकका सेवा ठप्प

477
  •  
  •  
  •  

काठमाडौं, २२ चैत(ओएनएस) : समायोजनप्रति असन्तुष्ट सरकारी चिकित्सकहरु फेरि आन्दोलनमा उत्रिएका छन् ।
शुक्रबारदेखि उनीहरुले आकस्मीक बाहेकका सेवा ठप्प पारेका छन् ।

सरकारी चिकित्सक संघ, गोदानको आह्वानमा चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।
गत फागुन १८ गते सरकारसँग भएको सम्झौताका बाबजुत आफुहरुको माग विपरित समायोजन भएको भन्दै एकसाताका लागि विरोधका कार्यक्रम घोषणा गरेका छन् ।  प्रधानमन्त्री स्वयंमले गरेको प्रतिबद्धताको विपरीत अवैज्ञानिक, असमान र बलजफती समायोजन गरेको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

यस्तै अहिलेको समायोजनले चिकित्सकको अध्ययन र वृत्ती विकासमा समस्या आउने उनीहरुको गुनासो छ । सरकारी चिकित्सक संघलाई आयुर्वे्दिक चिकित्सक संघ, नेपाल चिकित्सक संघ लगायतले पनि समर्थन गरेका छन् ।

यसैबीच सरकारले चैत १४ गतेको मन्त्रिपरिषद बैठकमार्फत अत्यावाश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने भन्दै राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय बिहीबारमात्रै सार्वजनिक गरिसकेको छ ।

सरकारको निर्णय अनुसार टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स, औषधि उत्पादन, फोहोर मैला व्यवस्थापन, विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा अबदेखि हड्ताल गर्न नपाइने व्यवस्था छ ।


  •  
  •  
  •