सरकारले राउतसँग गरेको ११ बुँदे सम्झौता प्रति डा. भट्टराईको असन्तुष्टि

351
  •  
  •  
  •  

राजविराज, २७ फागुन (ओएनएस) : नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले सिके राउतसँग गरेको ११ बुँदे सम्झौता प्रति असन्तुष्टि जनाएका छन् ।

सहमतिको २ नम्बर बुँदा स्पष्ट पार्न नसके त्यसले मुलुकमा फेरी अर्को द्वन्द्वको बीउ रोप्ने उनले चेतावनी समेत दिएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न सोमबार सप्तरी आएका भट्टराईले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘११ बुँदे सहमतिमा धेरै अस्पष्टता छन् । २ नं बुँदामा जनअभिमतमा आधारित लोकतान्त्रिक तरिकाले समस्याको समाधान गर्ने भनिएको छ, त्यसलाई सिके राउतपक्षले जनमत संग्रहको अर्थमा बुझेको र अथ्र्याइरहेको छ । सरकार होईन भन्छ ।’

संविधान अनुसार राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ताको विकल्प खोज्न नसकिने भन्दै भट्टराईले दुई विषयमा जनमत संग्रह नहुने पनि प्रष्ट पारे ।

वार्तामार्फत् समस्या समाधान गर्नु सकारात्मक पक्ष भएपनि दोहोरो व्याख्या हुने खालको सम्झौता गर्नु सरकारको कमजोरी भएको भट्टराईले सुझाए ।

बरफलाई चिसो र तातो भन्दै अर्थ लगाउने प्रयास थालिएकाले सम्झौतामा खेल्ने ठाउँ उत्पन्न भएको उनको भनाइ छ ।

तत्कालीन माओवादी पार्टी जनयुद्ध छोडेर शान्ति प्रक्रियामा आउँदा प्रचण्डले त्यसैगरी अर्थ लगाउनाले पार्टीलाई घाटा भएको स्मरण गर्दै उनले भने,‘प्रचण्डले शान्ति सम्झौतालाई मुखमा शान्ति प्रक्रिया हो, भित्र चाँहि विद्रोह हो भन्दै व्याख्या गर्दा पार्टिलाई घाटा भएको थियो ।’


  •  
  •  
  •