सरकार सफल संघीय लोकतान्त्रिक दिशामा : मन्त्री पण्डित

240
  •  
  •  
  •  

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार संविधानअनुसार ऐन, कानून बनाउँदै सफल संघीय लोकतान्त्रिक दिशामा संघ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध स्थापित गर्दै अघि बढिरहेको बताएका छन् ।

फाइल तस्बिर

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले भने, ‘हामी आईपरेका समस्याहरु समाधान गर्दै अघि बढिरहेका छौं । नयाँ परिवर्तन तुरुन्तका–तुरुन्त सबै कुरा एकैचोटी हुँदैन । यसको लागि समय लाग्छ । रातारात सबै काम हुँदैन ।’

उनले आर्थिक वृद्धि र प्रशासनिक काममा ईतिहासमै फड्को मारेको समेत दाबी गरे । त्यस्तै उनले प्रशासनिक रुपमा पनि अति छिटो काम भएको बताए ।

उनले भने, ‘कर्मचारी समायोजनको कुरा भन्नुहोस् वा सांगठनिक संरचना निर्माण गर्ने कुरा, हामीले द्रुत गतिमा काम गरिरहेका छौं ।’

मन्त्री पण्डितले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिमार्फत निर्णय गर्नुपर्दा कतिपय विषयमा केही समय लाग्ने सुनाए ।

उनका अनुसार कतिपय कानून संघीय संसदमा पुगेको, कतिपय छलफलको क्रममा रहेको र कतिपय कानूनहरु मस्यौदाको प्रक्रियामा रहेका छन् ।

मन्त्री पण्डितले स्थानीय, प्रदेश र संघ तीनवटै तहबीच अन्तरसम्बन्ध रहेकोले कानुन निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले विश्वका कुनै पनि मुलुक जो केन्द्रात्मकबाट संघात्मक व्यवस्थामा जाँदा नेपालले जस्तो तिव्र गतिमा काम गरेको ईतिहास नभएको जिकिर गरे ।

उनले कर्मचारी समायोजनको बाँकी काम र पदस्थापनको काम पनि आवश्यकत्ताअनुसार हुँदै जाने बताए । उनले भने, ‘आवश्यकतालाई ध्यानमा राखेर हामी अघि बढ्छौं ।’

उनले अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सक्रिय रुपमा काम गरेको अवस्था सुनाए ।
मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीहरुको सम्पत्ति विवरण पनि बुझाउनुपर्ने कुरामा अहिले छलफल भैरहेको सुनाए ।

फरक प्रशंगमा मन्त्री पण्डितले गौहत्या भएको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताए ।


  •  
  •  
  •