सरकारको ध्यानाकर्षण

78
  •  
  •  
  •  

काठमाडौं । कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको भ्याली इन्टिच्युटमा मृत्युको विषयमा प्रहरीले छानबिन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

शुक्रबारको राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले घटनाको छानबिन गर्नुपर्ने भन्दै गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका हुन् ।

बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले भने, ‘सुर्खेतको हरिसुन्दर जैसीका छोरा बालकृष्ण जैसीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिन गरेको छैन, म यस कुरामा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद श्रेष्ठका अनुसार जैसी कोरियन भाषा सिक्न बसेको भ्याली इन्टिच्युट कीर्तिपुरका सञ्चालकका छोरा हराएपछि जैसीलाई दोष लगाइएको थियो ।

प्रहरीले पक्राउ गरेर २४ घण्टा अुनसन्धान गर्दा आरोप लगाउने कुनै पनि आधार नभएको जनाएको थियो ।
विद्यार्थी जैसी निर्दोष छन् भनेर प्रहरीले छाडेको थियो ।
अनुसन्धानपछि प्रहरीले जैसीलाई गत साउन २७ गते छाडेको थियो । प्रहरीले छाडेको तीन दिनभित्र जैसीको एकाएक मृत्यु भएको थियो ।

परिवारले आरोपितको नाम राखेर प्रहरीमा किटानी जाहेरी दिँदा पनि छानविन गरेको छैन ।
सांसद श्रेष्ठले किटानी जाहेरी परेका व्यक्तिका बारेमा किन छानबिन हुन सकेन भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

बैठकमा सांसद बद्रीप्रसाद पाण्डेले बाजुराको गौरी गाउँमा तलको खोलामा बाढी गएर माथिबाट पनि पहिरो आएर गाउँनै पहिराको घेरामा परेकाप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद खेमराज नेपालीले मैथिली भाषा देशको एउटा भाषामात्र नभएर सभ्यता र संस्कृति भएको हुँदा नेपाल टेलिभिजनले दैनिक पाँच मिनेटको समाचार रोक्न लगाएकोप्रति ध्यानाकर्षण गराए ।

सांसद रामपृत पासवानले सिटिइभिटीले छात्रवृत्तिको नजिता प्रकाशन गरेर दलितको कोटामा गैरदलित विद्यार्थीको नाम निकालिएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद कमलाकुमारी ओलीले सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउन गरेको तयारीअनुसार ‘सुखी नेपाली र समृद्ध नेपाल’को अवधारणाअनुसार आगाडि बढाउनुपर्ने बताइन् ।

सांसद जीतेन्द्रनारायण देवले नेपाल–भारत सम्बन्धमा अहिले पनि १९५० को सन्धिकै बारेमा छलफल अगाडि बढिरहेको हुँदा सरकारले स्पष्टरुपमा आफ्नो धारणा राख्नुपर्ने बताए ।


  •  
  •  
  •