सरकारले बाढी, पहिरो पीडितलाई तत्काल राहत उपलव्ध गराउने

432
  •  
  •  
  •  

काठमाडौं । सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्धार र उपचारको लागि आवश्यक व्यवस्था मिलाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्धार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।

त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यस्तै बैठकले गृह मन्त्रालयले माहतका सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनर्निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको छ ।

सरकारले पीडितहरुको राहत, उद्धार र उपचारको काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेको छ ।
त्यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, सञ्चारलगायतका अति आवश्यकीय सेवा तत्काल सञ्चालन गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरेको छ ।

यस्तै बैठकले बाढी पहिरोको घटनापछि स्वतःस्फुर्त रुपमा उद्धार, राहत तथा उपचारमा खट्ने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थाहरुलाई पनि धन्यवाद दिएको छ ।


  •  
  •  
  •