सार्क गृहमन्त्रीहरुको बैठकमा पाकिस्तानी गृहमन्त्रीको सहभागिता नहुने

64
  •  
  •  
  •  

काठमाडौं १ असोज ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को गृहमन्त्री स्तरीय बैठकमा पाकिस्तानका गृहमन्त्री चौधरी निसर अलिखानको सहभागिता नहुने भएको छ । उनी पाकिस्तानको विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोको कारण आफू अनुपस्थित हुन नसकेको सन्देश आयोजक मुलुक नेपाललाई अन्तिम समयमा खवर गरेकेा गृहमन्त्रालय उच्चस्रोतले बतायो ।

बुधबार देखि आरम्भ हुने छैटौ सार्क गृहमन्त्री स्तरीय बैठकमा अन्य सदस्य मुलुकको सहभागिताको टुंगो लागि सकेर बैठक हुन एक दिन अघि पाकिस्तानको गृहमन्त्री सहभागी नहुने जानकारी आएको हो ।

‘उहाँ नआउने भए पनि गृहमन्त्री स्तरीय बैठक रोकिदैन उहाँको तर्फबाट कसैले प्रतिनिधित्व गर्नेछन । बैठकको प्रक्रिया बुधबार बाट शुरु भएपनि गृहमन्त्री कै स्तरको बैठक तीन गते भएकोले अझै पनि उहाँ आउन सक्ने सम्भावना छ,’ गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले कान्तिपुरसंग भने । उनले आफ्नो अख्तियारी गृहका सहसचिव वा यहाँ रहेका राजदूतलाई दिने सम्भावना रहेको छ ।

पाकिस्तान बाहेक अन्य सबै मुलुकका गृहमन्त्रीहरु सहभागी हुने बताइएको छ । भारतबाट राजनाथ सिंह विहीबार नै काठमाडौं आउने भएका छन् । गृहमन्त्री स्तरीय बैठक असोज ३ मा हुने छ । अघिल्लो दिन गृह सचिव स्तर र त्यसअघि असोज १ मा अध्यागमन प्रमुखहरुको बैठक हुनेछ । पाकिस्तानी दुतावासले पनि गृहमन्त्री बाढी प्रभावित क्ष्ाेत्रमा ब्यस्त रहन परेकोले आउन नसक्ने भएको जनाएको छ । अन्तिम समयसम्म पनि बैठकमा सहभागिता जनाउने प्रयास गृहमन्त्री अलिखानको हुने दूतावासका एक अधिकारीले बताए ।

बैठकको सबै एजेण्डा सार्क सचिवालयमा रहेका आठै मुलुक निर्देशकहरुले छलफल गरेर तयार गरेका छन् । गृह प्रवक्ता ढकालले भने, ‘बैठकको सबै एजेण्डा सचिवालयले तयार गरेको छ । हामी पनि छलफलमा लगातार सहभागी भएर तयार गरेका हौ । १६ बुदे एजेण्डा तय गरेको भए पनि बैठककमा अन्य प्रक्रिया गत भएकोले मुख्य १० विभिन्न बुदामा छलफल केन्दि्रत हुनेछ, गृहमा तयार डकुमेन्ट छ । बुधबार देखि हुने अध्यागमन अधिकारी बैठकमा खास गरि सार्कको साझा भिसा ब्यापारी र खेलाडीहरुलाई पनि दिन प्रावध्ाान राख्न प्रस्ताव गरिने भएको छ । यसअघि सरकारी अधिकारी, केही सिमिति पत्रकारहरुलाई मात्र यो भिसा दिने गरिएको थियो । सार्कको भिसा स्टिकर उपायोग गरेमा सबै सदस्य मुलुकमा जान सक्नेछन् ।

यसअघि भएका बैठकहरुको सहमतिको कार्यावन्यनको विषयमा समिक्षा हुनेछ । पछिल्लो समयमा एक मुलुकमा अपराध गरेर अर्को मुलुकमा लुक्न सम्ने अवस्था देखिएकोले त्यस्ता अपराधीलाई सबै सदस्य मुलुकमा तत्काल कारबाही गर्ने संयन्त्र तयार गर्ने लगायतका विषय रहेको गृहका एक अधिकारीले बताए । युद्ध अपराधमा हुने भ्रष्टचार, साइबर क्राइम, लागु औषध ओसारपसा नियन्त्रण, सीमा क्षेत्र हुने अपराध तथा उग्रवाद, महिला तथा बालबलिका ओसार पसार नियन्त्रण लगायतका विषय नै छलफलको मुख्य एजेण्डा रहेको ती अधिकारीले बताए । पहिलो पटक कुनै मुलुकमा ठगी गरेर अर्को मुलुकमा लुकेर बस्नेहरुलाई त्यहा पनि समाउने र त्यहीको कानुन अनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाउने जस्ता विषय पनि उठ्ने भएको छ ।

अर्को बैठकको टुंगो लगाउने र त्यसका लागि गरिने तयारीको विषयमा पनि छलफल हुनेछ । सामुदि्रक सुरक्षा, निजत्व तथा अध्यागमन सुरक्षा र नियन्त्रण लगायतको विषयमा पनि छलफल हुनेछ । आतंकबाद नियन्त्रण, मुद्राको अवैध ओसार पसार नियन्त्रणमा पनि छलफल हुने बताइएको छ । विमानस्थल र सीमा सुरक्षाको चुस्तताको बारेमा पनि छलफल हुनेछ ।
कान्तिपुरबाट


  •  
  •  
  •