सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत

325
  •  
  •  
  •  

काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत भएको छ ।

शनिबारको प्रतिनिधिसभा बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल शुरु हुनासाथ सांसद गिरी उठेर बोल्न खोजेकी थिइन् । तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले होहल्ला गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न समय दिएका थिए। प्रचण्ड रोस्ट्रमतिर जाँदै गर्दा सांसद गिरीले बोल्न खोजेकी थिइन्। सुरुमा सभामुख सापकोटाले संक्षिप्त धारण राख्न अनुमति दिए।  तर, नेकपा सांसदले होहल्ला गरेपछि सभामुखले गिरीको प्रस्ताव अस्वीकार भएको जानकारी गराउँदै बोल्ने अनुमति दिएनन्।

प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको उनले बताए । नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ । आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भएपछि सांसद गिरी बैठकबाट बाहिरिएकी छिन् ।

निशान छापमा प्रयोग भएको नेपालको नक्सामा लिम्पियाधुरा, गुटी, गुञ्जी, नावीलगायतका क्षेत्र समेट्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले उक्त संशोधनलाई नै खारेज गर्नुपर्ने संशोधन दर्ता गराएकी थिइन्।

उनले बुधबार विधेयक शाखामा दर्ता गराएको संशोधनमा ‘स्रोत र प्रमाण नपुर्‍याएकाले’ विधेयकको दफा २ नै खारेज हुनुपर्ने प्रस्ताव गरेकी छिन्।


  •  
  •  
  •