अध्यक्ष दाहालद्वारा पूर्वसांसद पण्डितप्रति श्रद्धाञ्जलि

677
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दिवंगत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको पार्थिव शरीरमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार अध्यक्ष दाहालले पण्डितको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

त्यसक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायत नेता तथा कार्यकर्ताले पुष्पगुच्छा चढाइ श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

फागुन २१ गते नुवाकोटको एक पूजा कार्यक्रममा सरिक हुन जाने क्रममा हृदयघातबाट गम्भीर भएका ७२ वर्षीय पण्डितको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।
दिवंगत नेता पण्डितका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

उनी पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्यसमेत थिए । विसं २०४८ को आमनिर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी असल शिक्षक र संगठकका रूपमा परिचित थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए । पछिल्लो समय उनी पार्टीमा निष्क्रिय थिए ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।


  •  
  •  
  •