तालिबानको डरले अमेरिकामा सार्क बैठक स्थगन

89
  •  
  •  
  •  


एजेन्सी । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) को ७६ औं महासभाका क्रममा गर्ने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को परराष्ट्र मन्त्रीस्तरीय अनौपचारिक बैठक रद्द गरिएको छ।
अफगानिस्तानबाट तालिबान प्रतिनिधि आउने सक्ने सन्त्रासले तय भइसकेको बैठक स्थगन गरिएको हो। अफगानिस्तान पनि सार्कको सदस्य मुलुक हो।
सार्क सचिवालयले भने सदस्य मुलुकबीच सहमति नजुटेकाले बैठक रद्द गरिएको दाबी गरेको छ। तर सहमति नहुनाको कारण खुलाइएको छैन।
हाल सार्कको अध्यक्ष राष्ट्र नेपाल हो। नेपालले यही असोज ९ गते मन्त्रीस्तरीय बैठक राख्ने प्रस्ताव गर्दै अफगानिस्तानबाहेक सार्कका अन्य सदस्य राष्ट्रलाई निमन्त्रणा गरेको थियो।
बुधबार मात्र तालिबानले राष्ट्र संघका लागि अफगानिस्तानका तर्फबाट नयाँ राजदूतका रूपमा सुहेल शाहिनलाई पठाएको छ भने महासभामा बोल्न पाउनुपर्ने भन्दै पत्राचार गरिसकेको छ।

यसपछि अफगानिस्तानमा तालिबानको सरकार बनेकामा असन्तुष्ट भारतसहितका सार्क सदस्य राष्ट्रले बैठकमा न्युयोर्कस्थित तालिबान कूटनीतिक प्रतिनिधि निम्तो नभए पनि आए भने के गर्ने भनेर नेपालसँग सोधेका थिए।

यस विषयमा नेपालले आफ्नो भूभागमा भए रोक्न सकिन्थ्यो तर अमेरिकामा भन्न सकिन्न भन्ने जवाफ दिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसपछि सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक रद्द गरिएको हो। बैठक न्युयोर्कको एक होटलमा गर्ने भनिएको थियो।

गत अगस्ट १५ मा राजधानी काबुल कब्जा गर्दै तालिबान संगठनले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको हो। त्यहाँ उसले आफ्नो सरकारसमेत घोषणा गरिसकेको छ।


  •  
  •  
  •