जो नेपालका बिशिष्ट पाहुना बन्दै छन्

268
  •  
  •  
  •  

मंसिर १० र ११ गते काठमाडौंमा हुन गइरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सबै आठ सदस्य राष्ट्रका सरकारप्रमुखको सहभागिता रहनेछ । नेपालले आयोजना गर्ने यो शिखर सम्मेलनमा सातवटा देशका सरकारप्रमुख अतिथिका रूपमा नेपाल आउनेछन् । सबैजसो सरकारप्रमुखको यो सार्क शिखर सम्मेलनमा पहिलो सहभागिता हुनेछ । यो शिखर सम्मेलनमा सहभागी हुन आउने बाह्य सात राष्ट्रका सरकारप्रमुखको सत्तारोहण तथा व्यक्तिगत आयामबारे विविध जानकारी :

नरेन्द्र मोदी, प्रधानमन्त्री, भारत

modi
१७ वर्षसम्म भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको अवस्थामा नरेन्द्र मोदीले प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै नेपाल भ्रमण गरेका थिए । बाल्यकालमा उनी हिमालय क्षेत्रतिर ज्ञानको खोजीमा हिँडेको उनी स्वयंले बताए पनि हिमालय क्षेत्रतिर भौँतारिने क्रममा उनी नेपाल आइपुगेका थिए वा थिएनन् भन्नेबारे उनले मुख खोलेका छैनन् ।

क्षेत्रीय दलहरू बलियो बन्दै गएकाले भारतमा स्पष्ट बहुमतप्राप्त पार्टीको स्थिर सरकार गठन हुन नसक्ने विश्लेषण सर्वत्र भइरहेका वेला मोदीको नेतृत्वमा निर्वाचनमा होमिएको भारतीय जनता पार्टी (भाजपा)ले बहुमत हासिल गरेको थियो । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि नेपाल आएका वेला यहाँको व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने क्रममा मोदीले सार्क सम्मेलनमा सहभागी हुन आफू पुन: नेपाल आउने जनाएका थिए ।

भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक (आरएसएस)को सदस्य भई राजनीतिक तथा सामाजिक अभियानमा होमिएका मोदीले पछि आफूलाई पूर्णत: राजनीतिमा केन्द्रित बनाएका थिए । प्रधानमन्त्री बन्नुअघि उनले भारतीय राज्य गुजरातको मुख्यमन्त्री पदमा ह्याट्रिक मारेका थिए । प्रधानमन्त्री भएलगत्तै सार्क राष्ट्रका सरकार प्रमुखहरूलाई आफ्नो सपथग्रहण कार्यक्रममा उपस्थित गराएर मोदीले सुरुमै आफ्नो कूटनीतिक चातुर्यको प्रमाण पेस गरेका थिए ।

सन् २००२ मा गुजरातमा भएको साम्प्रदायिक द्वन्द्वका कारण मोदीको आलोचना हुने गरेको छ । मोदी राज्यमन्त्री भएका वेला गुजरातमा दंगा भड्किएको थियो, जहाँ करिब दुई हजार मुसलमानको मृत्यु भएको थियो । हिन्दुहरूलाई मुसलमान समुदायविरुद्ध जाइलाग्न मोदीको राज्य सरकारले सहयोग गरेको भारतीय इतिहासका आधिकारिक अध्येताहरूले बताउँदै आएका छन् ।

नवाज सरिफ, प्रधानमन्त्री, पाकिस्तान

sarif
नवाज सरिफ पाकिस्तानका १८औँ प्रधानमन्त्री हुन् । पाकिस्तानको औद्योगिक घरानाका उनले यसअघि सन् १९९० देखि १९९३ सम्म र सन् १९९७ देखि १९९९ सम्म पाकिस्तानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । पाकिस्तानको अहिलेको सबैभन्दा ठूलो दल मुस्लिम लिग (एन) पार्टीसँग आबद्ध उनी पाकिस्तानको ठूलो औद्योगिक घराना इत्तेफाक ग्रुपका मालिक हुन् ।

पाकिस्तानअन्तर्गतको पञ्जाबी सहर लाहोरमा जन्मिएका उनी पाकिस्तानमा ‘पञ्जाबका सिंह’ उपनामले पनि चिनिन्छन् । दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको न्यायपालिका र सेनासँग मनमुटाब उत्पन्न भएको थियो । सेनाप्रमुख जेहानगिर कारामतलाई पदबाट हटाएर उनले उनको ठाउँमा परवेज मुसर्रफलाई ल्याए । तर, भारतसँग कार्गिल युद्धमा पाकिस्तान होमिएपछि प्रधानमन्त्री सरिफसँग मुसर्रफको द्वन्द्व उत्पन्न भयो । सरिफले मुसर्रफलाई सेनाप्रमुखबाट बर्खास्त गर्न खोजे । तर, मुसर्रफले उल्टै सरिफ सरकारलाई अपदस्थ गरेर शासनसत्ता आफ्नो हातमा लिए ।

मुसर्रफले मुलुकको शासन व्यवस्थाको बागडोर जनप्रतिनिधिको हातमा सुम्पिने निश्चय गरेपछि सरिफको सक्रिय राजनीतिको ढोका पुन: खुल्यो । सन् २०१३ मा भएको आमनिर्वाचनमा उनको पार्टी पहिलो भयो र उनी तेस्रोपटक प्रधानमन्त्री बन्न पुगे ।

 महिन्दा राजापाक्षे, राष्ट्रपति, श्रीलंका

mahendra-ajapashe
श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे दक्षिण एसियाका ‘बोल्ड’ नेतामा गनिन्छन् । श्रीलंकामा पृथक्तावादी नारासहित सशस्त्र विद्रोह सुरु गरेको तमिलभाषीहरूको समूह लिट्टेलाई हतियारका बलमा पेलेर उनले श्रीलंकामा २७ वर्ष लामो गृहयुद्ध समाप्त गरेका थिए । त्यसलगत्तै भएको निर्वाचनपछि उनी राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित हुन पुगे । उनी सन् १९७० मा पहिलोपटक सांसद बनेका थिए ।

राजापाक्षेले श्रीलंकाली सेनाको सेनाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । पेसाले अधिवक्ता उनी सन् २००५ मा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित हुनुअघि श्रीलंकाका प्रधानमन्त्री थिए । सन् २००४ मा भएको संसदीय निर्वाचनमा श्रीलंकाको युनाइटेड पिपल्स फ्रिडम एलायन्स गठबन्धनले बहुमत हासिल गरेपछि गठबन्धनका नेता राजापाक्षे प्रधानमन्त्री बनेका थिए । त्यतिवेला उनले राजमार्ग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए । सन् २००५ मा भएको राष्ट्रपति निर्वाचनले राजापाक्षेको पार्टी श्रीलंका फ्रिडम पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनायो । यसपटक पनि उनी विजयी भए ।

राष्ट्रपति बनेपछि राजापाक्षेले रक्षा र अर्थजस्ता महत्त्वपूर्ण मन्त्रालय पनि आफैँ सम्हाले । त्यसपछि उनले लिट्टे समस्याको सैन्य समाधान खोज्ने काम गरे । अन्त्यमा सेनाको कारबाहीमा परी लिट्टे प्रमुख प्रभाकरणको मृत्यु भएपछि श्रीलंकामा गृहयुद्ध समाप्त भएको औपचारिक घोषणा गरियो । गृहयुद्ध समाप्त गरेपछि बौद्ध धर्मावलम्बी राजापाक्षे लुम्बिनी भ्रमणका लागि नेपाल
आएका थिए ।

असरफ घानी, राष्ट्रपति, अफगानिस्तान

Ashraf-Ghani
अफगान राष्ट्रपति असरफ घानी अफगानिस्तानमा कहलिएका अर्थशास्त्री र मानवशास्त्री पनि हुन् । सेप्टेम्बर २१, २०१४ मा राष्ट्रपति बन्नुअघि उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए । उनले काबुल विश्वविद्यालयको कुलपतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

सन् २००२ मा अफगानिस्तान फर्किनुअघि घानी विश्वबैंकका जागिरे थिए । अफगानिस्तान फर्किनासाथ उनले अफगान मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए । सन् २००२ देखि २००४ सम्म उनले अर्थमन्त्री भएर काम गरेका थिए । पश्चिमी मुलुकसँग ज्यादै निकट सम्बन्ध भएकै कारण उनले एकाएक अर्थमन्त्री र राष्ट्रपतिजस्तो उच्च ओहोदाको पद हासिल गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

राष्ट्रपति घानी राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय नियोगको सहयोगमा सञ्चालित विभिन्न सामाजिक अभियानमा आबद्ध छन् । सन् २०१३ मा फोरेन पोलिसी र प्रोस्पेक्ट म्यागजिनले संसारका ‘टप हन्ड्रेड’ बुद्धिजीवीको सूचीको दोस्रो स्थानमा घानीलाई राखिएको थियो । उनीभन्दा अगाडि प्रसिद्ध लेखक रिचार्ड डकिन्स थिए ।

 शेख हसिना, प्रधानमन्त्री, बंगलादेश

Sheikh-Hasina

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले यसअघि एक कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् । सन् २००९ मा प्रधानमन्त्रीका रूपमा दोस्रोपटक निर्वाचित हुनुअघि उनले सन् १९९६ देखि २००१ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

उनी बंगलादेशको सत्तारुढ पार्टी बंगलादेश अवामी लिगकी मूल नेतृ हुन् । सन् १९८१ यता उनी लिगलाई नेतृत्व गर्दै आएकी छिन् । बंगलादेशका संस्थापक तथा पूर्वराष्ट्रपति शेख मुजिबुर रहमानका पाँच सन्तानमध्ये हसिना जेठी हुन् । त्यस्तै उनी पारमाणविक मामिलाका वैज्ञानिक एमए वाजेद मियाकी विधवा  हुन् ।

करिब चार दशक लामो राजनीतिक जीवनमा हसिनाले सत्ता तथा विपक्षमा रहेर राजनीतिको केन्द्रमा आफूलाई सक्रिय बनाइरहेकी छिन् । विपक्षी दलको नेतृ रहेका वेला उनीमाथि सन् २००४ मा ज्यान लिने अभिप्रायले सांघातिक हमला भएको थियो । त्यस्तै बंगलादेशमा सेनाको आडमा स्थापना भएको कामचलाउ सरकारले सन् २००७ मा उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो ।

सन् २००६ देखि २००८ सम्म बंगलादेशमा विद्यमान राजनीतिक संकट समाधान भएपछि सन् २००८ मा हसिनाको दल आम निर्वाचनमा होमिएको थियो । सोही निर्वाचनले उनलाई दोस्रोपटक प्रधानमन्त्रीको पदमा पुर्‍याएको हो । त्यसपछि सन् २०१४ मा भएको अर्को आम निर्वाचनमा उनी तेस्रोपटक प्रधानमन्त्री पदमा पुगेकी थिइन् । सन् २०१४ मा भएको आम निर्वाचनलाई बंगलादेशका प्रमुख प्रतिपक्षी दलहरूले बहिष्कार गरेका थिए । अमेरिकी म्यागजिन फोब्र्सले उनलाई संसारका सय शक्तिशाली महिलाको सूचीमा ४७औँ स्थानमा राखेको छ ।

 अब्दुल्ला यामिन, राष्ट्रपति, माल्दिभ्स

abdulla yameen

माल्दिभ्सका छैटौँ राष्ट्रपति अब्दुल्ला यामिन सार्क सम्मेलनमा सहभागी हुन नेपाल आउँदै छन् । सन् १९९३ यता लगातार सांसद बन्दै आएका उनी सन् २०१३ मा भएको निर्वाचनपछि राष्ट्रपति बनेका हुन् ।

सन् २०१० मा उनले पिपल्स एलायन्स पार्टी परित्याग गरी प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्सको सदस्यता लिएका थिए । त्यसपछि उनले प्रोग्रेसिभ पार्टीको संसदीय दलको नेताका रूपमा जिम्मेवारी सम्हालेका थिए । यतिकैमा पार्टीले सन् २०१३ मा भएको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनायो, जसमा उनी विजयी भए ।

राजनीतिमा सक्रिय परिवारमा जन्मिएका कारण अब्दुल्लाहलाई राजनीतिमा भिज्न सहज भएको थियो । उनका बाबु कुनै समय माल्दिभ्सका महान्यायाधिवक्ता थिए । त्यस्तै उनका दाजु मउमुन अब्दुल गायोमले सन् १९७८ देखि २००८ सम्म माल्दिभ्समा राष्ट्रपति पदको जिम्मेवारी सम्हालेका थिए ।

अब्दुल्लाहले लेबनानको सहर बेरुतबाट उच्च शिक्षा हासिल गरेका छन् । अमेरिकन युनिभर्सिटी अफ बेरुतबाट बिजनेसन एडमिनिस्ट्रेसनमा स्नातक गरेका उनले अमेरिकामा गएर अध्ययनलाई अझ बढाएका थिए । अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको क्लारेमोन्ट ग्रयाजुएट युनिभर्सिटीबाट उनले पब्लिक पोलिसीमा स्नातकोत्तर गरेका छन् ।

 छिरिङ तोब्गे, प्रधानमन्त्री, भुटान

tobgey-bhutan

छिरिङ तोब्गे सन् २०१३ मा भुटानको प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन् । भुटानको पिपल्स डेमोक्रेटिक पार्टीका नेतासमेत रहेका उनी प्रधानमन्त्री बन्नुअघि विपक्षी दलका नेता थिए । भुटानको राष्ट्रिय सभामा सन् २००८ देखि २०१३ सम्म उनले प्रतिपक्षी दलको प्रमुख नेता भएर काम गरेका थिए । उनी पिपल्स डेमोक्रेटिक पार्टीका सहसंस्थापक हुन् । उनको दल भुटानको निर्वाचन आयोगमा दर्ता भएको पहिलो दल हो ।

तोब्गेले अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेका थिए । त्यसपछि उनले अमेरिकाकै हवार्ड विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका थिए । विद्यालयस्तरको शिक्षा उनले भारतीय सहर कालिम्पोङमा लिएका थिए ।

राजनीतिमा लाग्नुअघि उनी भुटानका सरकारी कर्मचारी थिए । उनले सन् १९९१ मा शिक्षा मन्त्रालयको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी काम गर्ने विभागमा काम सुरु गरेका थिए । मन्त्रालयमातहत नेसनल टेक्निकल ट्रेनिङ अथोरिटी स्थापना गरेर उनले यसको नेतृत्व गरेका थिए । सन् २००३ देखि २००७ सम्म उनले भुटानको श्रम तथा मानव संसाधन मन्त्रालयको निर्देशक भएर काम गरेका थिए । त्यसपछि उनले आफूलाई राजनीतिमा सक्रिय गराएका थिए ।

काठमाडौंमा हुन लागेको सार्क सम्मेलनलाई लिएर तोब्गेले ठूलो उत्साह व्यक्त गरेका छन् । ‘म पहिलोपटक सार्क सम्मेलनमा सहभागी हुन लागेको हो । अन्य सदस्य राष्ट्रका नेताहरूसँग भेट्न पाइने भएकाले म ज्यादै उत्साहित भएको छु,’ हालै प्रकाशित एउटा अन्तर्वार्तामा उनले भनेका छन् ।  नयाँपत्रिका


  •  
  •  
  •