काठमाडौं ७ मंसिर ।
सार्क सम्मेलनमा आउने विशिष्ट पाहुनाका लागि सरकारले उच्च गुणस्तरका ड्युटी फ्री (भन्सार छुट) मदिरामा विशेष छुट दिने भएको छ। विशिष्ट पाहुन र राजधानीस्थित कूटनीतिक नियोगका अधिकारीलाई उच्चस्तरका मदिरा खरिदमा सरकारले १५ प्रतिशत छुट दिन लागेको हो।
नेसनल ट्रेडिङ लिमिटेडले विशिष्ट पाहुनाका लागि शनिबारदेखि आगामी सोमबारसम्म यो छुटको व्यवस्था गरेको छ। यसअघि ड्युटी फ्रीमा आएको मदिरा सोही सुविधाअन्तर्गत रकम लिएर उपलब्ध गराउने व्यवस्था थियो।
नेसनल ट्रेडिङका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले भने, ‘सार्क सम्मेलनमा आउने विशिष्ट पाहुनाका लागि विशेष व्यवस्था गरिएको हो। यस्तो छुट सम्मेलनमा सहभागी हुन आएका पाहुना तथा कूटनीतिक नियोगका पदाधिकारीले मात्रै पाउनेछन्।’
नेसनल ट्रेडिङले यस्तो सुविधा रामशाहपथस्थित ‘बन्डेड वेयर हाउस तथा ड्युटी फ्री सप सेन्टर’ मार्फत उपलब्ध गराउनेछ।
उनका अनुसार पाहुनालाई मदिराको अभाव हुन नदिन उनीहरूले बढी रुचाएका र महँगा विभिन्न ब्रान्डका मदिरा मगाइएको छ। विशिष्ट पाहुनाका लागि खाडी मुलुक दुबईबाट उच्चस्तरका मदिरा ‘अर्डर’ गरिएको निमित्त महाप्रबन्धक मेहताले बताए।
उनका अनुसार दुबईबाट प्रतिदिन एउटा प्लेनमा ३० भन्दा बढी मदिराको क्रेट ल्याउन लागिएको छ। एउटा क्रेटमा १२ वटा बोतल हुन्छन्। ‘पाहुनालाई अपुग नहुने गरी आइतबारदेखि विभिन्न ब्रान्डका ह्विस्की, रम, वाइन र ब्रान्डी काठमाडौं भित्र्याउने क्रम सुरु हुन्छ’, उनले भने।
नेसनल ट्रेडिङले दुबईबाट रेड लेबल, ब्ल्याक लेबल, ब्लु लेबल, याट ६९, १०० पाइपर, ह्याकी बेनिस्टर, लर्डस किंगलेज, टिचर्स, लिजन भि सप, ब्लाइन्टाइन, सिग्नेचरसहित ब्रान्डी, वाइन र भोड्का मगाउन लागेको हो। दुबईबाट ल्याउन लागिएको मदिराका परिमाण र मूल्यबारे भने मेहताले बताउन मानेनन् ।
उनका अनुसार ‘बन्डेड वेयर हाउस तथा ड्युटी फ्री सप सेन्टर’ मा अहिले यस्ता ब्रान्डसहित केही अन्य ब्रान्डका करिब आठ करोड मूल्यबराबरको मदिरा मौज्दात छ। ‘बढी चल्ने मदिरा केही कम भएकाले त्यही ब्रान्डका बढी मगाउँदैछां’, उनले भने।
नेसनलले साबिकबमोजिमकै प्रक्रियाअनुसार यस्ता मदिरा बिक्री गर्ने जनाएको छ। अहिलेसम्मको प्रक्रियाअनुसार कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालयमा मदिरा उपलब्ध गराइदिन पत्राचार गर्छन्। परराष्ट्र मन्त्रालयले उक्त पत्र आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाउँछ। भन्सारले कागजपत्र हेरेर नेसनल ट्रेडिङलाई सिफारिस गरेपछि कूटनीतिक नियोगले चाहेअनुसारको परिमाणमा ड्युटी फ्री सुविधाअन्तर्गतको मदिरा खरिद गर्न पाउँछन्।
मेहताका अनुसार ड्युटी फ्री मदिरा खरिद गर्ने मुलुकको सूचीमा भारतीय दूतावास पहिलो नम्बरमा आउँछ। भारतीय दूतावासले एकदुई दिनको फरकमा ३० हजार मूल्यभन्दा बढीको मदिरा खरिद गर्ने गरेको उनले जानकारी दिए। उनले भने, ‘भारतपछि बंगलादेश, चीन, जापान, नर्वेलगायतका मुलुकले मदिरा खरिद गर्दै आएका छन्।’
उनका अनुसार विदेशी दूतावासले सबैभन्दा बढी रेड लेबल, ब्ल्याक लेबल, भ्याट ६९, १०० पाइपरलगायतका मदिरा अत्यधिक रुचाउँदै आएका छन्। अमेरिकी दूतावासले भने बाहिरैबाट खरिद गर्छ। अन्नपूर्णपोष्ट