सार्क सम्मेलनताका रानी ऐश्वर्य रिसाएको क्षण

1400
  •  
  •  
  •  

Queen-Aishwarya

भारतको बेङलोरमा २०४३ सालमा सार्क शिखर सम्मेलन थियो । सम्मेलनपछि सरकारहरू (राजा वीरेन्द्र र रानी ऐश्वर्य) बाट तिरुपति बालाजी (वेङ्कटेश्वर) दर्शन गर्ने कार्यक्रम थियो ।  सार्क शिखर सम्मेलन र तिरुपति सवारीका लागि समेत सुरक्षा व्यवस्था मिलाउन मलाई खटाइएको थियो । त्यस अनुसार शाही नेपाली सेनाको एभ्रो जहाजसहित अग्रिम टोलीको नेतृत्व गर्दै दुई दिनअगाडि म बेङलोर पुगेको थिएँ । त्यो बेला तिरुपतिमा ठूलो विमान अवतरण गर्न सक्दैनथ्यो । अन्य वायुसेवाहरूको उडान तालिका समेत मिलाउन सकिएन ।

त्यसैले यहीँबाट एभ्रो जहाज लिएर जानुपरेको थियो । सार्क शिखर सम्मेलनपछि सरकारहरूको तिरुपतिको कार्यक्रमका लागि सुरक्षा टिम र नयाँ दिल्लीस्थित शाही नेपाली राजदूतावासमा कार्यरत प्रथम सचिव जनकबहादुर सिंह सहित म सवारीको अघिल्लो दिन मोटरमा तिरुपति गएँ । बेङलोरबाट त्यहाँ पुग्न छ–सात घण्टा लाग्यो । बेलुका भइसकेको थियो । त्यसभन्दा करिब १५ दिनपहिले नयाँ दिल्लीबाट शाही नेपाली राजदूत जगदीशशमशेर जबराले आफैँ तिरुपति गएर कार्यक्रम तय गरी राजदरबारलाई जानकारी गराउनुभएको थियो । त्यहाँको चलन अनुसार तिरुपति बालाजीमा भक्तजनद्वारा प्रत्यक्षत: कुनै पूजाआजा नहुने, दर्शन मात्र हुने रहेछ । पूजा गर्न चाहनेले अर्कै स्थानमा रहेको मण्डपमा सम्पूर्ण पूजा सामग्री सहित पूजा गर्नुपर्ने प्रचलन रहेछ । राजदूतद्वारा सोही अनुसार कार्यक्रम तय गरेर काठमाडौँमा जाहेर भएको थियो । हामी त्यहाँ पुगेपछि उक्त मण्डपमा पूजा गर्न समय लाग्ने बताउँदै त्यहाँ महाराजाधिराजले समेत धोती लगाएर मात्र पूजा गर्नुपर्ने जानकारी दिइयो ।

यस्तै समस्या पहिले केरलास्थित गुरु वायुवर मन्दिरमा पनि भएको थियो । धोती लगाएर मात्र मन्दिरभित्र जान मिल्ने भएका कारण महाराजाधिराजबाट मन्दिरबाहिरैबाट दर्शन गरिबक्सेको थियो । तिरुपतिमा पनि सरकारलाई सार्वजनिक स्थानमा, त्यो पनि विदेशी भूमिमा पूजाका लागि भनेर धोती पहिर्‍याउने कुरा हुँदैनथ्यो । तिरुपतिमा टेलिफोनको राम्रो प्रबन्ध नभएका कारण यसबारे सरकारहरूमा खबर गरी के गर्ने भनेर निर्देशन लिन सक्ने अवस्था पनि भएन । त्यसैले तिरुपतिका पुजारीहरूको सल्लाह बमोजिम सरकारबाट दर्शन मात्र गर्ने र मन्दिरको ट्रस्टका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम तय भयो ।

भोलि पल्ट सरकारहरूको सवारी एभ्रो विमानबाट तिरुपति विमानस्थलमा भयो । त्यहाँ ट्रस्टका तर्फबाट सरकारहरूको भव्य स्वागत भयो । मन्दिर परिसरसम्म मोटरमा सवारी चलाइयो । त्यहाँ पनि राम्रो स्वागत–सत्कार भयो । सरकारहरूलाई तिरुपति बालाजीको दर्शन गराइयो । त्यसपछि विश्राम तथा लन्चका लागि स्थानीय होटलमा सवारी चलाइयो । एयरपोर्टमै मैले कार्यक्रमबारे सामान्य बिन्ती चढाएको थिएँ ।

सरकारहरू होटलमा सवारी भएपछि सुरुमा प्रमुख निजी सचिव नारायणप्रसाद श्रेष्ठसँग कुरा गरिबक्स्यो । एकै छिनमा उहाँ रातो मुख लगाएर बाहिर निस्कनुभयो र मलाई ‘सरकारबाट भित्र बोलाइबक्सेको छ’ भन्नुभयो । म भित्र पुगेको मात्र थिएँ, बडामहारानीबाट ‘मण्डपमा हुने भनिएको पूजा कहाँ हुन्छ ?’ भनेर रिसाएको स्वरमा सोधिबक्स्यो । मैले ‘सरकार, महाराजाधिराज सरकारबाट धोती पहिरिनुपर्ने भएका कारण मण्डपको पूजा स्थगन गरियो, यहाँका पुजारीले पनि दर्शनको मात्र कार्यक्रम राख्न सुझाव दिए, यो जानकारी टेलिफोन समस्याका कारण समयमा जाहेर गर्न सकिएन’ भनी बिन्ती चढाएँ ।birendra raja

त्यसपछि बडामहारानीबाट धाराप्रवाह मलाई तथानाम गाली गरिबक्स्यो । मलाई बोल्ने मौका पनि बक्सेन । झन्डै १५ मिनेटजति मैले गाली खाएँ । महाराजाधिराजले एक शब्द पनि बोलिबक्सेन । मैले बोल्ने मौका पाउनासाथ ‘सरकार, यहाँको कार्यक्रम मिलाउन पहिले राजदूत आउनुभएको थियो, उहाँले सबै कुरा जानकारी गराउनुपथ्र्यो’ भन्नसम्म भ्याएँ ।

त्यसपछि अर्को १० मिनेट बडामहारानी सरकारको गाली खाएँ । मौसुफ चुप लागेको मौका पारी म बाहिर निस्केँ । त्यसपछि राजदूत जगदीशशमशेरको भित्र जाने पालो आयो । उहाँले पनि अर्को १० मिनेट गाली खानुभएछ । त्यसपछि उहाँ पनि रातो मुख लगाएर निस्कनुभयो । यसपछि सरकारहरूबाट लन्च ज्युनार भयो ।

लन्चपछि तिरुपति बालाजीको ट्रस्ट सम्बन्धमा त्यसका पदाधिकारीहरूबाट सरकारहरूमा विस्तृत रूपमा जाहेर भयो । त्यस बेला उक्त ट्रस्टको ५४ करोड भारतीय रुपैयाँ बैङ्कमा बचत थियो । ट्रस्टबाट मेडिकल, इन्जिनियरिङ, कृषि कलेजहरू समेत चलाइएको जानकारी पाइयो । त्यस बेला र सम्भवत: आजसम्म पनि तिरुपति बालाजी भारतका मन्दिरहरूमा सबैभन्दा धनी मानिन्छ । छलफलका क्रममा पनि बडामहारानीबाट पूजाको प्रसङ्ग उठाइबक्स्यो ।

त्यस बेला मूलपुजारीले के जवाफ दिनुभयो भने, ‘भगवान्को मन्दिरमा गएर दर्शन गर्नु भनेको शिर झुकाएर भगवान्प्रति समर्पित छु भनेको हो । यो नै सबैभन्दा ठूलो कुरा हो । अन्य पूजाआजा, धूप, दीप, नैवेद्य भन्ने कुराहरू तपसिलका हुन् । यहाँ आएर दक्षिणा चढाउने हो भने धेरै किसिमका योजनाहरू छन् । त्यस अनुसार नगद र जिन्सी चढाउन सकिन्छ ।’ त्यस बेला सरकारहरूबाट दुई वटा असर्फी र केही रकम चढाउनलाई बक्स्यो । त्यसपछि बल्ल बडामहारानी सरकारको रिस शान्त भएको जस्तो लाग्यो ।

तिरुपतिमा गाली खाएको दिन म यति अघाएँ कि बेलुकी बेङलोर नपुगेसम्म मलाई पानी पनि खान मन लागेन । विदेशी भूमिमा त्यस किसिमको गाली खानुपर्दा स्वाभाविक रूपले नमज्जा हुने नै भयो । जे होस्, नेपाल फर्केपछि महाराजाधिराजबाट पशुपति विकास कोष स्थापना गरिबक्स्यो । कोषको पहिलो अध्यक्ष बडामहारानी सरकार स्वयं होइबक्स्यो ।

यो भने तिरुपति भ्रमणको सकारात्मक र सुखद पक्ष थियो । दुर्भाग्यवश, जस्तो परिकल्पना गरेर पशुपति विकास कोष स्थापना गरिएको हो, पञ्चायतको समाप्तिले त्यो सार्थक हुन सकेन । बहुदलीय प्रजातन्त्रपछि त यो कोष राजनीतिक दलहरूका नेता तथा कार्यकर्ताको जागिर खाने थलोमा परिणत भएको छ ।

 

पूर्वरथी विवेककुमार शाहको ‘मैले देखेको दरबार’बाट


  •  
  •  
  •