सार्कका लागि ११ लाखका गमला

461
  •  
  •  
  •  

काठमाडौं ३० कात्तिक ।
काठमाडौं महानगरपालिकाले सार्क सम्मेलनमा आउने पाहुनालाई हरियाली र सुन्दर सहर देखाउन व्यस्त फुटपाथमा गमला राखेको छ। सार्कका पाहुना हिँड्ने सडकमा हरियाली देखाउन माइतीघरदेखि होटल सोल्टीसम्म बिरुवासहितका सिमेन्टका गमला राखिएको हो।

महानगरले यी गमलाको मूल्य प्रतिगोटा एक हजार नौ सय ७४ रुपैयाँ र यसमा रोपिएका बिरुवाको मूल्य तीन सय ७८ रुपैयाँ तिरेको छ। माइतीघरदेखि त्रिपुरेश्वर हुँदै कालीमाटी र त्रिपुरेश्वरदेखि सुन्धारासम्मको यात्रा गर्दा फुटपाथका दुवैतर्फ कमेरो रंग लगाइएका गमला र बिरुवा देख्न सकिन्छ। सिमेन्टले बनेका यी गमला टाढाबाट हेर्दा माटोले बनेका भक्तपुरे कलात्मक गमला हुन् कि भन्ने भान पर्छ।

महानगर सार्क तयारी समितिका सदस्य सचिव तथा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले सुन्दर तथा हरियालीका लागि गमला राखिएको बताए। उनका अनुसार पाँच सय गमला पाहुना हिँड्ने बाटोमा बिरुवासहित राख्न लागिएको छ।

यी गमला एकान्तकुनामा रहेको ललित कलाकेन्द्रले बनाएको हो। केन्द्रका सञ्चालक महेश राजवंशीले महानगरपालिकाले अन्तिम समयमा गमला बनाउन दिएकाले कामको निकै चटारो भएको बताए। केन्द्रमा कामदार र राजवंशी आफैं पनि गमला बनाउन व्यस्त थिए। ‘सुक्न नभ्याउँदै महानगरपालिकाको गाडी आएर लैजान्छ’, उनले भने।

महानगरपालिकाले गमलाका लागि नौ लाख ८७ हजार रुपैयाँ खर्च गरेको छ। महानगरपालिकाले सडकमा राखेका गमलाको मूल्य सुन्दा सर्वसाधारणमात्र होइन गमला बनाउने अन्य सञ्चालकसमेत अचम्ममा परे। बालाजुमा सिमेन्टका गमला, आँखीझ्याललगायतका सामग्री बनाउने शिव मानन्धरले महानगरपालिकाले सडकमा राखेका गमलाको लागत सात सय ५० रुपैयाँभन्दा बढी नहुने बताए। उनका अनुसार चार भाग मसिनो गिटी र बालुवामा एक भाग सिमेन्ट राखेर यस्ता गमला बनाइन्छ।

मानन्धरले एक बोरा सिमेन्ट र चार भाग अन्य सामग्रीले १५ वटासम्म गमला तयार हुने बताए। ‘सरकारी पैसा अनि हतारको काम, काम दिने र गर्ने दुवैलाई सार्क फलिफाप भएछ’, मानन्धरले भने। उनका अनुसार पानीमा कम्तीमा दुई दिन भिजाएर रङ लगाएमा र सुरक्षित राख्न सके यस्ता गमला टिकाउ हुन्छन्। महानगरपालिकाले भने बनेर सुक्न नपाउँदै गमला सडकमा राखेर बिरुवा रोपेको छ।

सार्क शिखर सम्मेलन अवधिभरका लागि मात्र महानगरपालिकाले गमलामा ठूलो लगानी गरेको थापाथली बस बिसौनीमा भेटिएका थानकोटका गेहेन्द्र खड्काले बताए। उनले माइतीघरदेखि कालीमाटीसम्मको साँघुरो फुटपाथमा ठूला गमला राख्नाले पैदलयात्रीलाई समस्या भएको गुनासो गरे। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •