सार्कको ३७ औं विदेश मन्त्री स्तरीय बैंठक पोखरामा आज

235
  •  
  •  
  •  

पोखरा ४ चैत (ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं विदेश मन्त्री स्तरीय बैंठक आज पोखरामा बस्दैछ । बैंठकमा सहभागि हुन सबै सदस्य राष्ट्रका विदेशमन्त्री एबं प्रतिनिधिहरु हिजो नै पोखरा आईसक्नुभएको छ । मिनि शिखर बैठकले समेत परिचित बैंठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम छ । सार्कका ८ सदस्य राष्ट्र मध्य ६ देशका विदेश मन्त्री र अफगानिस्तानबाट उपविदेशमन्त्री तथा पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार बैंठकमा सहभागि हुन लागेका हुन् ।

बैंठकमा नेपालका उपप्रधान एबं परराष्ट्र मन्त्री कमल थापा सहित भारतीय विदेश मन्त्री सुष्मा स्वराज, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिजको सहभागिता रहनेछ ।

यसअघि ५२ औं कार्यक्रम समिति बैंठक हुदै ४२ औं सचिव स्तरीय बैंठकबाट पारित भएका एजेण्डा माथि आजको मन्त्री स्तरीय बैंठकमा छलफल हुने कार्यसूची रहेको छ । साथै सदस्य राष्ट्रहरु आ आफ्नो देशका एजेण्डा टेवुल गर्ने र त्यसमाथि छलफल गर्नेछन् ।

विदेशमन्त्रीस्तरीय बैठक उद्घाटनको पूर्वसन्ध्यामा पोखराको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । ठाउँठाउँमा खटिएका सुरक्षाकर्मीहरुले चेकजाँच कडा पारेका छन् । यसैगरी बैठकस्थल पोखराको पादीस्थित होटल ग्राण्डमा देश तथा विदेशका आमसञ्चारकर्मीहरुको भीड नै लागेको छ । सार्क मुलुकका प्रत्येक राष्ट्रबाट आएका सञ्चारकर्मीहरुले सार्कका हरेक गतिविधिहरुलाई सम्प्रेषण गरिरहेका छन् ।


  •  
  •  
  •