दिनभर काठमाडौमा यातायात आवागमन ठप्प

162
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर (ओएनएस) :
सार्क शिखर सम्मेलन सुरक्षालाई मध्यनजर गर्दै आज काठाडौं उपत्यका सवारी आवागन प्रभावित हुने भएको छ । नागरिकले दिनभर सास्ती पाउने देखिएको छ ।  विशिष्ट अतिथिहरूको आगमन बिहानदेखि साँझसम्म जारी रहने र केही पाहुनाको धार्मिक भ्रमणसमेत रहेकाले मंगलबार दिनभरि राजधानीको आवागमन प्रभावित हुनेछ।  विशिष्ट अतिथिहरूका लागि अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्म र त्यहाँबाट अन्य कार्यक्रमस्थलसम्म सहज आवागमन व्यवस्था मिलाउन बिहान साढे १० बजेदेखि नै राजधानीका सडक खाली गराउने तयारी छ।

विमानस्थलबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटीदेखि सोल्टी होटलसम्मको सडकमा दिनभरि अन्य सवारी आवागमन रोक लगाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। गौशाला, कोटेश्वर, कुपन्डोल, कलंकीलगायत मूल सडकदेखि अन्य सहायक सडकबाट आउने ठूला तथा बिस्तारै गुड्ने सवारी आधा घन्टा अगाडिदेखि नै रोकिनेछन्। राति सबै प्रतिनिधि होटलमा पसिसकेपछि मात्र सवारीसाधन चलाउन दिइनेछ। मंगलबार बिजोर गते परेकाले बिजोर नम्बरका सवारी मात्र चलाउन पाइनेछ।

महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार सार्क राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सवारी हुने मुख्य रुटमा मध्याह्न साढे १२ देखि दिउँसो साढे २ बजेसम्म २ घन्टा मात्र आवागमन हल्का रूपमा खुला गरिनेछ। यहीबीच भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेको धार्मिक भ्रमण रहेकाले सवारी आवागमन पूरै खुला नगरिने अधिकारीले बताए। भुटानी प्रधानमन्त्री तोग्बे दिउँसो ११ बजेर ४५ मिनेटमा राजधानी आउनेछन्। उनी सोझै सोल्टी होटल जाने कार्यक्रम छ। त्यहाँबाट स्वयम्भू जाने कार्यक्रम रहेकाले सोल्टीदेखि कलंकी, सीतापाइला र स्वयम्भूसम्मको सवारी खाली गराइनेछ। यो दिउँसो १ देखि २ बजेको बीचमा हुनेछ।

स्वयम्भूमा केही समयको कार्यक्रमपछि उनी २ देखि ३ को बीचमा पशुपति जाँदैछन्। यस क्रममा कलंकी, सोल्टी, कालिमाटी, थापाथली, नयाँबानेश्वर, एयरपोर्टदेखि पशुपतिसम्मको सडक खाली गराइनेछ। पशुपति दर्शनपछि भुटानी प्रधानमन्त्री बौद्ध जानेछन्। यसका लागि ट्राफिकले गौशाला, चावहिल, चुच्चेपाटी, बौद्ध, जोरपाटीसम्मको सडक खाली गराउनेछ। फर्कने क्रममा त्यसैअनुसार सडक खाली गरिने हुँदा दिउँसो ५ बजेसम्मै यी क्षेत्रका सडक अवरुद्ध हुनेछन्।


  •  
  •  
  •