सार्क तयारी सक्न हम्मे

154
  •  
  •  
  •  

काठमडौं १ मंसिर ।

सार्क शिखर सम्मलेनअन्तर्गत पाँच दिनपछि सहसचिवस्तरीय बैठक सुरु हुँदैछ, तर सरकारले अझै तयारी पूरा गर्न सकेको छैन। सार्क तयारीमा खर्चअनुसार काम नभएको भन्दै सभासदले समेत असन्तुष्टि जनाएका छन्।

सार्क सदस्य राष्ट्रका विदेश सहसचिव सहभागी हुने ४९ औं प्रोग्रामिङ कमिटी बैठक मंसिर ६ गते सुरु हुँदैछ। भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका सहसचिव एक दिनअघि नै काठमाडौं आइसक्नेछन्। त्यसको भोलिपल्टै सार्क विदेश सचिवस्तरीय ‘स्ट्यान्डिङ कमिटी’ बैठक सुरु हुनेछ भने मंसिर ९ गते सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्नेछ।
सहसचिव तथा सचिवस्तरको डेलिगेसन आउने दिन नजिकिँदा पनि उनीहरूलाई देखाउन भनी निर्माण थालिएको सडकको अवस्था उति राम्रो भइसकेको छैन। तीनकुने, बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, टेकुलगायत सडक अझै धुलाम्य छन्। चौडा पारिएका सडकमा पेटीको निर्माण कार्य ज्युँका त्युँ छ। तीनकुनेस्थित खाली जग्गामा बगैंचा निर्माण गरिने भनेर आवश्यक बजेटमा अर्थ मन्त्रालयले सहमति जनाइसकेको छ। तर, त्यहाँ बगैंचा निर्माणको कुनै सुरसार छैन। आइतबारसम्म गाडी र मोटरसाइकल सिक्नेको ताँती लागेको थियो।
‘कात्तिक २५ गतेभित्र काम सक्ने भनिए पनि अझै सकिएको रहेनछ,’ व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिअन्तर्गत गठन भएको शान्ति–सुरक्षा तथा भौतिक व्यवस्थापन अध्ययन, अवलोकन तथा निरीक्षण उपसमितिका संयोजक बलबहादुर केसीले भने।
उपसमितिमा रहेका करिब एक दर्जन सभासदसहित केसी सार्कको तयारी निरीक्षण गर्न आइतबार निस्केका थिए। सभासदको निरीक्षण टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, शिखर सम्मेलनस्थल राष्ट्रिय सभागृह र आसपासका सडक अवलोकन गरेको थियो। सार्क शिखर सम्मेलनमा सहभागी हुन आउँदा प्रयोग हुने विमानस्थलस्थित विशिष्ट तथा अतिविशिष्ट कक्षसमेत टोलीले निरीक्षण गरेको थियो।
विमानस्थलमभित्र यत्रतत्र फोहोर भेटिएपछि उपसमितिकासंयोजक केसीले उचित सरसफाइ गर्न सम्बन्धित अधिकारीलाई भनेका थिए। ‘काम निकै सुस्त गतिमा भएको छ। छिटो सक्न भनेका छौं,’ केसीले नागरिकसँग भने। 
मंसिर १० र ११ गते हुने १८ औं सार्क शिखर सम्मेलनमा आठवटै सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन्। सहसचिव, सचिव र मन्त्रीस्तरीय बैठक होटल सोल्टीमा हुनेछ भने शिखर सम्मेलन राष्ट्रिय सभागृहमा।
सार्कका लागि अहिलेसम्म सरकारले १ अर्ब ९७ करोड रुपैयाँ खर्च गरिसकेको छ, जसअन्तर्गत सडक निर्माणमा ७८ करोड बजेटमै व्यवस्था गरिएको थियो भने ८४ करोड निकासा भइसकेको छ। त्यस्तै ३५ करोड रुपैयाँका लागि अर्थ मन्त्रालयले सहमति जनाइसकेको छ। मन्त्रालयमा अझै थप बजेट माग भइरहेको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटमा व्यवस्था गरिएबाहेक सार्क तयारीका लागि सबैभन्दा बढी रकम लैजाने तथा खर्च गर्ने मन्त्रालयमा गृह परेको छ। गृहले सार्क तयारीका लागि अहिलेसम्म ३४ करोड ५० लाख अर्थबाट लगेर खर्च गरिसकेको छ भने जामर किन्न भनेर थप ४ करोड मागेको छ। त्यसमा अर्थले सहमति जनाइसकेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भने सार्कका लागि काठमाडौंका केही सडक निर्माण तथा मर्मत गर्न भनी सरकारले आर्थिक वर्ष २०७१/७२ कै बजेटमा ७८ करोड रुपैयाँ छुट्ट्याएको थियो। मन्त्रालयले सडक निर्माणमा त्यही रकम खर्च गरिरहेको छ। मन्त्रालयले अर्थसँग थप रकम पनि माग गरेको छ।
स्रोतका अनुसार सहरी विकास मन्त्रालयले अर्थबाट सार्क तयारीका लागि भनी २५ करोड लगिसकेको छ। मन्त्रालयले मर्मतसम्भार गर्ने जिम्मेवारी लिएको सम्मेलन आयोजनास्थल राष्ट्रिय सभागृह र ग्यालरी बैठक (पुरानो संसद भवन) मर्मतसम्भार कार्य सकिएको छैन। आइतबार निरीक्षण गर्न पुगेका सभासदले राष्ट्रिय सभागृहमा भनेअनुसारको कुर्सी तथा होल्डिङ रुप नबनेको जनाए। निरीक्षण गर्न गएका उपसमिति संयोजकले तत्काल कुर्सी फेर्नसमेत सम्बन्धित निकायलाई भनेका छन्।  नागरिकबाट

  •  
  •  
  •