पाहुनाका खानामा विशेष निगरानी

93
  •  
  •  
  •  

काठमाडौं २९ कात्तिक (ओएनएस) :
सार्क सम्मेलनमा अतिविशिष्ट व्यक्तिको खाद्य तथा पेय पदार्थको विशेष सुरक्षा प्रबन्ध गरिने भएको छ । त्यसका लागि अतिविशिष्ट व्यक्ति सुरक्षा उपसमितिअन्तर्गत छुट्टै खाद्य तथा पेय पदार्थ सुरक्षा टोली बनाइएको छ । खाद्य तथा गुणस्तर विभागका प्रतिनिधिले परीक्षण गरेपछि खाद्य पदार्थ अतिविशिष्टलाई दिइनेछ ।

सम्मेलनमा सहभागी हुन आउने राष्ट्र तथा सरकारप्रमुख बस्ने होटल सोल्टीको किचेनमा सुरक्षा अधिकारीहरू परिचालन गरिनेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पेय पदार्थका साथै खानाहरू तयार हुँदादेखि विशिष्ट व्यक्तिलाई ‘सर्भ’ नगर्दासम्म निगरानी गर्नेछन् । होटलसँग समन्वय गरी ‘सेफ’ हरूमाथि पनि निगरानी हुनेछ । एक वरिष्ठ सुरक्षा अधिकारीले भने, ‘होटल प्रवेश गर्नुअघि र निस्किएपछि उनीहरूले भेट्ने मान्छे र उनीहरूका गतिविधिमाथि प्रहरीले निगरानी राख्नेछ ।’

बजारबाट सामान खरिद गरेर ल्याउँदादेखि वितरण नगर्दासम्म सुरक्षाकर्मीले निगरानी गर्नेछन् । तयार भएको खाद्य पदार्थ प्राविधिकले परीक्षण गरेपछि मात्र पाहुनालाई दिइनेछ । परीक्षण गरिएको खाद्यको नमुना सिल गरेर २४ घन्टासम्म सुरक्षित राखेपछि मात्र नष्ट गरिने छ । ‘प्लेटमा राखेर पाहुनासम्म पुर्‍याउँदासमेत प्रहरी वेटरका साथै हुन्छन्,’ ती अधिकारीले भने, ‘सुरक्षामा कुनै लापरबाही हुन नदिन त्यहीअनुसारको सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ विशिष्ट व्यक्तिहरू कार्यक्रम दौरानमा होटलबाहिर गएर खाना खानुपर्ने भए सोल्टी होटलबाटै खानेकुरा बनाएर सुरक्षाकर्मीको निगरानीमा लगिने छ ।

मंसिर ४ गतेदेखि सोल्टी होटलमा सुरक्षा कमान्ड पोस्ट खडा गरिनेछ । हरेक दिन होटलभित्र र बाहिर आसपासका क्षेत्रमा ‘डग स्न्याफिङ’ गरिनेछ । सोल्टी होटललाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चार घेरामा सुरक्षा दिनेछन् । मंसिर १ देखि होटलमा ‘भेइकल स्क्यानर मेसिन’ र ‘वाल्क थ्रु गेट’ राखिने छ ।

विमानस्थलमा सुरक्षालाई कार्यदल

यसैबीच सार्क सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थापन गर्न कार्यदल बनाइएको छ । नेपाली सेनाको इन्जिनियर निर्देशनालय प्रमुख विजेन्द्र गौतमको संयोजनमा समिति बनाइएको हो । त्यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, अध्यागमन र भन्सार विभागका प्रतिनिधि सम्मिलित छन् ।

स्रोतका अनुसार निकटतम, भित्री, मध्य र बाहिरी गरी चार घेरामा सुरक्षा दिने तय भएको छ । निकटतम घेरामा सेनाको उक्त कार्यदल हुनेछ । त्यसभन्दा बाहिरको भित्री र मध्य सुरक्षा घेरा सेनाले नै सम्हाल्नेछ । बाहिरी घेरामा नेपाल प्रहरी रहनेछ । त्यसपछि सशस्त्र परिचालन गरिनेछ ।

सुरक्षा दिनुपर्ने अन्य स्थानमा निवासस्थल सोल्टी होटल, कार्यक्रम स्थल राष्ट्रिय सभागृह, महाराजगन्ज, लैनचौर, रिटि्रट दिइने धुलिखेलको द्वारिका हेरिटेजलगायत छन् । विमानस्थल क्षेत्रमा झन्डै २ सय २५ सीसीटीभी जडान गरिनेछ ।

अतिविशिष्ट व्यक्तिको उडान र अवतरणको आधा घन्टा पहिलादेखि नै विमानस्थलमा अन्य उडान रोकिनेछन् । त्यसअनुसार मंसिर ९ देखि १२ गतेसम्म त्रिभुवन विमानस्थलमा आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् । विमानस्थलमा आफन्तलाई छाड्न जानेहरूलाई प्रवेशद्वारबाटै प्रहरीले फिर्ता पठाउन सुरु गरेको छ । यस्तै हरेक दिन बम डिस्पोजल टोली र ‘स्निफर डग’ द्वारा विमानस्थलमा चेकिङ थालिएको छ । कान्तिपुरबाट


  •  
  •  
  •