सर्वोच्चमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि सिफारिस

787
  •  
  •  
  •  

काठमाडौं, १९ चैत (ओएनएस) : न्यायपरिषद्को मंगलबारको बैठकले सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

नियुक्ति सिफारिसका लागि बसेको न्यायपरिषद् बैठकले  उच्च अदालतबाट दुई र कानून व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा प्रकाश ढंगाना, सुस्मलता माथेमा र हरिप्रसाद फुयाल, कुमार रेग्मी र मनोज कुमार शर्मा रहेका छन् । ढुंगाना र माथेमा उच्च अदालतका न्यायाधीश हुन् ।

संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था छ । सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले न्यायाधीश पदबाट राजीनामा दिएपछि सर्वोच्चमा ५ पद रिक्त रहेको थियो ।

यसैगरी परिषद्को आजको बैठकले उच्च अदालतमा १७ जनाको नाम न्यायाधीशका लागि सिफारिस गरेको छ ।

न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतमध्येबाट किरण पौडेल, महेन्द्रनाथ उपाध्याय, रमेश ढकालको नाम सिफारिस भएको छ ।

उपाध्याय सर्वोच्च अदालतका रजिष्ट्रार हुन् । उनलाई उच्च अदालत पाटन, हेटौँडा इजलासका लागि सिफारिस गरिएको छ ।

त्यस्तै ढकाल सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव हुन् । उनलाई उच्च अदालत जनकपुरका लागि सिफारिस गरिएको छ ।

पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीशमध्येबाट भने निलम पौडेल सिफारिसमा परेका छन् । पूर्व अतिरिक्त न्यायाधीश पौडेल उच्च अदालत जनकपुर, राजविराज इजलासका लागि सिफारिसमा परेका हुन् ।

त्यस्तै जिल्ला न्यायाधीशहरुमध्येबाट सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले सिफारिसमा परेका छन् । उनलाई उच्च अदालत सुर्खेतका लागि सिफारिस गरिएको हो ।

त्यसैगरी रौतहटका जिल्ला न्यायाधीश लेखनाथ ढकाल उच्च अदालत जनकपुर, राजविराज इजालसका लागि सिफारिसमा परेका छन् ।

चितवनका जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा उच्च अदालत पाटनका लागि सिफारिस भएका छन् । ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडी उच्च अदालत विराटनगरका लागि सिफारिसमा परेका छन् । त्यसैगरी पर्साका जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्ण सुर्खेत उच्च अदालतका लागि सिफारिस भएका छन् ।

अधिवक्ताहरुबाट ७ जना उच्च अदालतमा सिफारिस भएका छन् । जगतबहादुर थापा र सरलाकुमारी पाण्डे उच्च अदालत पाटनका लागि सिफारिसमा परेका छन् ।

विमल सुवेदी उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका लागि सिफारिस भएका छन् ।

रेणुका शाह उच्च अदालत विराटनगरका लागि सिफारिस भएकी छिन् । त्यस्तै डालकुमार खड्का उच्च अदालत पोखराका लागि सिफारिस भएका छन् । उज्वल शुक्ल उच्च अदालत जनकपुर र नवराज थपलिया उच्च अदालत दिपायलका लागि सिफारिस भएका छन् ।

त्यसैगरी विराटनगरमा सेवा वृत्त हुने तयारीमा रहेका न्यायाधीश उमेशराज पौडेलको स्थानमा अधिवक्ता अञ्जु उप्रेती ढकाल सिफारिस भएकी छिन् ।


  •  
  •  
  •