आजदेखि सर्वोच्चमा सबै प्रकारका मुद्दाहरुको नियमित सुनुवाई, दुई–दुई वकिल मात्रै सहभागी

72
  •  
  •  
  •  

काठमाडौं । आजदेखि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाहरुको नियमित सुनुवाई भएको छ । सर्वोच्चले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । यस्तै मुद्दाको बहसको क्रममा पक्ष र विपक्षका तर्फबाट दुई–दुई वकिल मात्रै सहभागी हुन पाउने पनि सर्वोच्चले जनाएको छ ।

कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा संक्रमण हुन नदिइ न्याय प्रक्रियालाई पनि निरन्तरता दिनका लागि बसहमा एक प्रमुख र एक सहयोगी वकिल मात्रै उपस्थित हुन पाउने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

दुई भन्दा बढि कानून व्यवसायी रहेको अवस्थामा अन्य कानून व्यवसायीको तर्फबाट बसह नोट पेश गर्न सकिने सूचनामा उल्लेख छ। महामारीका कारण गएको चैत ९ गतेदेखि अदालतका काम कारवाहीमा संकुचन आएको छ।

अहिले बन्दाबन्दी वा निषेधको आदेशको अवस्था नरहेको, अदालतका काम कारवाही वा सेवा प्रवाहमा संकुचन ल्याएको निकै लामो अवधि भएको र यसले सेवाग्राहीको न्याय प्राप्तिमा कठिनाइ भएकाले त्यसलाई सम्बोधन गर्ने गरि महामारी नफैलिने व्यवस्थासहित सेवालाई निरन्तरता दिनका लागि नयाँ व्यवस्था गरिएको सर्वोच्चले जनाएको छ ।

आउँदो मंसिर १ गतेसम्म पुनरावेदन तथा रिट लगायतका निवेदनहरुको दर्ता तथा रिट निवेदनहरुको प्रारम्भिक सुनुवाई एवम् बन्दीप्रत्यक्षीकरण अन्तरिम आदेशको छलफल, संवैधानिक इजलासमा पेश हुने रिट निवेदन एवम् मुद्दाहरुको सुनुवाई गरिने उल्लेख छ ।

मंसिर २ गतेदेखि व्यवस्थापनको सहजता र सम्भाव्यतालाई मध्यनजर गरि उपयुक्त देखिएको संख्यामा पेशीको व्यवस्थापन गरि सबै प्रकारका मुद्दा, रिट, निवेदन–प्रतिवेदनको नियमित सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।

इजलासमा उपस्थित हुने पक्ष, कानून व्यवसायी, इजलास अधिकृत लगाय सम्बन्धित सबैले अनिवार्य रुपमा माक्स लगाउने, माक्स नहटाई बहस गर्ने र सम्भव भएसम्म प्लाष्टिक भाइजर समेत लगाउनु पर्ने सर्वोच्चको सूचनामा उल्लेख छ । संक्रमण हुन नदिनका लागि सबै सावधानीका उपायहरु अपनाउनु पर्ने पनि सूचनामा उल्लेख गरेको छ ।


  •  
  •  
  •