अवान्छित क्रियाकलाप रोक्न आईजीपी खनालको निर्देशन

602
  •  
  •  
  •  

चितवन, १७ मंसिर(ओएनएस) । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी लगायतका अवान्छित क्रियाकलापमा रोक लगाउन निर्देशन दिएका छन् ।

सोमबार चितवनको पर्यटकीय क्षेत्र सौराहामा आयोजित ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रियामा आईजीपी खनालले भने, ‘शान्तिपूर्वक घुम्ने वातावरण निर्माण गर्नका लागी पर्यटकिय क्षेत्रमा गुण्डागर्दी गर्ने, लफङ्गा र जथाभावी मोटरसाईकल चलाउने अवान्छित गतिविधि नियन्त्रण गर्नेतर्फ सम्पूर्ण प्रहरीलाई सजग हुन निर्देशन गर्दछु ।’

क्षेत्रीय होटल संघ चितवनद्धारा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले शहर गतिशील हुनुपर्ने तर गतिशीलताको नाममा असभ्यता र अश्लिलता स्वीकार्य नहुनेमा जोड दिए । उनले सुरक्षा र विकासको चाहनालाई सँगसँगै लानुपर्ने आवश्यकता रहेको बताए ।

सौराहामा आउने पर्यटकको सुरक्षा थप मजबुत बनाउन नेपाल प्रहरीले रामनगर टाँडी प्रहरीलाई ७ वटा मोटरसाइकल, १० वटा रेडियो सेट र १ थान बेस सेट उपलब्ध गराएको छ ।

प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको सो सामग्री प्रहरी प्रमुख खनालले स्थानीय प्रहरीलाई हस्तान्तरण गरेका थिए ।


  •  
  •  
  •