नक्कली शरणार्थी प्रकरणः दोस्रो चरणको अनुसन्धान शुरु

99
  •  
  •  
  •  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान शुरु गरेको छ । पहिलो चरणको अनुसन्धानमा यथेष्ट प्रमाण नजुटेकाले प्रकरणमा मुछिएकामाथि प्रहरीले थप प्रमाण जुटाउन थालेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले यसअघि खुल्न नसकेका तर यो विषयमा जोडिएका र मुछिएकामाथि दोस्रो चरणमा अनुसन्धान शुरु भइसकेको बताए ।
अहिले फरार सूचीमा रहेका १७ जनामा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक तथा इन्द्रजित राईका छोरा निरज, बिचौलिया बेचन झा तथा पैसा लेनदेनमा सहयोगी भूमिका खेल्ने अन्य १४ जना छन् ।

पहिलो चरणमा अस्ति बुधवार ३० प्रतिवादीविरुद्ध चार मुद्दा दायर भइसकेको छ । जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मियाँलगायत उच्चपदस्थ व्यक्ति रहेका छन् ।

उनीहरूविरुद्ध सङ्गठित अपराध, ठगी, राज्यविरुद्धको अपराध तथा लिखत कीर्ते कसुरको मागदाबी गरिएको छ । बुधवार दायर भएको मुद्दामा आजदेखि अदालती कारबाही शुरु हुँदैछ । ३० प्रतिवादीमध्ये १६ जना पक्राउ परेकाले उनीहरूको बयान शुरु हुनेछ ।

बयानपछि थुनछेक बहस हुनेछ । बहसमा सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । सरकारी वकिलले बहस सकेपछि प्रतिवादीका तर्फबाट अधिवक्ताले बहस गर्नेछन् । प्रतिवादीका अधिवक्ताले गरेको बहसपछि जवाफी बहस गर्न आवश्यक देखिएमा सरकारी वकिलका तर्फबाट जवाफी बहस पनि हुनेछ ।


  •  
  •  
  •