आर्मीनीया, अजरबैजान र रुसबीच शान्ति सम्झौतामा हस्ताक्षर

406
  •  
  •  
  •  

एजेन्सी । विवादित नगोर्नो काराबाख क्षेत्रमा जारी सैन्य द्वन्द्व अन्त्य गर्न आर्मीनीया, अजरबैजान र रुसले सम्झौता गरेका छन्।

शान्ति सम्झौता स्थानीय समय अनुसार मङ्गलवार १ बजेबाट लागु हुने बताइएको छ। अजरबैजान र आर्मीनीयाबीच छ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो।

विवादित नगोर्नो काराबाख क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ तर त्यो क्षेत्र सन् १९९४ देखि आर्मीनीयाको जातीय समूहको नियन्त्रणमा छ। पछिल्लो सप्ताहान्तमा अजरबैजानका सुरक्षा फौजले उक्त क्षेत्रमा पर्ने सुसआ सहर नियन्त्रणमा लिन सफल भएको थियो। त्यो सहरलाई आर्मीनीयामा सुअसी भनिन्छ।

नयाँ सम्झौताअनुसार युद्धका क्रममा नगोर्नो काराबाख क्षेत्रमा आफ्नो नियन्त्रणमा लिन सफल स्थान अजरबैजानले प्राप्त गर्नेछ। त्यसबाहेक अन्य केही क्षेत्रबाट समेत आफू फिर्ता हुन आर्मीनीयाले सहमति जनाएको छ।

युद्धका क्रममा अजरबैजानले रुसको सैन्य हेलिकोप्टर खसालेको पनि स्वीकार गरेको छ।

उक्त आक्रमणमा चालक दलका दुई सदस्यको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए। रुसी राष्ट्रपति भल्लादिमिर पुटिनले उक्त क्षेत्रमा रुसी शान्ति सेनाको उपस्थिति रहने जनाएका छन्।

त्यसबाहेक सम्झौतामा युद्धबन्दी आदानप्रदान हुने र यातायात तथा आर्थिक सम्बन्ध पुनस् स्थापित गरिने बताइएको छ। अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले उक्त सम्झौतालाई द्वन्द्व समाधानको एउटा महत्त्वपूर्ण अवस्था बताएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

तर सामाजिक सञ्जालमा आर्मीनीयाका प्रधानमन्त्री निकोल पाशिनियानले भने विवादित नगोर्नो काराबाख क्षेत्रमा युद्ध अन्त्य गर्न अजरबैजान र रुससँगको सम्झौता ‘आफ्ना र आफ्ना देशका सर्वसाधारणहरूका लागि अत्यन्तै पीडादायी’ रहेको बताएका छन्।

बीबीसी


  •  
  •  
  •