सन्तान थरिथरिका: कतै टाढिए त कतै …

670
  •  
  •  
  •  

भनिन्छ, आमा धर्ती हुन्, जसरी धर्तीमाताले हरेक परिस्थितिलाई सहजै सहेर सबै अनुकूल प्रतिकूल स्वीकार गरेकी हुन्छिन्, त्यसरी नै आमा आफ्ना सन्तानका लागि हरपरिस्थिति, सुख, दुःख, हर्ष, विस्मात पचाएर सँधै एकनास आफ्ना सन्तानका अगाडि प्रस्तुत हुन्छिन् ।

सन्तानको असहज परिस्थितिलाई सहजै ढाडस दिने शक्ति आमामा मात्र हुन्छ । अर्कोतिर ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान्ने गरिन्छ ।

एउटा बाबुले आफ्ना सन्तानका लागि हरेक तबरबाट कर्तव्य पूरा गरिरहेका हुन्छन् । बुवाले संसार चिनाउँछन् । तर, त्यही संसारमा बाँच्न सक्ने भइसकेपछि छोराछोरीले आमाबुवा विस्तारै झुल्न थाल्दछन् ।

भनिन्छ आमाबुवाले छोराछोरीको भविष्यका लागि आफ्नो वर्तमान समेत विर्सन्छन् । आफ्नो इच्छा र आंकाक्षा थाँती राखेर छोराछोरीकै लागि दुःख कष्ट गरिरहेका हुन्छन् । आफ्नो पीडा लुकाएर छोराछोरीको खुसी खोज्छन् ।

तर

पछिल्लो समय घटेका कतिपय घटनाले भने सन्तान आफ्ना बाबुआमाप्रति निर्दयी बन्दै गएका हुन कि भन्ने आभास हुन थालेको छ ।

आमाबुबाको हेरविचार गर्नु, मान सम्मान गर्नु एउटा असल सन्तानको कतव्र्य हो । तर हुन सकेको छैन् ।

घटना १

छोराबाटै मारिए काल्चे

कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा यहि साउन ५ गते ७५ वर्षीय बुवा काल्चे रावतलाई आफ्नै छोराले धारिलो हतियार प्रहार गरि हत्या गरे ।

५५ वर्षीय छोरा उदे रावतलाई प्रहरी हत्या अभियोगमा पक्राउ गरिसकेको छ । छोराको प्रहारबाट आमा नन्दे रावत भने गम्भीर घाइते भएको घोडाघोडी नगरपालिका–११ का वडाध्यक्ष दान सिंह जोगि बताउँछन् ।

गम्भीर घाइते नन्दे रावतलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीका अनुसार घरायसी विवादका कारण छोराले बुवामाथि धारिलो हतियार प्रहार गरेका हुन् । हत्या गरेर फरार रहेका उदे रावतलाई प्रहरीले पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाएको छ ।

घटना २

छोराबाट मारिइन् पुलामी

सप्तरीकोको सुरुङ्गा नगरपालिका १ चहका टोलकी ६४ वर्षिया आमा धनमाया पुलामी आफ्नै छोराबाट मारिइन् ।
३३ वर्षिय छोरा जंगबहादुर पुलामीले हत्या आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार असार १९ गते बिहीबार साँझ उनले ६४ वर्षिया आमा धनमायाको टाउँको, घाटी र अनुहारमा खुकुरी प्रहार गरी निर्मम ढंगले हत्या गरेको अभियोग लागेको छ ।

प्रहरीले जंगबहादुरलाई उनकै घरबाट पक्राउ ग¥यो । आमाको हत्या गर्न प्रयोग गरेको रगत लतपतिएको २ थान खुकुरी पनि प्रहरीले घटना स्थलबाटै बरामद गरेको थियो ।

प्रारम्भिक बयानमै उनले रिसले हत्या गरेको स्वीकार गरिसकेको छन् । आमालाई खुकुरीले आक्रमण गर्ने क्रममा आफैँले बोकेको खुकुरीबाट टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी भावेश रिमालले बताए ।

अत्यधिक मदिरा सेवन गरी घर पुगेका छोरालाई सम्झाउने क्रममा एक्कासी आवेशमा आएका जंगबहादुरले घरमै राखिएको खुकुरीले अन्धाधुन्द प्रहार गरेका थिए ।

घरमा पालिएको दुई वटा कुखुरामध्ये एउटा कुखुरा काटेर खान पकाउन बिहानै आमालाई भनेका थिए ।
छोराको आग्रहलाई पूरा गर्दै आमा धनमायाले तत्कालै कुखुरा काटेर खाना पनि पकाइदिइन् ।

त्यही खाना खाएर फेरि रक्सी खान बाहिर निस्केका जंगबहादुर घर फर्केपछि आमाले सम्झाउँदा एक्कासि रिस र आवेगमा आएर अन्धाधुन्द खुकुरी प्रहार गरी आमाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

घटनाका बेला धनमायाका पति लोकबहादुर रिचार्ज कार्ड लिन बजारतर्फ गएका थिए । धनमायाले बोक्ने मोबाईलमा पैसा सकिएपछि बजार गई रिचार्ज कार्ड किनेर घर फर्केका लोकबहादुर पत्नीलाई मृत अवस्थामा तथा छोराको दुवै हातमा रगतले लतपतिएको खुकुरी देखेर त्रसित भई ज्यान जोगाउन भागेका थिए ।

छर छिमेकसँगै प्रहरीलाई पनि जानकारी गराएपछि पुगेको प्रहरी टोलीले घेरा हालेर उनलाई नियन्त्रणमा लिएको थियो ।

घटना ३

जसले आमालाई मार्न १२ लाखको सुपारी दिइन्

भक्तपुरको चाँगुनारायणमा सावित्री भट्टराई आफ्नै छोरीबाट माइरिन् । हत्या आरोपमा प्रहरीले उनको छोरीसहित अन्य चारजनालाई पक्राउ गरिसकेको छ ।

हत्यामा संलग्न भएको आरोपमा सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेका छन् ।

उनीहरुलाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको छ ।
यहि साउन १० गते न्यायाधीश डाक्टर श्रीप्रकाश उप्रेतीको एकल ईजलासले छोरी र उक्त हत्या संग्लन रहेका अन्य तीन आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका तहसीलदार तथा सूचना अधिकारी सदन अधिकारीले जानकारी दिए ।

भक्तपुरको चाँगुनारायण ७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर आमा सावित्राको हत्या गरेकी थिइन् ।
उनले १२ लाख रुपैयाँमा सुपारी दिएर आमाको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर (भाडाका अपराधी) भाडामा प्रयोग गरिएको पाइएको छ ।

छोरीको प्रेम सम्बन्धका बारेमा आमालाई थाहा भएकै कारण उनको हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।

सप्तरी, कैलाली र भक्तपुरका घटना प्रतिनिधि घटना मात्रै हुन् । तर पछिल्लो समय यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेको छन् ।

बाबुआमाप्रति छोराछोरी रुस्ट हुँदै गइरहेका छन् । कति छोराछोरीका निम्ति आफ्ना आमाबुवा ‘बोझ’ भएका छन् ।

‘पराई भए सन्तान’

म लक्ष्मीप्रसाद अधिकारी (८७) । घर यहि काठमाडौं महाराजगञ्ज बाँसबारी । छोराछोरी जन्माए हुर्काए । तर अहिले मेरो सामु छैनन् ।

अहिले वृद्धाश्रममा बसिरहेको छु । यहाँ पशुपति वृद्धाश्रममा बसेको पनि चार वर्ष पुगेर पाँच वर्ष लाग्यो । १८ वर्ष अघि श्रीमती वितिन् । श्रीमतीको साथ छुटेपछि एक्लो हुन थाले ।

त्यहि बिचमा छोराहरू पढाए । बढाए । ठूलो छोरा परिवारसहित जापान छ । कान्छोको अमेरिका । यहि बसेको लामो समय भयो । खै घरमा पनि के बसौं । एक्लो जिन्दगी ।

केहिले काही दाजुभाई, छिमेकी भेट्न आउँछन् । पहिले पनि देउघाटमा १२ वर्ष बसेँ । भारतमा पनि ५ वर्ष आश्रममै बसेँ ।
अहिले एक्लो छु ।

बढ्यो दण्डहिनता : डा. विष्णुराज उप्रेती(द्धन्द्ध विश्लेषक)

विश्वव्यापीकरणको कारण मान्छेले आफ्नो सामाजिक, पारिवारीक सम्बन्धलाई पैसामा लागेर गर्ने गरेको छ ।

दोस्रो पारिवारीक मूल्य मान्यता थियो त्यो पूर्ण रुपमा क्षतविक्षत भएको अवस्था छ । मान्छेहरु पश्चिमा संस्कृति, पश्चिमा सभ्यता र पश्चिमा मान्यताहरुले गर्दा पश्चिमा शैली अपनाउन थाले ।

मूल्य मान्यता बाबुआमा, हजुरबुबा हजारआमालाई सम्मान गर्ने, उनीहरुको ज्ञान सीपहरु लिने त्यो ध्वस्त हुँदै गएको छ । अर्को अपराधिक मनोविज्ञान बढ्नुको कारण सशस्त्र द्धन्द्ध शुरु भइसकेपछि अपराध गर्ने, अपराध गरेर पनि उन्मुक्ति पाउने यो मान्यता स्थापित हुँदै गयो ।

दण्डहिनताको कारणले पनि यस्तो मनवृत्ति फैलदै भयो । मनोपरामर्शका काम हुन सकेनन् । तनाबहरु बढ्न थाले ।
यसले गर्दा अपराधिक गतिविधिपनि बढेको देखिन्छ ।

अपराधको मान्यता नै उसको सामान्य मनोविज्ञान भन्दा तलमाथि भएर जान्छ । यो हुनुभनेको एउटा संगतको कारणले, आफ्नो असुरक्षा, दवाद प्रभावका कारण यस्तो मनोवृद्धि बढेर जान्छ ।

नैतिक शिक्षामा ह्रास आयो : चेतना लोसम (मनोविश्लेषक)

नैतिक शिक्षामा ह्रास आएको छ । मान्छे भौतिकवादी हुन थालेका छन् । परिवारमा सामिप्यताको अभाव छ । हामी भौतिकवादी भएका कारण यस्ता खालका घटना घटेका छन् ।

आदर सम्मान, सोच, माया, ममता कम हुँदै गए । मानसिक स्वास्थ्यको खाँचो छ । अर्को सूचना प्रविधिको तिव्र विस्तार पनि हो । त्यसले विसंगतीहरु यसले पनि ल्याएको छ ।

अभिभावकहरु सचेत हुनुपर्ने देखिन्छ । परिवारका बिचमा राम्रो सम्बन्ध हुन सकेको छैन् ।

बढ्दो सूचना प्रविधि
उत्तमराज सुवेदी
प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक
महानगरीय प्रहरी परिसर काठमाडौं

हाम्रो समाज विश्वव्यापीकरण हुँदैछ । संसार सानो हुँदैछ । सबैले प्रविधिको माध्यमबाट संसारमा के भइरहेको छ बुझ्न हेर्ने भयो ।

त्यहि अनुसार पनि आफ्नो दैनिकीलाई पनि त्यहि अनुसार लैजान खोजे । मान्छे धनि हुन खोज्ने, सुख सुविधा खोज्ने र मनोकांक्षा पनि बढी हुन थाल्यो ।

क्षमता भन्दा बढी बाहिरको मनोकांक्षा राखेपछि गलत बाटो अपना थाले । अर्को सामाजिक सञ्जालको दुरुपयोग हुन थालेको छ । जसले विकृतिहरु सिर्जना हुन थाले, फास्ट ट्राक खोज्नु जसले गर्दा परिवार समाजमा सद्भाव घट्दै गयो ।
जसले गर्दा आफ्नो स्वार्थको लागि घरपरिवार, छिमेकी विरुद्ध अपराधका घटनाहरु घटाउन थाले ।

समग्रमा अहिलेको सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले यस्ता अपाराधिक घटनाहरु घट्दै गएका छन् ।
यसलाई न्यूनिकरण गर्न सचेतना नै प्रमुख माध्यम हुन सक्छ ।


  •  
  •  
  •