मानवीलाई अचानक किन दिइयो मन्त्री पद ?

178
  •  
  •  
  •  

Shanta_manawi_580299036काठमाडौं २० कात्तिक ।
एमालेकी नेत्री शान्ता मानवीलगायत केही महिला सभासद् संसद् सचिवालयको सिफारिसमा तेल र ग्यास पाइन्छ कि भन्दै बिहीबार संसद्को यातायात शाखाबाहिर गफ गर्दै थिए। एक्कासि मानवीको मोबाइल बज्यो। उनी प्रफुल्ल भइन् र आफूसँगैका महिला सभासद्लाई राष्ट्रपति कार्यालय जानुपर्ने बताइन्। सबैले मुखामुख गर्न थाले।

मानवीले भनिन्, ‘मन्त्रीको शपथ लिन शीतल निवास बोलाइयो मलाई त। त्यसपछि संसद्का यातायात शाखाका कर्मचारी मानवीका लागि गाडी खोज्न थाले। संसद्का सबै चालक खाजा खान निस्केकाले संसद् सचिवालयले उनका लागि सवारीको व्यवस्था गर्न सकेन।

मानवी आफैं गाडी खोजेर शीतल निवास पुगिन्।एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री बन्न अस्वीकार गरेपछि मानवीलाई एक्कासि मन्त्रीको अफर आएको थियो।

‘मन्त्री बन्ने कल्पना पनि नगरेकी मानवी एकाएक मालामाल भएको’ भन्दै एमालेका केही सभासद् संसदीय दलको कार्यालयमा गफ गर्दै थिए। शाक्यले मन्त्री खान अस्वीकार गरेपछि उनका पति एवं एमाले नेता अमृतकुमार बोहोरामार्फत पनि शाक्यलाई मन्त्री पद स्वीकार गर्न प्रधानमन्त्री निकट नेताले आग्रह गरेका थिए।

‘यस्तो काममा म लाग्दिनँ । उहाँ (शाक्य) सिनियर मान्छे हो। दुईपटक मन्त्री भइसकेको मान्छेलाई म किन सम्झाउने भन्दै मैले जबाफ दिएको छु’, एमाले सभासद्सँग बोहोराले भनेका थिए।

उता राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीको शपथ हुँदै गर्दा मन्त्रालयमा मन्त्रीको स्वागतका लागि कर्मचारी धमाधम काममा खटेका थिए । उपप्रधानसहित एमाले उपाध्यक्ष भीम रावलले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएको खबरसँगै मन्त्रालयका कर्मचारी फूलमाला, दहीको सगुन र मन्त्रीको नेमप्लेट बनाउन दौडधूपमा लागेका थिए।

हतारहतार नेमप्लेट पनि तयार पारेर मन्त्रीको कार्यकक्षबाहिर टाँसे। तर साँझ ५ बजे रावलले सहरीको नभइ रक्षा मन्त्रालयको जिम्मेवारी पाएको भन्ने खबरपछि कर्मचारीले मन्त्रीको नेमप्लेट झिकेका थिए।

सहरी विकासले बिहीबार मन्त्री नपाएपछि गरिएको तयारी खेर गएको भन्दै कर्मचारी निस्केका थिए।यस्तै दोधारमा परे रक्षा मन्त्रालयका कर्मचारी पनि।

रावलले सहरी विकासको जिम्मेवारी लिएको भन्ने खबरले रक्षाका सबै कर्मचारी घर हिँडिसकेका थिए। दुईजना तल्लो तहका कर्मचारीमात्र मन्त्रालयमा थिए। मन्त्री पदभार ग्रहण गर्न आउने भन्ने खबरपछि बीच बाटोमा पुगेका कर्मचारी पनि हतारहतार मन्त्रालय पुगी मन्त्रीको स्वागत गरे।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •