इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस आज

220
  •  
  •  
  •  

काठमाडौं १० पुस (ओएनएस) : आज डिसेम्‍बर २५ अर्थात इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस। आज प्रभु यशुको जन्मोत्सवका उपलक्ष्यमा इसाईहरूले आज ख्रीस्टमस मनाउँदैछन्।
इसाई धर्मावलम्बीले यशुको कन्या (मारियम) को कोखबाट जन्म भएको र मारियमको विवाह यसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा जन्म लिन लागेको भविष्यवाणी गरेको विश्वास गर्छन् ।
तत्कालीन समयमा मानिसमा गरिने अन्याय, अत्याचार तथा विभेदबाट उनीहरुलाई मुक्ति दिलाउन यशु आफैँले क्रुसमा चढेको भनाइ छ । प्रभु यशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनकै सम्झनामा इस्वी संवत् प्रारम्भ भएको विश्वास गरिएको छ।विशेषगरी दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रुपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिएका यशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने इसाई धर्मावलम्बी सकुन्तला थापाले बताइन्।

प्रत्येक वर्ष डिसेम्बर २५ मा उनको स्मरणमा इसाई धर्मावलम्बीले शुद्ध हृदयदेखि नै उनको प्रशंसा तथा प्रार्थना गरी अङ्गुरको जुस (दासरस) पिउने र केक काट्ने परम्परा छ ।
नेपालमा भने नेपाली इसाई धर्मावलम्बीले यशुको सम्झना गर्दै विभिन्न चर्चमा गई त्यहाँ हुने महोत्सव तथा कार्यक्रममा रमाइलो गर्ने र नेपाली संस्कृतिअनुसार विभिन्न रोटी, पकवान, माछा मासु, पुलाउलगायत खानेकुरा खाने गर्छन् ।
क्रिसमसको उपलक्ष्यमा  राष्ट्रपति र उपराष्‍ट्रपतिबाट शुभकामना
यसै अवसरमा राष्ट्रपति डा रामवरण यादवले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।
सन्देशमा यादवले  भनेका छन्, ‘विविध जातजाति, भाषाभाषी, धर्म–संस्कृति, परम्पराहरुबाट समृद्ध हाम्रो मुलुकमा यस प्रकारका चाडपर्वहरुको संरक्षण र संबद्र्धनबाट देशमा आपसी विश्वास र सद्भावको अभिवृद्धि भई राष्ट्र निर्माण एवम् समुन्नत सामाजिक संरचनाको निर्माण गर्ने कार्यमा महत्वपूर्ण टेवा मिल्नेछ भन्ने मलाई लागेको छ।
यस पर्वले सबै नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा व्यक्त गर्दै उनले शान्ति, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना पनि गरेका छन्।
यसैगरी, उपराष्ट्रपति परमानन्द झाले क्रिसमस डेका अवसरमा एक सन्देश दिनुहुँदै संविधानसभाको दोस्रो निर्वाचनपछि देशले जनचाहना अनुरुपको लोकतान्त्रिक संविधान प्राप्त गर्दै स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् भन्ने कामना गरेका छन्।
राजनीतिक क्षेत्रको गतिरोधलाई सदाका लागि समाप्त गरी सबै नेपालीलाई यो दिवसले सुख, शान्ति र समृद्धि प्रदान गर्ने आशा पनि उनले व्यक्त गरेका छन्।
इसाईहरुलाई प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री सुशील कोइरालाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस’को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले भनेका छन्,’बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक पहिचान बोकेको भौगोलिक विविधतायुक्त नेपालमा सबै जातिका विभिन्न धर्म र संस्कृति अङ्गीकार गर्ने नागरिकबीच सदियौँदेखि सौहार्द सम्बन्ध रहिआएको छ।यही विविधता बीचको एकता हाम्रो राष्ट्रियताको सबल आधार बनेको छ। विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने नेपालीमा रहेको जातीय, धार्मिक, सांस्कृतिक सहिष्णुताले मुलुकमा शान्ति र सद्भाव कायम गर्न सघाउँदै आएको पनि छ।

शान्ति, सद्भाव, एकता र मेलमिलाप मुलुकमा लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासलाई गति दिने महत्वपूर्ण आधारका रूपमा विकसित पनि भइरहेको पनि सन्देशमा उनले उल्लेख गरेका छन्।
लोकतन्त्रको बहाली र निरङ्कुश राजतन्त्रको उन्मूलनका लागि भएको २०६२÷६३ सालको जनआन्दोलनले पुनःस्थापित गरेको प्रतिनिधिसभाले मुलुकमा धार्मिक स्वतन्त्रताको घोषणा गरेपछि यसलाई वर्तमान अन्तरिम संविधानले लिपिबद्ध गरी संस्थागत गरेको स्मरण गराउँदै कोइरालाले भनेका छन, ‘धार्मिक स्वतन्त्रता नागरिकका मौलिक हकका रूपमा स्थापित भइसकेको छ।’

  •  
  •  
  •