प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानकर्षण

56
  •  
  •  
  •  

काठमाडौं, २९ पुस(ओएनएस) : प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले शान्ति सुरक्षा, वाईडवडी खरिद प्रकरण, डाक्टर गोविन्द केसीको माग लगायत बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको विशेष समयमा बोल्दै सांसद डिला संग्रौला पन्तले अधिकारकर्मी शारदा चन्दलाई ज्यान मार्ने धम्की आएको भन्दै सो विषयमा जिल्ला प्रहरी कार्यालयलगायत निकायमा उजुरी दिएकोमा सुनुवाई हुन नसकेको बताइन् ।

उनको कल डिटेल जस्ताको तस्तै सार्वजनिक संञ्जालमा पोष्ट गरिएको भन्दै उनले कसरी कलडिटेल व्यक्तिको हातमा कसरी पुग्यो भन्ने बारे पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

उनले भनिन् , ‘निर्मला पन्तका अपराधीलाई कानुनको कठघरामा उभ्याउन नसक्ने, निर्मला पन्तले न्याय पाउनुपर्छ भन्ने व्यक्तिको पछि लाग्ने ? सरकारको दायित्व अपराधीलाई पक्रने हो कि व्यक्ति को पछि पछि रहेर डर धम्की दिने हो ?’ उनले शारदा चन्दको सुरक्षाको माग गर्दै व्यक्तिगत स्वतन्त्रता हनन गर्नेमाथि कारवाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराइन् ।

विशेष समयमा सांसद दिलेन्द्रप्रसाद बडूले गैह्र सम्वैधानिक रुपमा विश्वविद्यालयमा आतंक फैलाउने काम तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पुस २७ गते परिपत्र जारी गरेर सुदुरपश्चिम विश्वविद्यालयका भाइस चान्सलर र रजिष्टारलाई कुनै काम नगर्नु भनी छानवीन समिति बनाइएको तथा केही दिन अगाडि मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रारमाथि पनि त्यस्तै व्यवहार गरिएको भन्दै उनले हस्तक्षेपकारी भूमिकामा अगाडि नबढ्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद यज्ञराज सुनुवारले वाइडबडी प्रकरणमा तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम पनि जोडिएर आएको भन्दै सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरे ।

सांसद कमला रोका हिमाली जिल्ला रुकुम पूर्व समग्र विकासको दृष्टिले पछि परेको भन्दै सानी भेरीलाई जोड्ने सडक पुल निर्माणको काम बेवारिसे अवस्थामा रहेकाले तत्काल निर्माण कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन् ।


  •  
  •  
  •